नेप्सेलाई ११७५ को बलियो टेवा, आधारभूत पक्ष अझै कमजोर

- विजयराज खनाल

सेयर बजार परिसूचक ऐतिहासिक महत्त्वको बिन्दु नजिकमा आएको छ । नेप्से दोस्रो चक्रको क्रममा १५ भदौ ०६५ मा कायम गरेको सर्वाधिक उच्च बिन्दु ११७५ नजिक आइपुगेको हो । कारोबारको अन्तिम दिन बिहीबार नेप्से ११९८ बिन्दुमा ओर्लिएर बजार बन्द भएको छ ।

अघिल्लो उच्च बिन्दुले घट्दै गरेको बजारमा टेवाका रुपमा काम गर्ने प्राविधिक विश्लेषणको मान्यता छ  । यसअघि पनि नेप्सेले पटक–पटक यसै बिन्दु आसपास टेवा पाउँदै आएको छ । गत १९ चैतमा नेप्से यही बिन्दु आसपास टेवा पाएर १४३८ सम्म पुगेको थियो । त्यसपछि भने बजार पुन: ओरालो गतिमा लागेको हो ।

“हुन त, पछिल्लो समय शून्य बिन्दुलाई नेपाली लगानीकर्ताले मनोवैज्ञानिक तहको रूपमा हेर्दै आएका छन् । तर, पुरानो उच्च बिन्दुको भने विशेष महत्त्व रहन्छ,” सेयर विश्लेषक प्रकाश तिवारी भन्छन्  । शून्य बिन्दु मनोवैज्ञानिक तह मान्न थालिएको नेपाली बजारमा नेप्से परिसूचकले १२ सय बिन्दु आसपासबाटै उकालो लाग्ने सम्भावना देखाएको छ ।

बजारमा आधारभूत पक्ष भने बलियो बन्न सकेको छैन । विशेषत: आर्थिक वर्ष समाप्तिसँगै बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई सेयर धितो कर्जाको किस्ता तथा ब्याज तिर्न ताकेता गरिरहेका छन् । मार्जिन कल भनिने यस्तो ताकेताले लगानीकर्तालाई घट्दो बजारमा थप दबाब दिएको छ । यद्यपि लगानीकर्ताहरु ‘पर्ख र हेर’ कै अवस्थामा छन् । यस साता बजारमा ७.२५ प्रतिशतले कारोबार रकम घटेको छ । १ सय ८६ कम्पनीको सेयर किनबेच भएको बजारमा साताभर १अर्ब चार करोड रुपियाँको सेयर कारोबार भएको छ ।

बैंक तथा वित्तीय संस्थाको बाहुल्य रहेको बजारमा चुक्ता पुँजी वृद्धिपछि पनि बैंकहरुको नाफाको वृद्धिदर उच्च छैन । चालू आर्थिक वर्षको अन्त्यमा पनि बैंकहरुको प्रतिफल गत वर्षसरह नै देखिने विश्लेषकको अनुमान छ । बैंक तथा वित्तीय संस्थामा कर्जायोग्य पुँजी अभावको समस्या अझै हटेको छैन । बजारभन्दा बाहिर नै ब्याजलगायतबाट लगानीकर्ताले ११/१२ प्रतिशतको हाराहारी प्रतिफल पाइरहेका छन् । यसले पनि बजारमा दबाब बढेको छ । तर, बजार अहिलेको बिन्दुबाट केही समय बढ्न सक्ने सम्भावना भने देखिएका छन् ।

अधिक बिक्री सीमामाथि आरएसआई सूचक

सेयर बजार परिसूचकको आरएसआई सूचकले बजार अधिक बिक्री क्षेत्रबाट माथि आउन लागेको संकेत गरिरहेको छ । मंगलबार १६.४ बिन्दुमा रहेको नेप्सेको आरएसआई सूचक बढेर बिहीबार ३० मा आएको छ । बजारमा सेयर किनबेचको चाप सन्तुलित भएको यसले देखाउँछ । यो सूचक ३० मुनि रहे अधिक बिक्री अर्थात् ओभरसोल्ड जोन र ७० माथि भए अधिक खरिद अर्थात् ओभर बट जोनमा रहेको संकेत गर्छ ।

एक महिनामा १४ सयको लक्ष्य

एक महिनाको उच्च, न्यून र अन्तिम बिन्दुका आधारमा गरिने पीभट विश्लेषणले नेप्सेले ११५४ मा पहिलो टेवा पाउने संकेत गर्छ । यो टेवा सफल नभए ११ सय ११ र ९ सय ३९ मा क्रमश: टेवा पाउने देखिएको छ । त्यस्तै, बजार पहिलो टेवा पाएर बढ्न थाले १४ सय ९ मा पुग्नेछ ।

नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा भने अझै एकआपसबाट टाढा छ । यी रेखा नजिक आएर २१ दिनेलाई ७ दिने रेखाले पार गरे बजार केही समय बढ्ने विश्लेषण गरिन्छ ।

मेगाको कारोबार उच्च 

मेगा बैंकले प्रस्ताव गरेको १०.७५ प्रतिशत बोनस सेयर हात पार्ने अन्तिम दिन बिहीबार परेकाले (बुक क्लोज) सातागत कारोबारमा बैंक अग्रस्थानमा रह्यो । बैंकको एक सातामा सबैभन्दा धेरै २ लाख ३६ हजार कित्ता सेयर किनबेच भएर ४ करोड १५ लाखको सेयर कारोबार भयो । सातामा नेपाल इन्भेस्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्डलगायतका बैंक पनि कारोबार रकमका आधारमा अग्रिम स्थानमा रहे ।

यस साता बजारमा ४० लाख ६७ हजार नयाँ सेयर थपिएको छ । नेपाल ल्युब आयलको बोनस सेयर र निर्धन उत्थान लघुवित्त विकास बैंकको हकप्रद सेयर बजारमा सूचीकरण भएको हो । सातामा बिमा, लघुवित्त, जलविद्युत्, होटललगायतका समूहको परिसूचक उच्च अंकले घटेको छ  ।

 

प्रकाशित: असार १५, २०७५