मापसे जाँच्ने प्रविधि

- विभु लुइटेल

अन्तर्राष्ट्रिय यातायात सञ्जाल कम्पनी उबरले आफ्ना गाडीमा सवार यात्रुले मादक पदार्थ सेवन गरे–नगरेको पत्ता लगाउन आर्टिफिसियल इन्टलिजेन्स (एआई)युक्त प्रविधि ल्याउन लागेको छ । यसका लागि अमेरिकामा उबरले ७ जुनमा पेटेन्ट दर्ता गरिसकेको छ । आफ्ना सवारी चालकको सुरक्षार्थ यो प्रविधि अपरिहार्य रहेको कम्पनी सञ्चालकको भनाइ छ ।

पेटेन्ट निवेदन अनुसार यसमा समाविष्ट एआई प्रविधिले सुरुमा प्रयोगकर्ताका स्थान, समय र व्यवहार निर्धारण गर्नेछ । कुनै बार वा पबवरिपरिको स्थान देखिए प्रयोगकर्ताले मापसे गरेको सम्भावना देखिनेछ । अझ साँझ वा रातको समयमा यो सम्भावना बढी हुनेछ । अन्य अवयवमा प्रयोगकर्ताले टंकण गर्दा गरेका गल्ती (टाइपो), खुट्टाको चाल, कुनै बटन थिच्दा हात लर्बराउने तरिका, गाडी मगाउन लगाउने समय आदिलाई राखिनेछ । नेपालमा उबरको शाखा छैन । यसका विकल्पमा एडी क्याब, सारथि क्याब, कावा राइड्सजस्ता सेवा भने उपलब्ध छन् । 

प्रकाशित: असार ७, २०७५