विश्वकप २०१८ : क्रोएशियाविरुद्ध डेनमार्क (म्याच प्रिभ्यु)

- पवन आचार्य

समूहगत चरणको अन्तिम खेलमा आइसल्याण्डविरुद्ध ९ खेलाडीलाई विश्राम दिएको क्रोएशिया आज उनीहरु सबैलाई मैदान ओराल्ने पक्षमा छ । इभान राकिटिक, डिजान लोभ्रेन र मारियो मान्ड्जुकिक त्यस्ता नाम हुन् जसमा क्रोएशिया निर्भर छ ।

त्यस्तै डेनमार्क पनि विलियम केभिस्टको पुनरागमनले हौसिएको छ । टिमका सहायक प्रशिक्षक जोन डाल टमसनका अनुसार पेरुविरुद्धको समूहगत चरणको पहिलो खेलमा चोट बोकेका केभिष्ट आज मैदान उत्रदैं छन् । त्यस्तै विङ्गर युसुफ पउलसन पनि एक म्याचको प्रतिबन्धपछि टिममा फर्किएका छन् । उनी समूहगत चरणमा फ्रान्सविरुद्धको खेलमा अनुपस्थित थिए ।

फ्रान्समा १९९८ मा भएको विश्वकपको क्वार्टरफाइनलमा जर्मनीलाई ३–० ले हराएको क्रोएशिया त्यसयताका नकआउट चरणका खेल जित्न असमर्थ छ । त्यसैले इतिहास रच्न ऊ आज जितको खोजीमा हुनेछ । क्रोएशियाली मिडफिल्डर राकिटिक भन्छन्–‘इतिहासलाई पल्टाएरमात्र फुटबलमा जित हासिल हुँदैन । हामीले नयाँ अध्याय कोर्नपर्छ ।’

डेनिस मिडफिल्डर टमस डेलानी पनि फ्रान्सविरुद्ध गरेको प्रदर्शन दोहर्‍याउने योजनाका साथ मैदान उत्रिने बताउँछन् ।  समूहगत चरणका फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेलेका थिए । तर, नकआउट चरणमा बराबरी खेलको कुनै सम्भावना छैन ।

हेड टु हेड

–क्रोएशिया र डेनमार्कबीच यसअघि भएका ५ भिडन्तमा दुबै टिमले २–२ जित आत्मसात गरेका छन् । १ खेल बराबरीमा सकिएको थियो ।

–यी दुईबीच पछिल्लो भेट सन् २००४ को यूरोको वार्मअप म्याचमा भएको थियो । कोपनहेगनमा भएको खेलमा क्रोएशिया २–१ ले विजयी भएको थियो ।

–ठूला प्रतियोगितामा यी दुईबीच भएको महत्वपूर्ण भिडन्त भनेकै १९९६ को यूरोमा हो । समूहगत चरणमा त्यतिबेला क्रोएशिया ३–० ले विजयी भएको थियो । खेलमा डाभोर सुकरले २ गोल गरेका थिए ।

क्रोएशिया

–क्रोएशियाले युरोपेली टोलीविरुद्ध विश्वकपमा ६ मध्ये ५ खेल जितेको छ । सन् १९९८ मा फ्रान्ससँग भने क्रोएशिया पराजित भएको थियो ।

–क्रोएशियाले पहिलोपटक विश्वकपमा लगातार ३ खेलमा जित हात पारेर नयाँ कीर्तिमान बनाएको छ ।

–क्रोएशियाले गरेको ७ मध्ये ६ गोल दोस्रो हाफमा सम्भव भएको छ, रुस विश्वकपमा ।

–लुका मोर्डिच आज मैदान ओर्लिए उनले डारियो सर्नाको १८ खेलको कीर्तिमान बराबरी गर्नेछन् । सर्नाले विश्वकप र यूरो गरेर क्रोएशियाबाट १८ खेल खेलेका थिए । यसअघिका १७ खेलमा मोर्डिचले ४ गोल गरेका छन् ।

डेनमार्क

–डेनमार्कले १८ खेलयता पराजयको स्वाद चाखेको छैन । ९ खेल जित्दा डेनिस टोलीले बाँकी ९ खेल बराबरीमा सकेको थियो । सन् २०१६ मा मोन्टेनेग्रोसँग १–० ले पराजित भएयता डेनिस टोली अपराजित छ ।

–आज जित हात पारे डेनमार्कले नयाँ कीर्तिमान बनाउने छ । विश्वकपमा लगातार ४ खेलसम्म अपराजित रहने अवसर उसलाई छ ।

–खेलेका पछिल्ला ७ खेलमध्ये डेनमार्कले ६ वटा म्याचमा क्लिन सिट कायम राखेको छ ।

–५ वटा विश्वकप खेलेको डेनमार्क चौथोपटक नकआउट चरणमा भिड्न लागेको हो ।

–डेनमार्कले एकपटक मात्रै राउण्ड अफ १६ चरण पार गरेको छ । सन् १९९८ मा ब्राजिलसँग क्वर्टरफाइनलमा ३–२ ले पराजित हुनुअघि डेनमार्कले नाइजेरियलाई ४–१ ले हराएर राउण्ड अफ १६ पार गरेको थियो ।

–डेनमार्कका गोलरक्षक स्माइकलले विपक्षीले प्रहार गरेका १३ शटमध्ये १२ वटा बचाएका छन् । समूहगत चरणमा उनले एकमात्र गोल खाए, त्यो पनि पेनाल्टीमा ।

खेल पण्डितहरुले यी दुवै टोली विश्वपको प्रमुख दाबेदार नरहेको प्रतिक्रिया दिएका छन् । उनीहरुका अनुसार क्रोएशियाले विश्वकप जित्ने सम्भावना ६ प्रतिशत छ । त्यस्तै डेनमार्कले विश्वकप उठाउने सम्भावना उनीहरु ३ प्रतिशत मात्रै देख्छन् ।

क्रोएशिया डेनमार्कबीचको खेल निज्नी नोभोगारोड रंगशालमा मध्यराति पौने १२ बजे शुरु हुनेछ

प्रकाशित: असार १७, २०७५

ट्याग: विश्वकप