नेकपालाई भ्रातृसंस्था मिलाउनै मुस्किल

- माधव बस्नेत

‘कमिटीका पदाधिकारी र सदस्य छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउने । उपर्युक्त बमोजिमको कार्य आपसी सहमतिमा १५ दिनभित्र सम्पन्न गर्ने र केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाउने ।’

७ जेठमा नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले जनवर्गीय संगठन मिलानका लागि पारित गरेको कार्यादेशको अंश हो यो । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १६ जेठमा हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशन–१ मा पनि यिनै वाक्य उल्लेख छन् । तर, १५ असारसम्म कुनै जनवर्गीय संगठनको एकीकरण घोषणा हुन सकेको छैन ।

जनवर्गीय संगठनहरूको एकताका लागि विभिन्न कार्यादेशसहित प्रत्येक समूहका आ–आफ्नै कार्यदल गठन गरिएका छन् । भलै, कतिपय जनवर्गीय संगठनमा कार्यदलको पहिलो बैठकसम्म बसेको छ । तर, संगठनात्मक एकताको प्रक्रिया र व्यक्ति चयनको खाका तयार पार्न सकेको छैन ।

यसको एउटा उदाहरण पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) नै हो । रवीन्द्र अधिकारी, हितमान शाक्य, नवीना लामा र रञ्जित तामाङ रहेको कार्यदलको पहिलो बैठक अन्तरपार्टी निर्देशन (अपानि) जारी भएको झन्डै एक महिनापछि १२ असारमा बबरमहलस्थित एक सरकारी कार्यालयमा डाकिएको थियो । त्यो बैठकमा पूर्वमाओवादीबाट कार्यदलमा रहेका हितमान शाक्य नै अनुपस्थित भएपछि एकताको मोडालिटी टुंगो लाग्न सकेन । पार्टी एकतापछि बनेको स्थायी कमिटीमा नपारिएकाले शाक्य असन्तुष्ट छन् ।

पार्टीले कार्यदलमा खटाइएका फ्रयाक्सन इन्चार्जहरू दोहोरो जिम्मेवारीमा भएकाले कार्यव्यस्तता बढ्दा बैठक बस्न विलम्ब भएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको भनाइ छ । “कार्यदलमा शाक्यको ठाउँमा अरू कोही प्रतिनिधि पठाइदिन पार्टीमा आग्रह गरेका छौँ,” तामाङ भन्छन्,“१४ असारमा दुवै संगठनका पदाधिकारीको बैठक बसेर विधान मस्यौदा उपसमिति, संगठन मिलान उपसमितिलगायत गठन गरेका छौँ । उपसमितिले प्रतिवेदन बुझाएपछि एकीकरण प्रक्रियामा जान्छौँ ।”

अनेरास्ववियुका पूर्वअध्यक्ष अधिकारी पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री छन् । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष शाक्य स्थानीय पार्टी कमिटीको एकताका लागि बनाइएको प्रदेश ३ मा कार्यदल सदस्यसमेत थिए । लामा संघीय संसद्की सदस्य हुन् ।

पार्टी नेताहरूले २२ वटा जनवर्गीय संगठन र त्यसभन्दा ठूलो संख्यामा रहेका अन्य शुभेच्छुक घटक संगठनबीच एकीकरण गर्ने भनिरहेका छन् । तर, कसरी गर्ने, कुन संगठन कसलाई छाड्ने मेसो निकाल्न सकेका छैनन् ।

स्रोतका अनुसार खासगरी विद्यार्थी र युवा संघमा शीर्ष नेताहरूको आँखा परेको छ । पूर्वएमाले र माओवादी केन्द्र दुवै विद्यार्थी र युवाको नेतृत्व आफ्नै पोल्टामा पार्न चाहन्छन् । प्रधानमन्त्री ओली पनि पूर्वएमाले धारकै पात्रलाई विद्यार्थी र युवा संगठनको अध्यक्ष बनाउन चाहन्छन् ।

एकीकृत अखिलको अध्यक्षमा अहिले अनेरास्ववियुबाट महासचिव ऐन महर र अखिल क्रान्तिकारीबाट अध्यक्ष रञ्जित तामाङ दाबेदार छन् । तामाङ आठ महिनाअघि सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित भएका थिए । उनी माओवादीको जनवर्गीय संगठनमा निर्वाचनका माध्यमबाट अध्यक्ष निर्वाचित हुने पहिलो व्यक्ति हुन् । स्रोतका अनुसार महर ओलीको भरोसामा अनेरास्ववियुको नेतृत्व पूर्वएमालेको पोल्टामा राख्ने र महाधिवेशनसम्मका लागि मात्र सही, एकपटक अध्यक्ष भएर बिदा हुन चाहन्छन् । अनेरास्ववियुबाट रश्मी आचार्य, महेश बर्तौला पनि दौडमा छन् ।

