चार महिनादेखि दुनै ठप्प

- जनक नेपाल

डोल्पाको ठूलीभेरी नगरको केन्द्र सार्ने विषयमा मेयर गणेशबहादुर शाही र उपमेयर योगेन्द्रबहादुर शाहीबीच विवादले नगरको विकास निर्माण चार महिनादेखि ठप्प छ । ३१ र ३२ असार ०७४ को नगरसभाले नीति तथा कार्यक्रम र बजेट मात्र पारित गरेकामा मेयर शाहीले किर्ते माइन्युट गरी सदरमुकाम दुनैमा रहेको केन्द्र जुफालमा सारेको उपमेयर पक्षको आरोप छ ।

३० पुसमा निर्णयको प्रतिलिपि संघीय मामिला मन्त्रालयमा पठाइएकामा एक महिनापछि २४ माघमा सचिव दिनेश थपलियाले तोक लगाएका छन् । दुई दिनमै मन्त्रिपरिषद्मा पेस भई केन्द्र सार्ने निर्णय भएको थियो । १४ फागुनमा केन्द्र सरेको सूचना राजपत्रमा प्रकाशित भएपछि मात्र थाहा पाएको उपमेयर शाही बताउँछन् । “अन्यत्रका केन्द्र सार्दा मन्त्रालयले सम्बन्धित तहलाई सोधेको छ । तर, ठूलीभेरीको हकमा फास्ट ट्रयाकमा शेरबहादुर देउवा सरकारले निर्णय गरेको छ,” उनी भन्छन्, “आधाभन्दा धेरै वडाध्यक्ष विपक्षमा हुँदाहुँदै नगरसभामा प्रस्ताव नै नभएको विषय सर्वसम्मत पारित भएको किर्ते माइन्युट तयार गरियो ।”

वडा १, २, ३, ४, १० र ११ ले दुनै केन्द्र हुनुपर्ने माग गरेका छन् भने वडा ५, ६, ७, ८ र ९ ले जुफाल केन्द्रको माग गरेका छन् । मेयरविरुद्ध उपमेयरले २२ फागुनमा विशेष नगरसभा बोलाए । उपमेयरको अध्यक्षतामा बसेको सभामा २७ सदस्य सहभागी थिए । २३ फागुन र २ चैतमा असन्तुष्ट पक्षको कार्यपालिका बैठक बस्यो । उनीहरूले दुनै केन्द्र हटाउने ‘किर्ते निर्णय’ विरुद्ध तालाबन्दी र आन्दोलन गर्दै आएका छन् ।

–यो पनि पढ्नुहोस : स्थानीय सरकारमा कलहै कलह

११ वडामध्ये ७ उपमेयर र ४ वडाध्यक्ष मेयरको पक्षमा खुलेका छन् । त्यस्तै, नगर कार्यपालिकामा उपमेयरको पक्षमा १३ र मेयरको पक्षमा ८ जना छन् भने ५२ सदस्यीय नगरसभामा २६–२६ जना छन् । उपमेयर पक्षले केन्द्र सार्ने निर्णय बदर गर्न ५ चैतमा सर्वोच्च अदालतमा रिट दर्ता गराए । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ६ चैतमा दुवै पक्षलाई राखी छलफल गराउन २० चैतको पेसी तोक्यो । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले नगरसभाको सक्कल निर्णयपुस्तिका सोही नगरपालिकाबाट र केन्द्र परिवर्तनको मन्त्रिपरिषद् निर्णय सक्कल प्रति महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाई आएपछि नियमानुसार पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेशपछि यो विवाद त्यसै अड्किएको छ । कर्णाली प्रदेश सरकारले समेत केन्द्रबारे अध्ययन गरी भौतिक पूर्वाधार तथा जिल्लाको सदरमुकाम समेत भएको, सबै वडाहरुलाई पायक पर्ने स्थान दुनैमा केन्द्र राख्दा उपयुक्त हुने राय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पेस गरेको छ । 

मेयर–उपमेयर विवादले झन्डै एक वर्षदेखि औपचारिक रूपमा नगरसभा बस्न सकेको छैन । अधिकांश वडामा उपभोक्ता समूह गठन हुन सकेका छैनन् । मेयर शाही दुई तिहाइ बहुमत ल्याएर केन्द्र परिवर्तन गर्न असन्तुष्टलाई चुनौती दिन्छन् । भन्छन्, “विवाद अब मेयर र उपमेयरमा सीमित रहेन । त्यसैले मिलन बिन्दु खोजौँ भन्ने मेरो प्रस्ताव छ ।” जुफाल र दुनैबीच १३ किलोमिटर मात्र दुरी रहेकाले द्वन्द्व नचर्काउन उनको आग्रह छ । 

प्रकाशित: असार १२, २०७५

ट्याग: समसामयिक