विवादास्पद सुपरस्टारको अब्बल बायोपिक [फिल्म समीक्षा : सञ्जु]

फिल्म : सञ्जु | रेटिङ : ४/५

- गोकर्ण गौतम

सञ्जय दत्त जति सफल अभिनेता हुन्, त्यत्तिकै विवादास्पद पनि । महिलाप्रेमी, लागूऔषध, अवैध हतियारदेखि सन् १९९३ को मुम्बई हमलामा संलग्नताजस्ता आरोपले उनको साख धुमिलिएको छ । फिल्ममार्फत करोडौँ फ्यान कमाएका यी हिरोले जेलमा वर्षौं कष्टकर जीवन बिताएका छन् । उनकै कारण परिवार तनावमा रह्यो । उनको जीवनकथा कुनै फिल्मको भन्दा कम नाटकीय र अपत्यारिलो छैन । त्यसो नहुँदो त ‘भेट्रान’ निर्देशक राजकुमारी हिरानीले किन बनाउँथे उनको बायोपिक ?

पिकेपछिका सिंगो चार वर्ष हिरानीले सञ्जुमा खर्चिए । ‘आउटपुट’ जति दमदार छ, त्यसको तुलनामा चार वर्ष थोरै लाग्छ । हिरानीझैँ फिल्ममा प्राण भरेका छन्, रणवीर कपुरले । सञ्जय दत्तका रूपमा उनले जादू देखाएका छन् । प्राय: बायोपिकमा पात्रलाई देवत्वकरण गरिन्छ तर हिरानीले सञ्जुलाई सिर्फ सञ्जयको प्रतिविम्ब मात्रै बनाएका छन् । यही गुणले फिल्मको वजन र विश्वास बढाएको छ ।

सञ्जय (रणवीर) ले पहिलो फिल्म रक्की खेल्न थालेसँगै सञ्जुको कथा सुरु हुन्छ । गलत संगतले ड्रग्स लिन थाल्छन् । त्यही बेला आमा नर्गिस (मनीषा कोइराला) लाई क्यान्सर हुन्छ । प्रेमिकाले अर्कैसँग विवाह गर्छिन् । ड्रग्स लिने बहाना थपिँदै जान्छ । अति भएपछि बाबु सुनील दत्त (परेश रावल) ले अमेरिकाको पुन:स्थापना केन्द्रमा पठाइदिन्छन् । कुलतबाट मुक्त भएर भारत फर्किएको केही समयमै अवैध हतियार र मुम्बईको आतंककारी आक्रमणमा संलग्न रहेको गम्भीर आरोप लाग्छ । लगातार १२ फिल्म फ्लप हुन्छन् । जेल, अदालत, पुलिस स्टेसन धाउँदाको हैरानी । र, कथा सञ्जयको वर्तमान अवस्थासम्म आइपुग्छ ।

हिरानी र अभिजात जोशीले मिलेर लेखेको सञ्जुका हरेक दृश्य जीवन्त लाग्छन् । ती दृश्यको सानदार बुनाइले दर्शकको ध्यान खिचिरहन्छ हरक्षण । कथावाचनमा लेखिका विन्नी (अनुष्का शर्मा) को प्रयोग सुन्दर छ । घरी उनी सञ्जयबाटै कथा सुन्छिन्, घरी उनका मित्र कमलेश (विक्की कौशल) बाट । जसबाट सञ्जयका जीवनका नयाँ पानाहरू उद्घाटित हुँदै जान्छन् । परिवारको एक सदस्य गलत बाटोमा लाग्दा बाबुआमा र साथीसंगतीले भोग्नुपर्ने असामान्य पीडाको फेहरिस्त हो यो । सुपरस्टार हुनुको नाताले पीडाको आयतन अझ फराकिलो हुने भइहाल्यो । फिल्मको केन्द्रमा छ, सञ्जयप्रतिको सुनीलको त्याग अनि सुनीलप्रतिको सञ्जयको सम्मान । यही भावनात्मक प्रेमले हरेकको मन छुन्छ ।

