प्रेमको काव्यिक अभिव्यक्ति [फिल्म समीक्षा : अक्टोबर]

फिल्म : अक्टोबर | रेटिङ : ४/५

- गोकर्ण गौतम

विस्तारै बलिउडबाट कथा र कलात्मकता हराउँदै गएको छ । हलिउडमा जस्तै स्टारडमको दबदबा छ । नयाँ कथा खोज्ने र त्यसलाई दर्शकसम्म अनुभूत गराउने फिल्ममेकरको हाहाकार छ । तर, सिर्जनशील फिल्म र फिल्मकर्मी भइसकेका भने होइनन् । नपत्याए, सुजित सरकार निर्देशित अक्टोबर हेर्नुस् । यसको मुख्य अभिनेता अरू कोही नभएर मूलधारका फिल्ममा व्यस्त/मस्त वरुण धवन हुन् । अक्टोबरमा चाहिँ न वरुणको स्टारपावरको किञ्चित प्रभाव छ, न त बजारु मसलाको । भागदौड र लुछाचुँडीमा रुमल्लिरहेको वर्तमान समयमा यस फिल्मले प्रेम, जीवन, मानवीयता र सम्बन्धको नवीन परिभाषा दिएको छ । पर्दामा कुनै बनावटी दृश्य होइन, जीवन नै हेरिरहेको आभास हुन्छ ।

पाँचतारे होटलका प्रशिक्षार्थी ड्यान (वरुण धवन) मायालु मात्र होइनन्, इमानदार पनि छन् । देखेको कुरा भनिहाल्छन् । चाप्लुसी गर्न जान्दैनन् । सोही कारण होटलमा ड्यानलाई उतिविघ्न रुचाइन्न । त्यही होटलकी अर्की प्रशिक्षार्थी शिली (बनिता सन्धु) सँग सामान्य परिचय हुन्छ । औपचारिकताभन्दा थोरैमाथि मात्र हुन्छ, उनीहरूको सम्बन्ध । तर, एक दिन होटलको छतबाट खस्छिन्, शिली । महिनौँ कोमामा जान्छिन् । निको हुने छाँटकाँट छैन । तर, ड्यान हरेक दिन अस्पताल धाउँछन्, हेरविचार गर्छन् । उनका लागि शिलीको उपचारबाहेक संसारमा अर्को खुसी छैन । ड्यानको यही एकोहोरो प्रेम क्लाइमेक्ससम्म आइपुग्दा जोकोहीको गला अवरुद्ध हुन्छ ।

अक्टोबर सिर्फ एक महिना हो । तर, सुजितको अक्टोबरचाहिँ पूरै जीवन हो । अक्टोबरको सिजनलाई प्रतीकात्मक रूपमा देखाउँदै प्रेमको गहिराइसम्म पुर्‍याउँछन् । दुर्घटनाबाहेक फिल्ममा अर्को ठूलो ‘इभेन्ट’ केही हुन्न, न ट्वीस्ट र सस्पेन्स नै छन् । ड्यानको अस्पताल, घर र अफिसको चक्करमै घुम्छ फिल्म तर हरेक दृश्यले बाँध्दै लान्छ । यसको पहिलो जस जान्छ, पटकथाकार जुही चतुर्वेदीलाई । उनले स–साना घटनामै जीवन भरिदिएकी छन् । तिनै घटनालाई उनेर माला बनाएकी छन् । पात्रको चारित्रीकरण अर्को उल्लेखनीय पक्ष हो । रुममेट, अस्पतालको चौकीदार, त्यहाँ आउने बिरामीका आफन्त, शिलीकी आमासँग ड्यानको प्रत्येक भेट र संवाद रुचिकर छन् । मुख्य पात्रलाई बलियो बनाउने सहायक पात्रको यस्तो गज्जबको समीकरणका लागि जुही असीमित धन्यवादको पात्र बनेकी छन् । अस्पतालभित्रको जीवन, एक सदस्य गम्भीर बिरामी भएपछि पूरा परिवारले बेहोर्नुपर्ने आन्तरिक र बाह्य दबाब, स्वार्थमा लमतन्न हुने सम्बन्धको चित्रण उस्तै बुलन्द छ । निर्देशक सुजितले दृश्यमा काव्यिक चेत भरेका छन् ।

भनिहालियो, अक्टोबर मूलत: प्रेमकथा हो । तर, आमप्रेमकथाका फिल्ममा झैँ यसमा हिरो–हिरोइनको रोमान्स छैन, भिलेन छैन, फाइट छैन । तर, एक निमेष मोहभंग हुन्न । कारण, फिल्ममा प्रेममा हुनुपर्ने आत्मा छ । ड्यान त्यसकै प्रतिनिधि हुन् । प्रेमभन्दा अलि पर सोचेर हेर्ने हो भने अक्टोबर मानवीयताको फेहरिस्त हो । प्रविधिको विकाससँगै मानवीयता हराउँदै गएको आजको दुनियाँमा यस्ता कथाले न्यानो अनुभूति गराउँछ । तर, प्रेमको नाममा आदर्श पस्किएको छैन, न अव्यावहारिक नै । नगर्नु बेग्लै कुरा, तर चाहने हो भने ड्यानझैँ हरेकले आफ्नो वास्तविक संसारमा प्रेम अभिव्यक्ति गर्न सक्छन् । त्यसैले पनि ड्यान प्रिय लाग्छ । ड्यानमा आफूलाई खोजिन्छ ।

वरुण धवनको करिअरको उत्कृष्ट र अब्बल अभिनय देख्न पाइन्छ, अक्टोबरमा । उनको मुटुको पीडा अनुहारमा हुबहु महसुस गर्न सकिन्छ । हरेक कोणबाट उनको अभिनय ‘वल्र्ड क्लास’ मान्न सकिन्छ । बनिता सन्धुलाई अभिनय गर्ने ‘स्पेस’ निकै साँघुरो छ । तैपनि, उनी जीवन्त लाग्छिन् । गीताञ्जली राव र शिलीकी आमा उस्तै सशक्त छन् । विक्की डोनर पिकुबाट चौतर्फी वाहवाही कमाएका निर्देशक सुजितलाई अक्टोबरले अर्को उचाइ दिएको छ । लाग्छ, फिल्म उनका लागि चमकधमक देखाउने माध्यम होइन, कथा भन्ने सुवासिलो प्लेटफर्म हो । पृष्ठभूमि संगीतले दृश्यको भावलाई अझ मूर्त बनाएको छ ।

जसलाई प्रेम मन पर्छ, उसले अक्टोबर हेर्नुपर्छ । जसलाई पर्दैन, उसले पनि हेर्नुपर्छ । यसले प्रेम अनुभूत गराउँछ, सिकाउँछ । सिनेमा मरेको छैन भन्ने प्रमाण हो, अक्टोबर  ।

प्रकाशित: असार ८, २०७५