अल्लारे गुरुजीको टिपर आतंक

- माधव बस्नेत

भक्तपुर चाँगुनारायण नगरपालिका–३ का २६ वर्षीय राकेश खाइजु ९ असारमा बा८२प ८४७३ नम्बरको स्कुटरमा कमल विनायकबाट व्यासी आउँदै थिए । खाइजु सवार स्कुटरलाई बा१क ३५५९ नम्बरको टिपरले ठक्कर दियो । उनलाई उपचारका लागि नजिकैको इवामुरा अस्पताल पुर्‍याइयो । अस्पतालले तुरुन्तै मृत घोषणा गर्‍यो ।

भक्तपुरकै सानोठिमी क्याम्पसअगाडि चेतबहादुर थापालाई ८ असारमा टिपरले धक्का दियो । टिपरको ठक्करबाट थापा पनि बचेनन् । थापा सवार बा६६प ८५५३ नम्बरको स्कुटरलाई बा२क ३९३४ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट सुरुमा सडकमा मात्र लडेका थापालाई किचेर मारेको प्रत्यक्षदर्शीको भनाइ छ ।

भक्तपुरको सीमा नजिक काठमाडौँको जडीबुटीमा ३० जेठमा बनेपाकी २४ वर्षीया अस्मिता भण्डारी सवार बा७०प ९३९९ नम्बरको स्कुटरलाई बा४ख ३५५८ नम्बरको टिपरले ठक्कर दियो । उनलाई उपचारार्थ ग्वार्कोस्थित बी एन्ड बी अस्पताल लगियो । तर, भण्डारी पनि बाँच्न सकिनन् । ठक्करपछि सडकमा लडेकी भण्डारीलाई तीन मिटरसम्म घिसारेको कारुणिक दृश्य देखेका प्रत्यक्षदर्शीले टिपरलाई त्यहीँ जलाइदिए ।

इँटा, गिटी, बालुवालगायत सामग्री ढुवानी गर्ने टिपर पछिल्ला दिनमा मृत्युको वाहन बनिरहेका दृष्टान्त हुन् यी दुर्घटना । चालकले टिपरमा विभिन्न निर्माण सामग्री होइन, मृत्यु बोकिरहेको आभास हुन थालेको छ । काठमाडौँ उपत्यकाभित्र मात्र १ महिनामा टिपरले ७ जनाको ज्यान लिइसकेका छन् भने १३ जना गम्भीर घाइते भएका छन् । टिपरको यस्तो आतंक उपत्यकाभित्र मात्र सीमित छैन, देशैभर चलिरहेको छ । जस्तो : १० असारमा टिपरको ठक्करबाट झापामा एक व्यक्तिले ज्यान गुमाए । अर्का एक गम्भीर घाइते भए । मेची राजमार्ग अन्तर्गत बुद्धशान्ति गाउँपालिका–३ फेदीमा इलामबाट झापातर्फ आउँदै गरेको बा१प ६५८१ नम्बरको टिपरले सोही दिशातिर गुडिरहेको मे ७प ४१८२ नम्बरको मोटरसाइकललाई दिउँसो २ बजे ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक झापा बुद्धशान्ति गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण खतिवडाको घटनास्थलमै मृत्यु भयो । मोटरसाइकलपछाडि सवार सोही स्थानका २५ वर्षीय साहिर शेर्मा लिम्बू घाइते भए । उनको बिर्तामोडको बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको छ ।

काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँ आउँदै गरेको बा३ख ६६७४ नम्बरको टिपरले ९ जेठमा बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दियो । दोलखाको मेलुङ–६ घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अरबिन घिमिरे सडकमा पछारिए । दुर्घटनामा अरबिनको मात्र मृत्यु भयो । त्यसपछि मात्र हरि र सवितालाई टिपरले पुन: सडकमा घिसारेर मारेको पीडित परिवारको दुखेसो छ । सविता र अरबिन आमाछोरा हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रमुख एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) वसन्त पन्तका शब्दमा उपत्यकाभित्र दैनिक न्यूनतम चारवटा टिपर दुर्घटना हुने गरेका छन् । महाशाखाको विवरण अनुसार ०७४/०७५ को चालू आर्थिक वर्षमा उपत्यकाभित्र मात्रै १ हजार ४ सय १५ वटा ट्रक/टिपर दुर्घटना भएका छन् । अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही देखिएको छ । ट्रक/टिपरको लापरवाहीका कारण सर्वसाधारणको ज्यान गइरहेको छ भने कतिपय अवस्थामा घाइतेलाई उपचार खर्च बेहोर्नबाट समेत पन्छिने गरेका छन् ।

