म्याराडोनाको हातमा नेपाली झन्डा

- गोकर्ण गौतम

अर्जेन्टिनामा पहिलोपटक पाइला राख्दा सुरेश केसी २४ वर्षका थिए । त्यो सन् १९९९ को कुरा हो । अहिले  त्यहाँ स्थायी रूपमा बस्ने नेपालीको संख्या ५० पनि पुगेको छैन । त्यतिबेला कति थिए होलान् ? त्यसमाथि अर्जेन्टिना आर्थिक रूपमा सम्पन्न र अवसरको खानी पनि होइन । तर, केसीले अर्जेन्टिना नै किन रोजे त ? अनलाइन कुराकानीमा सुनाए, “हुर्कंदै गर्दा मलाई म्याराडोना भेट्न र यहाँको फुटबल माहोल हेर्ने हुटहुटी थियो । त्यसैले जोखिम लिएरै आएँ । मिलेसम्म कमाउँछु भन्ने चाह पनि थियो ।”

सम्भवत: नेपालमा फुटबलका सबैभन्दा बढी फ्यान अर्जेन्टिनाकै छन् । यसको सुरुआत भयो, सन् १९८६ को विश्वकपबाट– जतिबेला नेपालीले पहिलोपटक विश्वकप लाइभ हेर्न पाएका थिए, नेपाल टेलिभिजनमा । त्यो विश्वकपका दौरान अर्जेन्टिनाका स्ट्राइकर डियगो म्याराडोनाले जादू देखाए । उनको ‘गड अफ ह्यान्ड’ गोललाई अहिलेसम्मकै चमत्कारी मानिएको छ । त्यही बेलाबाट म्याराडोना र अर्जेन्टिनाका जब्बर फ्यान जन्मिए । तिनैमध्येका एक थिए, ललितपुर इमाडोलका केसी । उनी फुटबल खेल्दा आफूलाई ‘म्याराडोना’ भन्दै चिच्याउँथे । उनको स्टाइल कपी गर्न खोज्थे । हुर्कंदै गर्दा उनको फुटबल खेल रोकियो । तर, म्याराडोनाप्रतिको लगाव मत्थर भएन । उनलाई लाग्छ, त्यो विश्वकप नहेरेको भए सायदै अर्जेन्टिना पुग्थे ।

पुग्न त पुगे । तर, उनका ‘ड्रिम ब्वाय’ म्याराडोनालाई प्रत्यक्ष देख्ने र भेट्ने मौका मिल्यो  ? सुरुआती दिनमा केसीले रेस्टुराँमा काम गरे । सोही क्रममा एक स्थानीय फुटबल क्लबका अध्यक्षसँग चिनजान भयो । उनले नेपाल, फुटबल र म्याराडोना–प्रेमबारे बताइहाले । ती दिन सम्झिँदै भन्छन्, “म जतिलाई भेट्थेँ, नेपालबाट आएको भनिहाल्थेँ । तर, कसैले नेपालको नामसमेत सुनेका हुँदैनथे।”

तीन वर्ष बित्यो, म्याराडोनासँग साक्षात्कार गर्ने मौका जुरेन । अर्जेन्टिनामा म्याराडोना ‘अलटाइम फेभरेट’, सबै उनका पछाडि । अनि, परदेशबाट गएको एउटा सामान्य ठिटोले कहाँ भेट्न पाउनु † तर, आशा मरेको थिएन । केही समयपछि केसीले ती क्लब अध्यक्षमार्फत एउटा खेलको क्याटरिङको जिम्मा पाए । बुझ्दै जाँदा थाहा भयो, म्याच हेर्न म्याराडोना पनि आउँदै छन् । उनको उत्साहले शिखर चुमिहाल्यो ।

नभन्दै सन् २००२ मा त्यो क्षण पनि आयो, जतिबेला म्याराडोना सामुन्ने थिए उनी । अन्यले जस्तै म्याराडोनाले पनि कहाँबाट आएको भनेर सोधे । नेपालका बारेमा उनी पनि पूरै बेखबर रहेछन् । केसीले ‘माउन्ट एभरेस्टको देश हो’ भनेर चिनाए । त्यसमा म्याराडोनाको प्रश्न थियो, ‘माउन्ट एभरेस्ट त इन्डियामा पर्छ होइन ?’

