प्रविधिमैत्री सुबिन

- विभु लुइटेल

“प्रविधिमैत्री हुँदाहुँदै प्रविधिको दास भएको सुइँकै पाइएन,” आख्यानकार सुबिन भट्टराई भन्छन् । थुप्रै ग्याजेट प्रयोग गरिसकेका उनी प्रविधिले जमाएको अस्वस्थ आधिपत्यमा खुसी भने छैनन् । पहिले कम्प्युटर र फोन आममानिसको पहुँचमा नहुँदा मानिस–मानिसबीच सुमधुर सम्बन्ध हुने गथ्र्यो । पछि सिंगो टोलमा एउटा घरमा मात्र टिभी हुँदा पनि त्यो सम्बन्धमा ह्रास आएको देखिँदैनथ्यो । भन्छन्, “अर्को ग्रहमा भइरहेका घटनाबारे थाहा पाउन त प्रविधिले सहज पारिदियो । तर, कसैलाई आफ्नै घरमा के भइरहेको छ नै पत्तो हुँदैन ।”

उनी आफ्ना प्रिय ग्याजेट म्याकबुक एयरमा नै लेख्छन् । यसलाई आफ्नो बेस्ट फ्रेन्ड भन्न रुचाउँछन् । म्याकबुक किन्नुभन्दा पहिले उनी एसरको ल्यापटप चलाउँथे । ब्याट्री धेरै नटिक्ने, सुस्त गतिमा चल्ने र भाइरसले धेरै सताइरहने हुँदा उनमा यसप्रति वितृष्णा बढ्दै गयो । भन्छन्, “मेरो एसर ल्यापटपको राम्रो पक्ष त्यसमा भएको पाँच सय जीबीको हार्ड डिस्क मात्रै थियो । बाँकी सबै झुर ।”

सुबिन फोटोग्राफीका सौखिन हुन् । कतै जाँदा केही कुराले आकर्षित गरे फोटो खिचिहाल्ने बानी छ उनको । यसका लागि उनी निकोनको डी–५२०० प्रयोग गर्छन् । यसको गुणस्तरीय अडियो–भिडियोले पनि उनको मन लोभ्याएका छन् । तर, सबैतिर क्यामेरा बोकेर हिँड्न सम्भव पनि हुँदैन । त्यसैले उनले फोटोग्राफीका लागि आइफोन ६ एस्को प्रयोग गर्दै आएका छन् । फेसबुक, ट्वीटर र इन्स्टाग्राममा अपडेटेड रहन पनि उनी आइफोन नै प्रयोग गर्छन् । यसबाहेक उनीसँग एप्पलको आइप्याड छ । “आइप्याड नयाँ हुँदा खुब चलाउँथेँ । अहिले नचलाएको धेरै समय भइसक्यो,” उनी भन्छन् । फोटो तथा भिडियो खिच्न उनी ड्रोन खरिद गर्न चाहन्छन् । ड्रोन प्रयोग गर्दा आइपर्ने कानुनी अड्चनबारे पनि अवगत छन् ।

बाल्यकालमा प्रयोग गर्ने वाकम्यान अहिले बजारबाट हराइसक्यो । तर, उनको मानसपटलमा अझै ताजा छ, त्यो समय । टाइपराइटर र कर्डलेस फोनजस्ता पुराना ग्याजेटले उनलाई अझै आकर्षित गर्छन् । कम्प्युटर भन्नेबित्तिकै उनका आँखाअगाडि अझै सीआरटी मनिटरको दृश्य आउँछ । 

प्रकाशित: असार ७, २०७५