२७ जेठमा चितवनको भरतपुरमा एकआपसमा दुइटा टिपर जुध्दा धर्मराज नेपाल गम्भीर घाइते भए । उपचारार्थ काठमाडौँको ग्रिनल्यान्डस्थित ग्रान्डी अस्पताल ल्याइएकामा उनको मृत्यु भयो । तर, सरकारले सिन्डिकेट हटाउने निर्णय गरी बैंक खाता रोक्का गरेकाले उपचार खर्च बेहोर्न नसकिने भन्दै टिपर पक्षधर पन्छिए । त्यसपछि घाइतेको उपचारमा लागेको रकम चुक्ता नगरेको भन्दै अस्पतालले नेपालको शव परिवारलाई दिएन ।

चौतर्फी दबाबपछि उपचारमा लागेको १७ लाख रुपियाँ टिपर सञ्चालकले तिरे । यसपछि मात्र परिवारले नेपालको सदगद गर्न पाए । मृतकभन्दा घाइतेको उपचार गर्न बढी खर्च लाग्ने हुँदा टिपरले ठक्कर दिएपछि यात्रुलाई घिसारेर समेत मार्ने गरेका छन् । यद्यपि, यस्ता चालकलाई भने कर्तव्य ज्यान मुद्दा लगाउन सकिन्छ ।

ट्राफिक प्रहरी प्रमुख पन्तका भनाइमा अधिकांश चालकमा लेन अनुशासन, ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने सामान्य विवेक पनि छैन । दुर्घटनाको प्रमुख कारण अनुशासनहीनता देखिएको छ । “टिपरसँग जुध्ने वा दुर्घटनामा संलग्न सवारी साधनले पनि जथाभावी लेन परिवर्तन गर्दा पछाडिबाट आउने टिपरसँग दुर्घटना भएको देखिन्छ । ओभरटेक दायाँबाट गर्नुपर्नेमा बायाँबाट गर्दा पनि दुर्घटना र मृत्युको संख्या बढिरहेको छ,” एसएसपी पन्त भन्छन्, “तोकिएभन्दा तीव्र गतिमा चलाएकाले पनि टिपर बढी दुर्घटनामा पर्ने गरेका छन् ।”

पन्तका अनुसार टिपरको बनावटका कारण नजिकै च्यापिएर आएका साना सवारीसाधन देखिँदैनन् । धेरैजसो टिपरले त फ्रन्ट ग्लासको तल र माथि विभिन्न किसिमका स्टिकर प्रयोग गरेका हुन्छन् । “यसले गर्दा उनीहरूको क्लियरेन्स कम हुन जान्छ । यसबाट पनि बढी दुर्घटना भइरहेका छन्,” पन्त भन्छन् ।

टिपरको इन्जिन गह्रौँ हुने हुँदा सावधानीपूर्वक नचलाए सडकमा गुड्दा यसले हावाको चाप बढी फाल्छ । खासगरी स्कुटी/मोटरसाइकलजस्ता सवारीसाधनमा इन्जिनको क्षमता कम हुने र टिपरनजिकै चलाउँदा हावाको चाप बढी भएपछि थेग्न नसकेर बढी दुर्घटनामा पर्ने गरेका छन् ।

यसबाहेक अधिकांश टिपरचालक कलिला उमेरका छन् । विवरणले पनि कम उमेरका चालकको लापरवाहीकै कारण बढी दुर्घटना हुने गरेको देखाउँछ । (हेर्नूस्, इन्फो) । ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु चालकको लापरवाही नै दुर्घटनाको प्रमुख कारण भएको बताउँछन् । भन्छन्, “चालक जिम्मेवार नहुँदा बढी दुर्घटना भएका हुन् । उनीहरूलाई जिम्मेवार बनाउनु र कडा सजाय गर्नुको विकल्पै छैन ।”

प्रकाशित: असार १७, २०७५

ट्याग: समसामयिक