हाल इटालियन रेस्टुराँमा म्यानेजरका रूपमा कार्यरत केसीले त्यो पल स्मरण गरे, “त्यति महान् हस्तीलाई समेत यस्तो भ्रम रहेछ । तर, गल्ती हाम्रै हो, हामीले ब्रान्डिङ र प्रचार–प्रसार गर्न सकेनौँ ।” त्यो बसाइमा उनले सगरमाथा मात्र होइन, बुद्धको जन्मस्थल पनि नेपाल नै हो भन्ने जानकारी गराए । उनी भन्छन्, “नेपालमा तपाईं र अर्जेन्टिनाका टन्नै फ्यान छन् भन्दा पत्याउनु भएन । हामीकहाँ फुटबल खेलिन्छ भन्ने लागेकै थिएन रे !”

त्यो भेटमा खुलेर कुरा गर्ने माहोल मिलेनछ । सन् २०१५ मा म्याराडोनासँगको पछिल्लो भेट अझ यादगार छ । त्यो संयोग पनि क्याटरिङले जुराएको थियो । अर्जेन्टिनाको फुटबल एसोसिएसनमा समस्या आएपछि बृहत् बैठक हुने भयो । त्यो बैठकमा खानपानको व्यवस्था गर्ने जिम्मा फेरि पनि केसीले नै पाए । कारण, क्लब र एसोसिएसनसँगको पटक–पटक सहकार्यले उनको विश्वासिलो छवि बनेको थियो ।

म्याराडोनासँग भेट्ने लोभमा क्याटरिङको काममा दिलो ज्यान दिएर लागे, एसोसिएसनका पदाधिकारीलाई प्रभावित पार्नु जो थियो । यसपटक उनलाई म्याराडोनालाई नेपालका बारेमा अझ धेरै कुरा बताउनु थियो । अनि थियो, नेपालको झन्डा बोकाएर तस्बिर खिचाउनु ।

म्याराडोनालाई भेट्नासाथ उनले राष्ट्रिय झन्डामा हस्ताक्षर गर्न अनुरोध गरे । तर, मानेनन् । म्याराडोनाको जवाफ थियो, ‘राष्ट्रिय झन्डा देशको प्रतीक हो । त्यसैले साइन गरेर अपमान गर्दिनँ, बरु हातले उठाउँछु ।’ केसी पुलकित हुने भइहाले । एउटै झन्डा दुई जनाले बोकेर तस्बिर खिचाए । अटोग्राफचाहिँ अलग्गै कागजमा दिए ।

त्यसपछि म्याराडोनाले यसो भने, ‘मैले अर्जेन्टिनापछि पहिलो पटक हो, अन्य दोस्रो देशको झन्डा समाएको । तर, म खुसी छु ।’ सँगै उनले नेपाललाई छिट्टै विश्वकप खेल्न शुभकामना दिए । नेपालको हावापानी र खानपानबारे चासो राखे । केसीले भनेछन्, ‘हामी सानो हुँदा मोजाको बल बनाएर खेल्थ्यौँ ।’ म्याराडोनाले पनि आफ्नो बाल्यकाल सम्झिहालेछन्, ‘म पनि सुन्तलाको फुटबल खेल्थेँ ।’

