बिरामीका भगवान्

- रमा सिंह

डा उपेन्द्र देवकोटाको नेतृत्वमा न्युरो सर्जरी विभाग खुल्यो वीर अस्पतालमा । पेसागत दक्षता त देखाउनै थियो, एक जुनियर डाक्टरले नेपाल टेलिभिजन (एनटीभी) मा समाचार बनाउन सुझाएछन् । नेपाल मेडिकल काउन्सिलको कार्यक्रममा प्रथम परिचयमै डा देवकोटाले प्रस्ताव गरे, “वीरमा न्युरोको उपचार हुने खबर कसो गर्दा सामान्य जनतासम्म पुग्ला ? वीर अस्पताललाई तपाईंको सहयोग चाहियो ।”

अलि खरो, घमन्डी र जिद्दी लाग्थे डा देवकोटा । मलाई सहयोग चाहियो भने भइहाल्थ्यो, वीर अस्पताललाई किन भन्नुपथ्र्यो ? मैले पनि उसैगरी जवाफ दिएँ, “डा साब तपाईंको सहयोगी क्यामेरा हो । हाम्रो क्यामेरामा जे–जे भन्नु छ, भन्नूस्, केही दृश्य विभागको खिचौँला र समाचार बनाउँला ।” तर, उनी ज्यान गए अन्तर्वार्ता दिन नमान्ने, म उनको अन्तर्वार्ता नलिई नछाड्ने ।

झन्डै आधा घन्टाको माथापच्चीपछि अन्तर्वार्ता दिन तयार भए । भोलिपल्ट रिपोर्टर र क्यामेराम्यान पठाएँ । तर, अन्तर्वार्ता नै दिएनछन् । तीन–चार महिनापछि एक गोष्ठीमा प्रसंगवश मैले सोधेँ, “न्युरो विभागको हालखबर के छ ?” “बिरामी पठाउनूस् अनि त्यही बिरामीलाई सोध्नूस्,” अचम्मलाग्दो जवाफ पाएँ । “तपाईंको अनुसन्धान सफल पार्न मान्छेलाई बिरामी होऊ भन्नुपर्ने ? भो, यो काम मबाट हुँदैन,” मैले भनिदिएँ । अलि झोक्की हाउभाउमा भन्दै थिए, “तपार्इंहरूजस्ता मान्छेले देशको स्वास्थ्यस्थिति सुधार्न सहयोग नगर्ने ?” पछि कुरा गरौँला भन्दै म पन्छिएँ ।

धेरै पछि एक मित्रका छोरामा नसासम्बन्धी समस्या देखिएपछि मैले उनलाई सम्झेँ । फोनमा भनेँ, “डा साब, म साथीको छोरालाई पठाउँदै छु । सम्भव भए नेपालमै उपचार गरिदिनु होला ।” छोराको उपचारपछि मित्रले मसित भने, “कस्ता डाक्टर हुन् ? कहिले सामान्य देखिन्छन्, कहिले नमस्ते पनि फर्काउँदैनन् ।” मैले भनेँ, “असामान्य रोगको उपचार गर्ने असामान्य मान्छे यस्तै हुन्छन् । उनीहरूको दिमाग सुन्दर कल्पनाले भन्दा रोगैरोगले सजाइएको हुन्छ ।”

एनटीभीमा काम गर्दा मैले सम्झने दुई डाक्टर थिए, उपेन्द्र देवकोटा र भगवान कोइराला । दुवैलाई म भगवानै मान्छु । यी डाक्टरले हुनेखानेसँग प्रशस्त पैसा लिएर पनि उपचार गरे होलान् । तर, धेरै जटिल रोगीको उपचारमा कहिल्यै पैसाको ‘डिमान्ड’ गरेनन् ।

