क्यान्सरग्रस्त इरफानलाई अचानक टिसीले भन्यो, ‘तपाईंको स्टेसन आउँदैछ, कृपया उत्रनुहोस् ।’

- नेपाल संवाददाता

प्रतिष्ठित आइफा अवार्डको १९औँ संस्करणमा इरफान खानले उत्कृष्ट अभिनेताको अवार्ड पाए, हिन्दी मिडियमबाट । अवार्ड समारोहमा भने उपस्थित हुन सकेनन् । अवार्ड आयोजना गरिएको थियो, बैंककमा । इरफान छन्, लन्डनमा । न्युरोएन्डोक्राइन क्यान्सर नामक दुर्लभ रोगबाट पीडित इरफान लन्डनको एक अस्पतालमा उपचाररत छन् । सोही कारण बेडबाटै उनले ट्वीट गरे, “आइफा र हाम्रा दर्शकलाई धेरै धन्यवाद, जो मेरो यात्राको भाग बनेका छन् ।”

इरफानको जीवनयात्रामा भने क्यान्सरले अवरोध सिर्जना गरिरहेको छ । त्यो पनि कुनै लक्षण देखाएर होइन, एक्कासि । उनले केही दिनअघि अस्पतालबाटै आत्मीय मित्र र न्युजलन्ड्रीका स्तम्भकार अजय ब्रह्मात्मजलाई पत्र लेखेका छन्, “अहिलेसम्म म आफ्नो यात्रामा तीव्र गतिमा हिँडिरहेको थिएँ । मेरो साथमा योजना, आकांक्षा, सपना र उद्देश्य थिए । यसैमा लीन थिएँ । अचानक टिसीले मेरो पिठ्युँमा थप्थपाएर भन्यो, ‘तपाईंको स्टेसन आउँदैछ, कृपया उत्रनुहोस् ।”

पत्रमा इरफानले असाध्यै भावुक हुँदै मनोवैज्ञानिक र आध्यात्मिक रुपमा रोगसँग लड्दै गरेको उल्लेख गरेका छन् । “शुभचिन्तकको सामूहिक प्रार्थनाबाट उब्जेको हरेक डाँठ, पात र फूलले मलाई एउटा नयाँ संसार देखाउँछ,” बलिउड मात्र होइन, हलिउडमा समेत आफ्नो नाम रोशन गरेका यी अभिनेताले लेखेका छन् ।

थिएटर हुँदै फिल्ममा फड्को मारेका इरफान हिरोको परम्परागत हुलियामा अटाउँदैनन् । तर, उनको अभिनयको जादूले सबै मान्यतालाई तोड्यो र शिखर चुम्यो । उनमा क्यान्सर पत्ता लाग्नु र ब्ल्याकमेल रिलिज हुनु करिब एकै समय थियो । रोगले गर्दा प्रचार–प्रसारमा हिँड्न पाएनन् । सोही कारण शाहरुख खान, आमिर खान र सलमान खानले ब्ल्याक मेलको प्रमोसन गर्दै इरफानलाई साथ दिएका थिए ।

अर्को वर्ष उनले हिन्दी मिडियमबाहेक करिबकरिब सिंगलबाट वाहवाही कमाए । उस्तै लुक्समा पनि फरक भूमिकालाई जीवन्त बनाउन सक्ने असीम क्षमता छ उनीसँग । स्लमडग मिलिनियर, वारियर, नेमसेक, जुरासिक वल्र्डलगायतका हलिउड फिल्ममा जोडिन कसरी सम्भव थियो होला र ?

इरफान अभिनीत हिन्दी फिल्म करवान र अंग्रेजी फिल्म पजल प्रदर्शन हुन बाँकी छन् । रोग निको नभई अन्य फिल्म खेल्ने सम्भावना छैन । अस्पतालबाट ट्वीट गर्दै करवानको प्रमोसन गरिरहेका छन् । लाग्छ, क्यान्सरले उनमा ज्ञान, आत्मबोध र बुझाइका अनेक तह थपिदिएको छ । त्यसैले त भन्छन्, “सही अर्थमा मलाई पहिलो पटक ‘आजादी’ शब्दको अनुभूति भयो । एउटा उपलब्धिको अनुभूति ।”

प्रकाशित: असार १९, २०७५