"युवा, अब त तिमीले जाग्नैपर्छ"

विज्ञानविधामा अध्ययन गर्ने युवालाई मेरो अनुरोध छ– प्राध्यापन र अध्यापनमा मात्र आफ्नो ज्ञानलाई सीमित नराख्नुस्, पेटेन्ट बनाउनुस्, उत्पादन उद्योगउन्मुख गर्नुस् र आफ्नो आवश्यकता आफ्नै उद्योगबाट पूर्ति गर्न र अझ पैठारी गर्ने तहसम्म पुर्‍याउन मिहिनेत गर्नुस्।

- सुरेशराज शर्मा

नेपालका सर्वाधिक पर्यटकीय आकर्षणका थलो पोखरा, मनाङ, मुस्ताङ आदि प्रदेश ४ मै परेका छन् । यी र सगरमाथा क्षेत्रले स्वीस भूगर्वविद् टोनी हेगन गज्जब लोभिए । हेगनलाई ती क्षेत्रले कति लोभ्याए भने १४ हजार किलोमिटर त नेपालकै डाँडाकाँडामा पैदल यात्रा गरे । यहाँको भौगोलिक बनोट देखेपछि कति धेरै सम्भावना छन् भनेर उनले वैज्ञानिक अनुसन्धान र आर्थिक विकासका लागि हाम्रा आँखा खोलिदिएका छन्, लेखेर र भनेर छाडिगएका छन् ।

संसारको सबैभन्दा गहिरो खोँच पनि प्रदेश ४ को म्याग्दी भेगतिर पर्छ । ढोरपाटनस्थित ठूलो सिकार आरक्ष क्षेत्र अर्थात् थुप्रै जंगली जातका जनावरको वासस्थान भएको ठाउँ पनि त्यतै पर्छ । अहिले पेट्रोलियम पदार्थ (फोसिल फ्युल) बाट पृथ्वीको तापक्रम नै भयावह रूपले बढ्दै गएको प्रसंगमा हेर्दा वायु, सौर्य र जलजस्ता हरित ऊर्जाको सम्भाव्यता बोकेका क्षेत्र पनि त्यतै पर्छन् ।

 गण्डक क्षेत्र त जलस्रोत र संस्कृतिको पनि उद्गमस्थल नै हो । कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी, त्रिशूली नदी त्यतै पर्छन् । अन्नपूर्ण पर्वत क्षेत्र, ढोरपाटन क्षेत्र र बाग्लुङ, म्याग्दी, पर्वत क्षेत्र खनिज पदार्थको भण्डारकै थलो हो भन्ने सम्भाव्यता अध्ययनले छर्लंगै पारिसकेको छ । भूगोलविद् हर्क गुरुङले पनि त्यही क्षेत्रलाई भौगोलिक अध्ययनका लागि कर्मथलो बनाए ।

हुन त, वैज्ञानिक अनुसन्धानका लागि भौगोलिक सीमाले छेक्दैन भन्छन् । तैपनि, नेपालीले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने कर्मथलो आफ्नै मुलुकलाई बनाउनु पर्छ जस्तो लाग्छ । संसारका १४ सर्वोच्च शिखरमध्ये ८ वटा ठडिएको नेपालको पर्वतीय भेग भूगर्भशास्त्री र अनुसन्धाताका लागि उर्बरास्थल हो नै । उच्च पहाडी भेगका अनेकौँ वन–पैदावार, औषधिविज्ञानका अनुसन्धाता र जीवप्रविधिसम्बन्धी वैज्ञानिकका लागि यसभन्दा आकर्षक स्थल कुन होला ?