नवीना अध्यक्षबाट बिदा हुने तयारीमै रहेकाले वरिष्ठताका आधारमा आफू अध्यक्ष हुनुपर्ने तामाङको ठम्याइ छ । नवीनाले पनि तामाङलाई नै अध्यक्ष बनाउन चाहेको जानकार बताउँछन् । ओलीले अध्यक्ष चुन्ने अवस्था आए महर बन्न सक्ने र कार्यदलले नै टुंगो लगाए तामाङ अध्यक्ष बन्ने अनेरास्ववियुका एक सचिवालय सदस्य बताउँछन् ।

युवा संघ र वाईसीएलबीच एकीकरण गर्न बनेको कार्यदलको बैठकले विधान मस्यौदा उपसमिति बनाएको छ । युवा संघको संस्थापक अध्यक्षसमेत आफैँ भएकाले र आठौँ/नवौँ दुवै महाधिवेशनमा युवा संघले पूरै साथ दिएकाले प्रधानमन्त्री ओली युवाहरूको लगाम आफ्नै हातमा राख्न चाहन्छन् । अहिले एमाले निकट युवा संघको अध्यक्ष रमेश पौडेल र वाइसीएलको अध्यक्ष रामप्रसाद सापकोटा छन् । सापकोटा नेकपाको केन्द्रीय सदस्य पनि हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी नदिने निर्णय गरिसकेको छ । ओली स्वयंको चाहना र पार्टी सचिवालयको यो निर्णयले युवा फाँटमा पौडेललाई अध्यक्ष बन्न सहज बनाएको देखिन्छ । युवा संघ पनि पार्टी केन्द्रीय सदस्य रहेका सापकोटालाई इन्चार्ज वा अन्य कुनै जिम्मेवारी दिएर नेतृत्व कुनै हालतमा नछाड्ने अडान राख्ने तयारीमा छ । युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल भन्छन्, “ठूलो विवादबिनै अध्यक्ष चुनेर नयाँ सन्देश दिन लागिपरेका छौँ ।”

विद्यार्थी र युवापछि ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ, जनसांस्कृतिक महासंघ, आदिवासी जनजाति महासंघ तथा राष्ट्रिय मुक्ति मोर्चा/संगठनहरूको महासंघ, पेसागत/कर्मचारी महासंघ, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल आदिमा नेतृत्व कसले लिने टक्कर चर्को छ । पूर्वमाओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघको तुलनामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बढी व्यवस्थित भएकाले यसको नेतृत्व आफूहरूले नै गर्नुपर्ने पूर्वएमालेहरूको दाबी छ । पूर्वमाओवादी निकट महासंघका अध्यक्ष गणेश रेग्मी पूर्वएमाले ‘स्कुलिङ’ कै कार्यकर्ता हुन् ।

पुतलीसडकमा जिफन्टको आफ्नै भवन छ । यसबाहेक विश्वका धेरै देशका मजदुर संगठनसँग यसले सहकार्य गरिरहेको छ । जिफन्टका इन्चार्ज विष्णु रिमाल प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार छन् भने अध्यक्ष विनोद श्रेष्ठ पनि ओलीका भरोसा पात्र हुन् । त्यसैल ट्रेड युनियन महासंघको नेतृत्व पूर्वएमालेले नै लिन सम्भावना ज्यादा छ ।

अखिल नेपाल किसान महासंघको अध्यक्ष वामदेव गौतम र अखिल नेपाल किसान संघ (क्रान्तिकारी) को अध्यक्ष चित्रबहादुर श्रेष्ठ छन् । किसान महासंघको एकीकरण हुँदा गौतम आफू निकट केशवलाल श्रेष्ठलाई अध्यक्ष बनाउन चाहन्छन् । पूर्वमाओवादीले पनि किसान संघको नेतृत्वमा दाबी छाडेको छैन । स्रोतका अनुसार प्रचण्डको चाहनामा किसान संघको अध्यक्ष श्रेष्ठ बन्ने सम्भावना धेरै छ ।

पूर्वएमाले निकट महिला संघको अध्यक्षमा गोमा देवकोटा छिन् । उनी ०३७ मा तत्कालीन सत्ताबाट हत्या गरिएका सिन्धुलीका सहिद ऋषि देवकोटा ‘आजाद’ की पत्नी हुन् । पूर्वमाओवादी केन्द्रको महिला संघको अध्यक्ष अमृता थापामगर छिन् । संघकी पूर्वअध्यक्ष रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले देवकोटा र थापामगर दुवैलाई शीतलनिवास बोलाएर सहमतिमै नेतृत्व छान्न सुझाव दिइसकेकी छन् । राष्ट्रपतिको झुकाव देवकोटाप्रति नै छ ।