म्याराडोना वा अर्जेन्टिनासँग नेपाल जोडिएको एउटा किस्सा खुब सुनिन्छ । सन् १९८६ मा इंग्ल्यान्डसँग म्याच हुनुपूर्व म्याराडोनाले भनेका थिए रे, ‘मैदानमा गोर्खा रेजिमेन्ट छैन, त्यही भएर हामी जित्छौँ ।’ सन् १९८२ को फकल्यान्ड युद्धमा बेलायतसँग अर्जेन्टिना पराजित भयो । बेलायतका तर्फबाट नेपाली गोर्खाले पनि युद्ध लडेका थिए । सोही कारण म्याराडोनाले गोर्खालाई व्यंग्य वा अपमान गरेको भनेर व्याख्या गरिन्छ ।

केसीलाई पनि खसखस लागेर म्याराडोनालाई सोधिहालेछन् । “म्याराडोनालाई गोर्खा भनेकै थाहा रहेनछ । चिन्दै नचिनी त्यस्तो प्रतिक्रिया के दिए होलान् र ?” केसी भन्छन्, “मलाई त त्यो किस्सा हिजोआज फेसबुकतिर पोस्ट हुने ट्रोलजस्तो लाग्छ ।” हुन पनि, त्यो अभिव्यक्ति अहिलेसम्म पुष्टि भएको छैन ।

त्यसो त, १९ वर्षे अर्जेन्टिना बसाइमा केसीले म्याराडोना मात्र होइन, अन्य चर्चित फुटबलरलाई समेत भेटेका छन् । तीमध्येका एक हुन्, लामो कपाल हल्लाउँदै मैदानमा दौडने गाब्रियल ओमार बाटिस्टुटा । उनलाई पेलेले संसारका महान् सय खेलाडीमा सूचीकृत गरेका छन् । उनी सुनाउँछन्, “बाटिस्टुटालाई पनि नेपालबारे केही जानकारी रहेनछ । माउन्ट एभरेस्ट र बुद्धलाई सबैले चिन्छन् । तर, त्यो नेपाल हो भन्ने थाहा नहुने ।”

सन् २०१० को विश्वकपमा अर्जेन्टिनाका लागि गोल गरेका अर्का प्रभावशाली खेलाडी मार्टिन पालेर्मोसँग उनको पटक–पटक भेट हुन्छ । नेपालमा अर्जेन्टिना क्रेज सुनाएपछि मार्टिनले खुसी हुँदै भनेछन्, ‘हामीले चिन्दै नचिनेको देशमा पनि यस्तो माया गर्ने रहेछन् । तपाईंहरूलाई पनि छिट्टै विश्वकपमा देख्न पाइयोस् ।’

अर्जेन्टिना चरम आर्थिक संकटबाट गुज्रिरहे पनि सदावहार फुटबलमय हुन्छ । फुटबल उनीहरूको संस्कृति र संस्कारसँग जोडिएको छ । राष्ट्रिय टिम त परको कुरा, स्थानीय क्लबमा खेल्न पाउनु नै ठूलो उपलब्धि मानिन्छ । एउटै सहरमा धेरै प्रशिक्षण केन्द्र छन् । हरेक बालकमा फुटबलर बन्ने सपना हुन्छ । परिवारले सोही अनुसार ‘ग्रुम’ गर्दै लैजान्छन् ।

केसीले फुटबलरका साथै हालका अर्जेन्टिनी राष्ट्रपति मौरिसौ म्याक्रीलाई समेत भेटेर नेपालबारे अवगत गराएका थिए । नेपालमा भूकम्प जाँदा त्यहाँको राष्ट्रिय टेलिभिजनमार्फत सहयोगका लागि अपिल गरे । नेपालको पर्यटन प्रवद्र्धनमा सक्रिय केसी भन्छन्, “नेपालमा अर्जेन्टिनाका यति धेरै फ्यान छन् भन्ने थाहा छैन । बाँकी हाम्रो कला–संस्कृति र प्राकृतिक सौन्दर्यबारे के पत्तो पाउनु ! मेरो प्रयास देश चिनाउने हो ।” 

प्रकाशित: असार १०, २०७५

ट्याग: विश्वकप