जैविक विविधताका यस्ता स्थल नेपालमा थुप्रै छन् । जापानी वैज्ञानिकले यसलाई नठम्याएका पनि होइनन्, अनुसन्धान र खोज नगरेका पनि होइनन् । नेपालले पनि नठम्याएको होइन । काम धेरै गर्न नसकेको भने पक्कै हो । रसायनशास्त्रको विद्यार्थी भएर धेरै वर्ष बिताएकाले यस विधामा धेरै काम गर्न नपाएको/नसकेकामा मलाई थकथक लाग्ने नै भयो ।

नेपालका विज्ञानी नवयुवालाई मैले भन्ने गरेको छु– ‘अब त तिमीहरूले जाग्नैपर्छ । नेपालमै गरेका अनुसन्धानबाट अन्तर्राष्ट्रिय प्रतिष्ठा र पुरस्कार आर्जन गर्नैपर्छ ।’ यस्ता कुरामा हामीलाई विदेशीले पनि पाख्रीबास कृषि फार्म, लुम्ले कृषि फार्म बनाइदिएर आँखा उघारिदिन खोजेकै हुन् । बरु हामीले नै यस्तो सौजन्यबाट लाभ लिन नसकेका हौँ । एक समय हामीले भन्ने पनि गर्‍यौँ– हरियो वन नेपालको धन । तर, त्यसलाई आर्थिक उत्पादनमा रुपान्तरण गर्न चुकेका छौँ ।

अर्को कुरा, हामीले मानवनिर्मित ताल किन बनाएनौँ ? स्वीट्जरल्यान्डमा स्वच्छ पानीका आधाभन्दा बढी कृत्रिम ताल नै छन् । नेपालका उच्च पहाडी भेगका खाँेच र पाटनमा कृत्रिम ताल पनि बन्न सक्छन् । साथै, यस्ता टार र फाँटलाई चौँरीका खर्क र भेडा–च्यांग्रा चरन क्षेत्र ठाउँ–ठाउँमा बनाइहाल्न अब बिल्कुलै ढिला नगरौँ । आफ्नै देशका वन पैदावार, खनिज र बलिया ढुंगालाई दुर्लभ निर्माण वस्तुमा प्रयोग गरौँ । ढुंगालाई फोरेर क्रसर उद्योग बनाउने, नदीको बालुवा निर्वाध रूपमा रोकटोक नगरी निकाल्न दिने र काँचो काठलाई सिजनिङ गरेर प्रयोगयोग्य बलियो काठमा बदल्ने उपलब्ध प्रविधिको न्यूनतम प्रयोग गर्ने शैलीलाई प्रोत्साहन गरेर मात्रै नबसौँ ।

हामीले मृत्तिका शिल्प उद्योगबारे केही सोच्ने गरेकै छैनौँ । कप–प्लेट, डिनर सेट, बाथरुमको कमोड, सिंकजस्ता सेरामिक उत्पादनबाट देशको ठूलो मागलाई आपूर्ति गर्न हामीले खोज्दै खोजेनौँ  । अझ ग्लासका वस्तु त कति प्रयोग गर्छौं कति ! ग्लास उत्पादन उद्योग हामी आफैँ स्थापना गर्न सक्छौँ भनेरसम्म सोचेनौँ ।

विशेषगरी विज्ञानविधामा अध्ययन गर्ने युवालाई मेरो अनुरोध छ– प्राध्यापन र अध्यापनमा मात्र आफ्नो ज्ञानलाई सीमित नराख्नुस्, पेटेन्ट बनाउनुस्, उत्पादन उद्योगउन्मुख गर्नुस् र आफ्नो आवश्यकता आफ्नै उद्योगबाट पूर्ति गर्न र अझ पैठारी गर्ने तहसम्म पुर्‍याउन मिहिनेत गर्नुस्। अनुसन्धान पनि यस्तै कार्यका लागि गर्नुस्  ।

आज प्रविधिको विकास द्रुत गतिमा भइरहेको छ । प्रविधिको स्थानान्तरण (ट्रान्सफर अफ टेक्नोलोजी) मा सकेसम्म चाँडो हात हाल्न कस्सिनुस् र उद्योग जगत्लाई पनि राम्रैसित घच्घच्याउनुस् । आजको युग जीवप्रविधिको युग हो । हामीकहाँ पनि यस विषयका स्नातक थुप्रै तयार भइरहेका छन् । यहाँ काम पाइएन भनेर विदेश पलायन हुने क्रम कम गर्न आफैँ अगाडि सर्नुस् । भविष्य खोज्न अन्त जानुपर्दैन, तपाईंहरूकै आँगनमा छ ।

(शर्मा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।)

प्रकाशित: असार १२, २०७५

ट्याग: टिप्पणी