[स्मरण] फलामसिंहदेखि फाल्गुनन्द

- वैरागी काइँला

मद–मांसमा उहिलेदेखि नै कहलिएको जाति हो, लिम्बू । यो परम्पराले लिम्बू समाजलाई झन्झन् गरिबीतिर धकेल्यो । समाजमा चेतना पटक्कै थिएन । शिक्षा भए पो चेतना हुन्छ ।

विसं १९९५ तिर पहिलो विश्वयुद्धमा हवल्दारसम्म पुगेर सेवा निवृत्त भएका त्यतिबेलाको इलाम चुक्चीनुम्बा (हाल माङसेबुङ) का फलामसिंह लिङदेन हाम्रो गाउँ पाँचथरको पौवाभन्ज्याङमा आए । वरिपरिका गाउँले बटुलेर हाम्रै घरमाथिको डिलमा भित्ता बाँसको चित्राले बेरेको– गुन्द्री, सेउलाले छापेको छाना भएको एउटा स–सानो कटेरो बनाइदिए । भुइँमा राडीपाखी ओछ्याइयो । हाम्रा बाबु–ठूलोबाबुले पनि यसमा ठूलो सघाए । उनको कुटी तयार भयो ।

त्यहाँ कुटी गाडेर बसेपछि सबैले छोराछोरीलाई अनिवार्य रूपमा पढाउनुपर्ने नियम बसाले उनले । उनले भने, “अशिक्षा र कुसंस्कारले नै समाजलाई अधोगतिन्मुख गराउने र गरिबी बढाउने हो, यसलाई तुरुन्त बन्द गर्नुपर्छ ।” उनले काटमार गर्नु हुँदैन बरु मासु–रक्सी खानै बन्द गर्नुपर्छ, सोधृत (लिम्बू संस्कारमा एक किसिमको दाइजोजस्तै) दिनु हुँदैन, विहे–बटुलोमा ऋण काढेर फजुल खर्च गर्नु हुँदैन भनेर त्यसबेलाको समाजलाई एउटा नयाँ सन्देश दिए । उनले अर्ति दिए– यसले ऋणमाथि ऋण थपिँदै जाँदा एक दिन सारा जग्गाजमिन साहूको हुन्छ । तिमी घरबारविहीन कंगाल हुनेछौ ।

ती मानिसलाई मैले पहिलो पटक ००४ तिर देखेँ । यद्यपि म उनको शिक्षाबाट दीक्षित हुन सकिनँ । यस सन्दर्भमा म आज पनि परम्परावादी लिम्बू हुँ । उमेर र स्वास्थ्यले साथ नदिएर मात्र हो, नत्र म मापसे पनि गर्थें र मासु पनि मज्जाले खान्थेँ । महिनामा एकचोटि एक चोक्टा खानु भनेको नखानु बराबरै हो । तर, तिनले त्यसबेलाको समाजमा एउटा महान् सन्तको भूमिका निर्वाह गरे ।

पहिलो विश्वयुद्धमा फलामसिंह लिङदेन बर्मामा रहेछन् । उनी युद्धका क्रममा युरोपसम्म पुगेका रहेछन् । तर, युद्ध सकिएपछि बेखर्चीजस्तो भएछन् । बर्मास्थित सेरावती नदीको किनारमा हिँडिरहेका बेला मधुनन्द नामका जोसमनि सम्प्रदायका एक प्रसिद्ध गुरुसँग उनको भेट भएछ । उनले मधुनन्दसँग दीक्षा लिए । र, अध्यात्म र प्रेमभाव बोकेर मणिपुर, आसामको बाटो पैदलै हिँडेर नेपाल फर्किए ।