रुँदारुँदै हाँसिने अनि हाँस्दाहाँस्दै रोइने दृश्य सिर्जनामा माहिर छन् हिरानी । पिके, थ्री इडियट्स, मुन्नाभाइ एमबिबिएसमा यस्तै दृश्यको बाहुल्य थियो । सञ्जुमा हिरानीको यो गुण अझ निखारिएको छ । रक्कीको सुटिङ, मनीषाको ‘इन्ट्री’, रणवीर र विक्कीको भेट, पुन:स्थापना केन्द्रबाट भागेको र सोनम कपुरसँगको शौचालय विवाद कालजयी छन् । प्राय: चरित्रलाई एउटै दृश्यबाट स्थापित गरिएको छ । मध्यान्तरपछि कथा छिटो–छिटो अगाडि बढाइएको छ । अवैध हतियार र मुम्बई हमलाको सवालमा खास के भएको थियो, पर्दा खुल्दै जान्छ । तर, सञ्जयको रियल स्टारडमलाई बेवास्ता गरिएको भान हुन्छ । कथा छिटोछिटो अगाडि बढाउँदा कतै–कतै ‘रिलेट’ गर्न मुस्किल पर्छ । अनि, उनको प्रेमिका वा वेश्यासँगका सम्बन्धलाई पनि खास महत्त्व दिइएको छैन । खट्कने अर्को पक्ष हो यो । फिल्मको मुख्य भिलेनचाहिँ मिडियालाई बनाइएको छ ।

अवैध हतियार राखेकामा सञ्जय दोषी हुन् तर उनी आतंककारी होइनन् भन्ने स्थापित गर्नु निर्देशक हिरानीको मुख्य ध्येय देखिन्छ । त्यसमा उनी तार्किक रूपमै सफल भएका छन् । फिल्म हेरिसकेपछि सञ्जयभन्दा उनका पिता सुनीलप्रति अगाध श्रद्धा पैदा हुन्छ । सुनीललाई दागबत्ति दिइरहँदा सञ्जय आफैँले भन्छन्, ‘तपाईं मभन्दा धेरै असल छोराको बाबु बन्न लायक हुनुहुन्छ ।’ सञ्जुमा रणवीरले आत्मा भरेका छन् । उनले सञ्जयको अभिनय गरेका होइनन्, सञ्जयकै जीवन बाँचेका छन् ।

रणवीरको करिअरकै सबैभन्दा कठिन तर सशक्त चरित्र यही हो । अभिनेताका रूपमा यो फिल्मले उनलाई अमर बनाउनेमा सन्देह छैन । उनका साथी बनेका विक्की कौशललाई बिर्सनै सकिन्न । परेश रावल उत्तिकै प्रभावकारी लाग्छन् । थोरै भए पनि हलबाहिर निस्केपछि समेत मनीषाका हरेक दृश्य मानसपटलमा नाचिरहन्छ । सोनम कपुर, अनुष्का शर्मा र जीम सव्र सबै एक से एक लाग्छन् । पुराना गीतको सार्थक प्रयोग अर्को प्रशंसनीय पक्ष हो । खिचाइ, पृष्ठभूमि ध्वनि, लोकेसन, कलाकारको भेषभूषा हरेक पक्षको संयोजन ‘पर्फेक्ट’ नै छ । हिरानीले ‘म को हुँ’ भनेर प्रमाणित गरेका छन् ।

सञ्जय दत्तलाई बुझ्न चाहने अनि उनी र रनवीरका फ्यानले सञ्जु हेर्न छुटाउने सवालै भएन । व्यावहारिक दर्शन र मनोरन्जनका हिसाबले यस्ता खुराकिला फिल्म हत्तपत्त बन्दैनन् ।

प्रकाशित: असार १५, २०७५