भिआरमार्फत एन फ्रयांकको घर भ्रमण

- विभु लुईटेल

अक्युलसले फोर्स फिल्ड भीआरसँगको सहकार्यमा एन फ्रयांकको नेदरल्यान्ड्सको एम्स्टर्डमस्थित घर भ्रमण गर्ने प्रविधि ल्याएको छ । दोस्रो विश्वयुद्धमा जर्मन सेनाले मच्चाएको आतंकबाट बच्न एन फ्रयांकले सो घरमै लुकेर डायरी लेखेकी थिइन् । ८९औँ जन्मोत्सव जुन १२ मा उनकै घरमा सो प्रविधि लोकार्पण गरियो ।

२५ मिनेट लामो भर्चुअल भ्रमणमा एप्लिकेसन प्रयोगकर्ताले एन फ्रयांकको घरको हरेक कुना–काप्चाको समेत अवलोकन गर्न पाउनेछन् । युद्धताका यो घर जुन अवस्थामा थियो, अहिले पनि यथावत् छ । यो एप्लिकेसन अक्युलस स्टोरबाट सात भाषामा डाउनलोड गर्न सकिन्छ । अन्य ऐतिहासिक संरचनाका लागि पनि यस्तै एप्लिकेसन बनाउन सके युगौँसम्म यिनको अस्तित्व सुरक्षित राख्न सघाउ पुग्ने इतिहासविद् बताउँछन् ।

प्रकाशित: असार १४, २०७५