नेपाल–चीन कुटनीतिमा सैन्य कार्ड

- मनबहादुर बस्नेत

नेपाल सामरिक र रणनीतिक बदलावको बिन्दु भएकाले नै दुवै देशले रेल कूटनीतिलाई उच्चतम प्राथमिकतामा राखेको जोकोहीले अनुमान लगाउन सक्छ । चीनले त सैन्य स्रोतलाई समेत आफ्नो रेल कूटनीतिमा जोड्न थालेको छ । ६ वैशाखमा चिनियाँ रेलवे ब्युरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ जङसहितको तीन सदस्यीय टोली र प्रधानसेनापति राजेन्द्र क्षेत्रीबीच अर्थपूर्ण भेट भयो, जसको सुइँको रक्षा र परराष्ट्र मन्त्रालयलाई समेत दिइएन । रक्षा मन्त्रालयमा त्यतिबेला प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव ऋषि राजभण्डारीले उक्त भेटबारे केही पनि जानकारी नभएको बताए । “यसबारे हामीलाई जानकारी गराइएको थिएन । गराउनुपर्ने हो,” उनी भन्छन्, “किन नगराएको सेनाकै प्रवक्तासँग बुझ्नूस् ।”

यी पनि पढ्नुहोस् :

आवरण कथा» बेइजिङमा ओलीको अग्निपरीक्षा

चीन–नेपालबीच तीव्र रेल कूटनीति

आउलान् चिनियाँ बैंक ? 

आवरण दृष्टिकोण» बार्गेनिङ कार्ड नखेलौँ 

आवरण टिप्पणी » चीनसामू इच्छाशक्ति देखाउने अवसर

पछिल्लो कालखण्डमा नेपाली सेनाले कतिपय भूराजनीतिक विषयमा समेत निर्णायक भूमिका खेलेकाले चीनले उसँग सम्बन्ध बढाउन खोजेको हुन सक्छ । खासगरी ०७२ को साढे चार महिना लामो भारतीय नाकाबन्दी खुलाउन सैन्य कूटनीतिक कार्ड पनि प्रयोग भएको थियो । सेनाले कूटनीतिक भेटघाटसमेत बाक्लो बनाउँदै लगेको छ । “सैन्य कूटनीतिका नाममा सेनाले अन्तर्राष्ट्रिय सम्पर्क ह्वात्तै बढाएर लगेको छ,” सामरिक मामिलाका जानकार गेजा शर्मा वाग्ले भन्छन्, “यस्तो पृष्ठभूमिमा चीनले सेनालाई नेपालको प्रमुख शक्ति मानेर विश्वासमा लिन खोजेको हुन सक्छ ।”

नेपाली सेना र भारतीय सेना परम्परागत मित्र भएकाले स्वाभाविक रूपमा नेपाली सेना भारतको नजिक रहेको ठानिन्छ । नेपालमा उत्तरी रेल आउनुलाई दक्षिणले आफ्नो सामरिक र सुरक्षाको दृष्टिकोणले समेत हेर्ने गर्छ । त्यही भएर चीनले नेपाली सेनामार्फत भारतको सामरिक स्वार्थलाई सम्बोधन गर्न खोजेको हुन सक्छ । यद्यपि, चिनियाँ रेलवे अधिकारी र प्रधानसेनापति क्षेत्रीबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । जंगी अड्डाले समसामयिक विषयमा छलफल भएको अमूर्त विज्ञप्ति निकालेको छ । सैन्य प्रवक्ता सहायक रथी गोकुल भण्डारीले समेत यस विषयमा प्रस्ट पार्न चाहेनन् ।

प्रकाशित: असार ४, २०७५

ट्याग: राजनीति