अभि, कभी–कभी !

- कुमार नगरकोटी

कभीकभी मेरे दिल मे,

अभिका खयाल आता हे ....

अभिसारिका, माई बिलभ्ड वुमन ! ध्यानमग्न भई सुन । एउटा बात कहन्छु । आज म ‘अभि’को चर्चा गर्छु : अभिव्यक्ति । अभिलाषा । अभिवादन । अभिलेख । अभिरुचि । अभिभावक । आदि–इत्यादि ।

यी सप्त–शब्दहरु मेरो मनमा अनायास व्युत्पत्ति भएका होइनन् । यिनलाई त मैले बरु अभि सुवेदीको पुन्टे झोला खोतलखातल गर्दा फेला पारेको हुँ । तिमीलाई आश्चर्य लाग्ला । तर, कुरा साँचो हो माई डार्लिङ  ! तिम्रो प्रिय प्रोफेसर सा’बको यस्तै अनेक उपसर्गी–शब्दहरुको संग्रह छ ।

उपसर्गी शब्द ?

एस बेबी, उपसर्गी शब्द ! मलाई लाग्छ सहरमा अभि मात्र एक यस्ता दुर्लभ मानुष हुन्, जो नाम होइन बरु उपसर्ग लिएर हिँड्छन्– लखरलखर । अस्तित्वले कोरियोग्राफ गरेका यात्राहरु । ती यात्रालाई तिमी अभियात्रा भन्न सक्छौ । अनि छ नि मुइँया ! बम्बुझैँ लम्बु उनको अग्लो न अग्लो ज्यानलाई तिमी अभिज्यान भन । र, विश्वविद्यालयमा यिनले बाँड्ने ज्ञानलाई अभिज्ञान ।

कहीँ–कतै, कोही–कसैले जब अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्छ, मलाई स्वतन्त्र अभिको याद आउँछ । प्रेयसीहरु जब मकन आफ्ना अभिरुचि जाहेर गर्छन्, मलाई अभिको याद आउँछ । कुनै गुरु तपस्वी या योगी–महर्षिसामु नतमस्तक भई जब म अभिवादन गर्छु, मलाई अभिकै याद आउँछ । जीवन र मृत्युले अस्तित्वको ब्ल्याकबोर्डमा लेखेका अभिलेखहरु जबजब पढ्छु, तबतब मलाई अभिको याद आउँछ । यो यादलाई म प्रेमपूर्वक अभि–याद भन्न रुचाउँछु ।

त्यसो त मजस्ता शिशु लेखकका यिनी अभिभावक पनि हुन् । यिनलाई सम्झँदा मात्र नै मनमा प्रेरणाको एउटा सङ्लो नदी बग्न थाल्छ । यस्तो पवित्र नदी, जहाँ ज्ञान, विवेक र चेतनको झरना मिसिएको छ ।

साँढेको अण्डकोष होस् या ज्ञानको शब्दकोश ! डेरिडाको विनिर्माण होस् या होस् नागार्जुन बाबाको विनिर्माण ! यिनका सातोरी–व्याख्यान सुन्दा म सदा अभिभूत भइजान्छु ।

एउटा कुरा नि मुँइया ! गर्मिला दिनहरुमा चल्ने ग्रिष्मिल बतासले जब अभिका लामपुच्छ्रे केशहरु उडाएको कल्पना गर्छु, तब त्यो बतासले मलाई पनि स्पर्श गरिदियोस् भनी अभिकामना गर्छु ।

लामपुच्छ्रे केश ?

