[स्मरण] अस्कलका अमृतप्रसाद

- शिव रेग्मी

त्यसबेलाको काठमाडौँ शान्त र सानो थियो । घरघरमै बल्थे बिजुली तर भोल्टेज नपुगेर मधुरो बत्तीजस्तो लाग्थ्यो । महिनावारी २ रुपियाँ १२ पैसा मात्र थियो महसुल । धारामा बिहान ५ बजे नै आउँथ्यो पानी । छाउनीमा पानी छाडेको सुइँय्य आवाज ठमेलसम्म सुनिन्थ्यो । अहिलेका विश्वज्योति हलदेखि सञ्चयकोष हुँदै ज्याठासम्म अग्लो पर्खाल लगाइएको थियो । त्यहाँ कुनै बस्ती थिएनन्, जताततै धानखेत मात्रै देखिन्थ्यो ।

इँटा पेलेर बनाइएका सडक मात्रै थिए काठमाडौँमा । त्यो रातो बाटो टलक्क टल्किन्थ्यो । मोटरगाडी त छँदै थिएनन् भने पनि हुन्छ । मैले सम्झेसम्म ठमेलमा एउटा गाडी थियो ७९ नम्बरको । त्यो गाडी नरसिंह क्याम्पको कुनै नरसिंह राणाको थियो होला । अर्थात्, प्राइम मिनिस्टरको गाडी होला । तर, मैले उनले गाडी चढेको देखिनँ । घोडामै आउँथे सिंहदरबारसम्म । ठमेल र बांगेमुढाबीचको ठाउँ नै नरसिंह क्याम्प हो । त्यो ठाउँ आज पनि यसै नामले प्रसिद्ध छ । त्रिभुवनका अंगरक्षक नरहरिनरसिंह राणाका खलकहरू त्यहाँ बस्ने भएकाले तिनैको नामबाट यो क्याम्पको नामकरण भएको हो ।

त्यतिबेला मानिसले तान्ने रिक्सा हुन्थ्यो । यस्तो रिक्सा चढ्नेचाहिँ तीन–चार जना मात्र थिए । पहिलो व्यक्ति एसएलसीका नियन्त्रक थिए । मलाई तिनको थर मात्र सम्झना छ, भट्ट । त्यसपछि जर्नेल योगविक्रम राणा, दरबारका गुरु सोमनाथ सिग्द्याल र अमृतप्रसाद प्रधानका बाजे अजरप्रसाद चढ्थे रिक्सा । अमृत तिनै शिक्षासेवी हुन्, जसले अमृत साइन्स कलेज (अस्कल) को स्थापना गरे । अमृत भद्र मानिस थिए । मलाई छात्रावास हेरिदेऊ भन्थे । तर, मैले विद्यार्थीलाई नियन्त्रण गर्न सक्छु जस्तो लागेन र अस्वीकार गरेँ । पछि दुर्घटनामा बिते अमृत ।

हुनेखाने कसै–कसैले चढ्थे मोटरसाइकल । एक जना पकनाजोलतिरका बाबुसाहेब थिए । तिनी बाटामा पैसा छर्दै मोटरसाइकल हुँइक्याउँथे । हामी केटाकेटी मोटरसाइकलको आवाज सुन्नासाथ पैसा बटुल्न सडकमा दौडिन्थ्यौँ । उनले देउताका थानमा पैसा छर्दै हिँड्थे, हामी ठान्थ्यौँ–त्यो हामीलाई नै छरिदिएका हुन् । तिनको तराईमा ठूलो मौजा थियो । पछि त्यतै तिनको हत्या गरियो । अहिलेको दरबारमार्ग भएको ठाउँमा भाषण हुन्थे भन्दा अचम्म लाग्न सक्छ । त्यसबेला लैनचौर विशाल फाँट थियो । ठूलो आमसभा त्यहीँ हुन्थ्यो । ०१५ को चुनावताका सबैजसो दलका आमसभा त्यहीँ भएका थिए । मैले एक–दुई पटकको आमसभामा भाषण पनि सुनेको छु । जमल त त्यतिबला सिस्नुघारी थियो । केही वर्षअघिसम्म त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय रहेको ठाउँमा गेहेन्द्रशमशेरको बन्दुक कारखाना थियो ।

मैले थाहा पाउँदा राजधानीको मुख्य बजार भनेको इन्द्रचोक र असन थिए । नयाँसडक त १९९० को भूकम्पपछि बनिएको हो । त्यसैबेला बनिएको हो, जुद्धशमशेरको सालिक पनि । जुद्धशमशेर भूकम्प जाँदा तराईमा सिकार खेल्दै थिए । त्यहाँबाट फर्केर भूकम्प–पीडितको उद्धारमा धेरै ठूलो काम गरेपछि उनको सम्मानमा जनताबाट चार–चार दाम चन्दा उठाएर त्यो सालिक बनाइएको हो । पछि जुद्धले जनताको सबै दाम फिर्ता गरिदिए भन्ने सुनेको हुँ ।

पूर्वबाट आएका मानिस राजधानीको पूर्वतिरको बागबजार र डिल्लीबजारतिर अनि पश्चिमतिरबाट आएकाहरू पश्चिमतिरैको ठमेल र पकनाजोलतिर डेरा गरी बस्थे । पुरानो बानेश्वर चोकैनेरको गणेश मन्दिरअगाडि एउटा प्रसिद्ध पाटी थियो । ००५ मा विश्वेश्वरप्रसाद कोइरालालाई धनकुटा जेलबाट सरुवा गरेर ल्याउँदा एक रात राखिएकाले पनि त्यो पाटी अझ प्रसिद्ध भयो । म ०३२ मा बत्तीसपुतली बस्न आउँदासम्म त्यो पाटी यथावत् थियो । तर, अहिले पाटी मासेर विशाल निजी भवन ठड्याइएको छ ।

सिंहदरबारको दक्षिणतिर आवतजावतमा प्रतिबन्ध थियो । हामी सिंहदरबारबाट सीधै पश्चिम भद्रकाली हुँदै ठमेल जान्थ्यौँ । त्यसबेला कालोपत्रे सडक भनेको सिंहदरबारबाट भद्रकाली, अहिलेको गोश्वारा हुलाक हुँदै मोहनशमशेरको दरबार शीतल निवाससम्म मात्र थियो । गाडी नै नभएपछि कालोपत्रे सडक बनाउने कल्पनै थिएन सायद । पछि ००२ मा त्रिपुरेश्वरको महेन्द्रको सालिकसम्म कालोपत्रे गरियो । त्यही सालिक राखेको अवसर पारेर पहिलो पटक १ सयका पाँच लाख, १० का १० लाख र पाँचका १० लाख नोट जारी गरिएको थियो ।

विश्वज्योति सिनेमाघरसँगैको लहरमा थियो, सेतो दरबार । त्यहाँ आगलागी हुँदा जंगबहादुरले बेलायतमा बनाएर ल्याएका आफ्ना ठूलठूला मुहारचित्रहरू पनि जलेर खरानी भए । त्यति मात्र होइन, त्यहाँ रहेका अत्तर फुटेर बग्दा त्यसको वासनाले तीनै सहर मगमगाएको थियो भन्ने मैले सुनेको छु । त्यही सेतो दरबार आगलागीमा परेपछि जुद्धशमशेरले नेपालमा पहिलोपटक दमकल झिकाएका हुन्– जुद्ध वारुणयन्त्र ।

प्र स्तुति : रमण घिमिरे

प्रकाशित: असार ८, २०७५

ट्याग: सस्मरण