आफ्नै हिरोइनलाई व्यंग्य

- नेपाल संवाददाता

आर्यन सिग्देलको करिअर करिब किनारामा छ । न फिल्म पाउँछन्, न त जसोतसो खेलेका फिल्म हिट हुन्छन् । तैपनि, हार मानिसकेका छैनन् । कायरा बनाए र आफैँ हिरो बने । हिरोइन छिन्, यो समयकी हटकेक साम्राज्ञीराज्यलक्ष्मी शाह । सोही कारण आर्यनलाई ‘सेफ साइड’का लागि साम्राज्ञी रोजेको आरोप लाग्यो । उनले यही आशयको प्रश्न सामना गर्नुपर्‍यो, १० असारमा राजधानीमा आयोजित कायराको ट्रेलर सार्वजनिक कार्यक्रममा ।

आर्यन पनि के कम ? आफ्नो विगत कोट्याउँदै जवाफ फर्काइहाले, “कुनै समय आर्यन सिग्देललाई लिएपछि फिल्म चल्छ भनिन्थ्यो तर धेरै फिल्म डुबे । त्यसैले फिल्म चल्न फिल्म नै राम्रो हुनुपर्छ । स्टारले मात्र फिल्म हिट हुँदैन ।” अर्थात्, घुमाउरो शैलीमा साम्राज्ञीमाथि व्यंग्य कसे । आर्यनले यसो भनिरहँदा छेवैमा बसेकी साम्राज्ञीको मुहारमा कुटिल मुस्कान छाएको थियो । 

प्रकाशित: असार १९, २०७५