एस डार्लिङ लामपुच्छ्रे केश ! यिनको केश मलाई प्रतिपदा रातमा आकाशगंगाबाट झर्ने लामपुच्छ्रे ताराजस्तो लाग्छ । त्यो केशलाई तिमी अभिकेश भन्न सक्छौ ।

अभिलाई म कभी–कभी सपनामा देख्छु । सपनामा यिनी विस्तीर्ण मरुभूमिको अनन्त सडकमा हार्ली डेभिडसन कुदाइरहेका हुन्छन् । कहिले भैँसी चढी अल्वेयर कामुको ‘आउटसाइडर’ या जापानी हाइकुको किताब पढी गोधूलि साँझमा कतै गइरहेकै हुन्छन् । कहिले हार्मोनिका बजाउँदै गुम्बाभित्र गइरहेका हुन्छन् । भीडमा होस् या एकान्तमा, यिनी कहीँ न कतै गइरहेका हुन्छन् । यिनको श्वैत लामपुच्छ्रे केशलाई म टाढैबाट चिनिहाल्छु । यिनका आरुका फूलजस्ता सपनाहरुलाई म अभिस्वप्न भन्न रुचाउँछु ।

अब अभिस्वप्नकै बात मार्छु, ल ! एउटा सपनामा यिनी भैँसी चढी मलाई भेट्न आउँदा भया र मकन भन्दा भया, “कुमार भाइ ! भैँसी चढ्ने मान्छेलाई नै राष्ट्रपति बनाउनु थियो भने मलाई या डीपी भण्डारीलाई राष्ट्रपति बनाउँदा अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्थ्यो होला नि  ! लु भन, हो कि होइन ?”

“हो नि त,” मैले भन्या थेँ, “राष्ट्रपतिजस्तो गरिमामय पदमा पोलिटिकल भैँसी–मानव हुनुभन्दा इन्टलेक्चुअल भैँसी–मानव हुनु बडो शोभनीय हुन्थ्यो ।”

खैर, चित्रकारिताको भाषामा भन्नुपर्दा यिनी एक सेमी अब्स्ट्रयाक्ट पेन्टिङ हुन्, जसको क्यानभासमा अस्तित्वले इन्द्रेणी रङ पोतिदिएको छ । ती रङ यिनका विभिन्न पर्सोनाजमा खुल्छन्, देखिन्छन् । निबन्धकारको रङ, कविको रङ, नाटककारको रङ, समालोचकको रङ, अनुवादकको रङ, स्तम्भकारको रङ र गुरुको रङ । यिनी नेपाली धरतीका सप्तरंगी इन्द्रेणी हुन् ।

सिद्धार्थ आर्ट ग्यालरीमा उहिल्यै यिनले प्रेमपूर्वक मकन भनेका थिए, “कुमार भाइ, तिम्रो साहित्य बुझिने र पढिने दिन जरुर आउँछ । लेख्दै गर्नू । कहिल्यै नसुस्ताउनू । लिट्रेरी जर्नीमा एक्लो भएँ भनी कहिल्यै नआत्तिनू । कसैले भनेको छ, द स्ट्रङ्गेस्ट म्यान इन द वर्ल्ड इज द वान हु स्ट्यान्डस् अलोन । एक्लै उभिनु तर कहिल्यै नडगमगाउनू । ओके ?”

ओके अभि सर ! तिम्रा अभिवाणीलाई मैले मनमा साँचेर राख्या छु । विश्वविद्यालयमा तिमीले मलाई पढाएनौ त के भयो ! तिमी मेरो मन–मन्दिरका गुरु हौ । तिमीले ज्ञान अभिदान गरेका शिष्यहरु सहरमा, देश–विदेशमा फैलिएका छन् । ती असल मनुष्य हुन् किनकि तिनले तिमीजस्तो गुरुको सत्संग गरे । यसमा तिमीले अभिगर्व गर्नू ।

तिमीलाई श्रद्धाका फूलहरु अर्पण गर्न चाहन्ना किनकि फूलहरु चाँडै ओइलाई जान्छन् । प्रिय अभि ! यही अभिलेख नै तिमीमा समर्पित गुरुदक्षिणा भो । अभिग्रहण गर्नू ।

प्रकाशित: असार १७, २०७५

ट्याग: पर्सोनाज