युरोपमा युद्ध गर्दाका प्रसंगमा होस् या बर्माबाट विभिन्न भूगोल र बस्ती छिचोल्दै आउँदाको सन्दर्भमा होस्– धेरै अनुभव र अनुभूति बटुल्दै आए । उनले युद्धको भयानक विभीषिका प्रत्यक्ष देखेका थिए । युद्धको दुष्परिणामले समाजमा ल्याउने दु:ख र सन्त्रासलाई पनि उनले नजिकबाट अनुभव गरेका थिए । युद्ध सकिएपछि उनी स्वयं मानसिक रूपमा विचलितजस्ता भएका थिए । अनि, ती गुरुलाई भेटेपछि उनको आस्था अध्यात्मप्रति रुपान्तरित भयो । उनलाई हत्या–हिंसाविरुद्ध केही गर्ने कुरा फुर्‍यो होला ।

कसैकसैले उनलाई आर्य सम्प्रदायको शिक्षाबाट पनि प्रभावित थिए भनेका छन् । यसको स्रोत मलाई थाहा छैन । जोसमनी धर्म–सम्प्रदायबाट दीक्षित थिए भन्नेसम्म मात्र थाहा छ । जेहोस्, हाम्रो समाजमा युगौँयुगदेखि जरा गाढेर बसेको कुरीति, कुसंस्कार र अन्धविश्वासलाई जरैदेखि उखेलेर फाल्नुपर्छ भन्नेमा उनले मानिसलाई सम्झाए । ‘फेदङ्मा’ भन्ने हाम्रो धर्मपद्धति अनुसार देउतैपिच्छे सुँगुर, कुखुरा, अन्डा–आदि पशुबलि दिएर पूजा गर्ने परम्परालाई परित्याग गर्न लगाई आर्यपद्धति अनुरूपको होम–यज्ञादि गर्ने आफ्नो अनुष्ठानभित्र समावेश गरे । फेदङ्मालाई पूरै हटाए । उनले हिन्दु धर्म अन्तर्गतको जातजाति विभेदविरुद्ध पनि अभियान चलाए ।

पछि यिनले आफ्नो छुट्टै पन्थ बनाएका थिए– ‘सत्यहाङ’ अर्थात् सत्यको अनुकरण गर्ने । यो भनेको सत्मार्गमा हिँड्नुपर्छ भन्ने हो । उनले निर्माण गरेको ‘सत्यहाङ’ सिद्धान्तमा लिम्बू मात्र होइन, बाहुन, राई, शेर्पा र अरू सम्प्रदायका मानिस पनि निष्ठाका साथ मिसिँदै गए । एउटा गाउँबाट सुरु गरेको उनको अभियान बिस्तार हुँदै गयो । अनि, यिनले दीक्षा पनि लिम्बू भाषामै दिन थाले । पूजा–प्रणालीसमेत लिम्बू लिपिमा तयार गरे । ब्राह्मण पण्डितले किताब हेरेर जसरी पूजा गर्छन्, त्यसरी नै पूजा गर्न यिनले पुस्तक नै तयार पारे– तर लिम्बूको फेदङ्मा पद्धतिभन्दा भिन्न मौलिक पद्धति अर्थात् सत्यहाङमा ।

यसरी उनले समाजमा एउटा ठूलो सांस्कृतिक–शैक्षिक क्रान्ति नै ल्याए । यसले आफ्नो लिपि र भाषाप्रति मोह जगायो । भक्ति जगायो । यिनले लिम्बूको जमिराखेको संस्कारविरुद्ध आन्दोलन छेडे । फलामसिंहले विसं १९७७–७८ तिर सुरु गरेको यो अभियानले १० वर्षमै समाजमा ठूलो प्रभाव छाडिसकेको थियो । हजारौँ लिम्बूहरू मद–मांस छाडेर यिनका पछि लागे । केही समयमै यिनी महागुरु फाल्गुनन्दका नामले त्यस भेगमा मात्र होइन, नेपालभरि नै प्रसिद्ध हुन पुगे । महागुरु फाल्गुनन्द भइसकेपछि मैले उनका हातबाट कुराउनी खाने अवसर पाएको छु । उनले प्रसाद भनेर हातमा राखिदिएका थिए ।

प्र स्तुति : रमण घिमिरे

प्रकाशित: असार १३, २०७५

ट्याग: सस्मरण