दुर्गम जिल्लाका जटिल बिरामीबारे टेलिभिजनमा समाचार बन्दा केही रकम संकलन हुन्थ्यो तर त्यो पर्याप्त हँुदैनथ्यो । रोग अनुसार यी दुई डाक्टरलाई फोन गरेर म भन्थेँ, “बिरामीसँग पर्याप्त पैसा पनि छैन, धेरै दिन काठमाडौँ बस्न पनि सक्दैन । के गर्ने ?” दुवै डाक्टर भन्थे, “भएको रकम अस्पतालको खातामा हालेर भौचरसहित भर्ना गरिदिनू । बाँकी अस्पतालबाटै मिलाउँछु ।” यसरी २० हजार रुपियाँ अस्पतालको खातामा हाल्दा पनि १ लाख रुपियाँभन्दा बढीको उपचारपछि जीवनदान पाउँथे । उनीहरू सोच्दै होलान्– लाखौँको जीवन बचाउने डाक्टरलाई बचाउने औषधी पनि छैन, अर्को चमत्कारी डाक्टर पनि छैन ।

अर्को पटक टाउकोसम्बन्धी एक गम्भीर बिरामीका लागि बैंक अकाउन्टमा चन्दा थपिँदै जाँदा अपरेसन गर्न आवश्यकभन्दा बढी नै रकम जम्मा भएछ । अस्पतालबाट घर फर्कने बेला बिरामीले आफ्नो नामको सबै रकम आफैँले पाउनुपर्ने लफडा गरेछन् । तर, डा देवकोटाले त्यही रकम कालीकोटका एक जटिल बिरामीको उपचारमा खर्चन चाहेका रहेछन् । फोन आयो, “रमाजी, तपाईं कहाँ हुनुहुन्छ ? एउटा समस्या सल्टाउनुपर्‍यो, अस्पताल आइदिनूस् ।”

म रिपोर्टिङमा थिएँ । एक घन्टापछि क्यामेराम्यान रत्नहजुर सेनसँगै अस्पताल पुगेँ । अस्पतालको खातामा पैसा हालिदिने हामी तर बिरामी भन्छ– सबै पैसा मलाई चाहिन्छ । लामो बहसपछि उनलाई बाटोखर्चसहित केही रकम दिएर मनाइयो र बाँकी पैसाले अर्को बिरामीको ज्यान बच्यो ।

२५ वर्षे टेलिभिजनकर्ममा जम्माजम्मी ५–६ चोटि भेटघाट भयो होला डा देवकोटासँग । उनले जम्माजम्मी दुईचोटि फोन गरे, एकचोटि बिरामीका नाममा, अर्कोचोटि मेरो स्वास्थ्यबारे सुझाव दिन । कोलस्ट्रोल बढेपछि मैले उनलाई फोन गरेकी थिएँ । उनी अपरेसन थिएटरमा रहेछन् । उनका सहयोगीलाई समस्या बताइदिएकी थिएँ ।

सुझाव फोनमै हाजिर भयो, “टेबुल–कुर्सीमा बसेर समाचार पढ्न छाडिदिनूस्, फुटबल खेल्नूस् । आठ घन्टाको अपरेसनपछि थाकेको छु, जाँचेपछि बताउँला ।” तर, म न उनीकहाँ जँचाउन गएँ, न उनले केही बताउने अवसरै पाए । अर्को एक कार्यक्रममा उनले बोलाउँदा मैले भनिदिएँ– फुटबल खेलेर ठीक हुने भए तपाईंकहाँ किन आउने ?

शाहीकालमा स्वास्थ्यमन्त्री हुँदा फोनमा बधाई दिएर भनेकी थिएँ, “डाक्टरसाब नेता भएपछि अब अन्तर्वार्ता पो दिने कि ?” “रमाजी, म तपाईंलाई ज्यान गए पनि अन्तर्वार्ता दिन्नँ, प्रयत्नै नगर्नुहोला ।” अब न म उनको अन्तर्वार्ता लिन सक्छु, न फुटबल खेलेरै कोलस्ट्रोल घटाउनै सक्छु ।

प्रकाशित: असार १०, २०७५

ट्याग: सम्झना