पूर्वएमाले निकट जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई पार्टी केन्द्रीय सदस्यसमेत हुन् । त्यसैले पूर्वमाओवादीबाट सिन्धुपाल्चोकका सरल सहयात्री जनसांस्कृतिक महासंघको अध्यक्ष बन्ने योजनामा छन् । आदिवासी जनजाति/राष्ट्रिय मुक्ति मोर्चामा पूर्वमाओवादीबाट सुरेश आलेमगर, नेपाल उत्पीडित जातीय मुक्ति समाज/दलित मुक्ति मोर्चामा पूर्वमाओवादीबाट तिलक परियार, बुद्धिजीवी परिषद्मा पूर्वएमालेका दिनेशचन्द्र देवकोटा, प्रेस चौतारी/सेन्टरमा गणेश बस्नेत र महेश्वर दाहाल आकांक्षी छन् ।

बुद्धिजीवी परिषद्मा पूर्वमाओवादीबाट नरेश भण्डारीसमेत आकांक्षी रहे पनि उनी प्रदेश ६ को आन्त्रिक मामिला मन्त्री भएकाले देवकोटाको पल्ला भारी छ । खेलकुद महासंघको नयाँ नेतृत्वमा पूर्वएमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वखेलकुद मन्त्री पुरुषोत्तम पौडल आकांक्षीमध्ये अगाडि छन् । एमालेको नवौँ महाधिवेशनमा दुई मतले मात्र पराजित र भर्खरै विस्तारित केन्द्रीय समितिमा नपारिएका पौडेललाई खेलकुद महासंघको नेतृत्व सुम्पिने सम्भावना छ ।

नेपाल भूमिहीन सुकुम्वासी संगठन/अखिल नेपाल सुकुम्वासी संगठनमा पूर्वएमालेका रामप्रित पासवान, प्रवासी नेपाली संघ, भारत/अखिल भारत नेपाली एकता मञ्चको एकीकरणबाट बन्ने नयाँ नेतृत्वमा पूर्वमाओवादी केन्द्रबाट लक्ष्मण पन्त वा टिवी पाठक अध्यक्ष बन्ने योजनामा छन् ।

‘कोही वर, कोही पर छैन’

विष्णु पौडेल, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

जनवर्गीय संगठनको एकीकरण कहाँ पुगेको ?

अहिले कार्यदलको तहमा पुगेको छ । पार्टीको प्रदेश र जिल्लासम्मको तथा सबै जनवर्गीय संगठनहरूको एकीकरण पूरा गर्न आ–आफ्ना ठाउँबाट गृहकार्य गरेर कार्यदल गठन गरेका छौँ । एकीकरणका आधार के–के बनाउने, एकीकरण कसरी पूरा गर्न सकिन्छ ? कार्यदलले काम गरिरहेको छ ।

पार्टी एकीकरणभन्दा जनवर्गीय संगठनको एकता सकस भयो भनिन्छ नि ?

जसले नेपाल कम्युनिस्ट पार्टीलाई बुझ्न बाँकी छ, तिनीहरूले गरेको टिप्पणी होला यो । एकता प्रक्रियामा कहीँ न कहीँ व्यवधान सिर्जना होस् भन्ने चाहनेले पनि यस्तो भ्रम फैलाइरहेका होलान् । यथार्थमा एकता अप्ठेरो विषय थियो भने केन्द्रीय तहमै हुने थिएन । अत्यन्त सफलतासाथ हामीले पार्टी केन्द्रमा एकता गरिसकेका छौँ । कुनै समस्या उत्पन्न भए त्यसलाई आपसी विश्वासमै टुंगोमा पुर्‍याउँछौँ । यसमा कसैले चिन्ता नगरे हुन्छ ।

विद्यार्थी युवा नेतृत्वका लागि पूर्वएमाले, माओवादी केन्द्रका शीर्ष नेताहरू नै दौडधूप गरिरहेका छन् ?

अब हामी कोही पनि पूर्व छैनौँ । सबै वर्तमान भयौँ । इतिहास अध्ययनका लागि पूर्वपृष्ठभूमि आवश्यक होला । तर, आजको पार्टी एकीकरण र जनवर्गीय संगठन परिचालनमा पूर्वसमूह सम्झिने मानसिकताबाट निर्देशित छैनौँ र हुँदैनौँ । इतिहास, योगदान, योग्यता र एकताको भावनालाई केन्द्रमा राखेर जनवर्गीय संगठनको एकीकरण गर्छौं । हाम्रा लागि कोही वर कोही पर छैन ।

प्रकाशित: असार १९, २०७५

ट्याग: राजनीति