आचार्य आवाज

- कुमार नगरकोटी

हजार सपनाहरुको माया लागेर आउँछ । घरीघरी भक्तराज आचार्यको आवाजको माया लागेर आउँछ । अतीतको चञ्चल–मञ्चल छायाले त्यागिसकेको उनको जीर्ण–शीर्ण कायाको पनि माया लागेर आउँछ ।.

यो आचार्य–आश्रम हो । बुइँगलमा छु चुपचाप यता । आचार्य छन्, चुपचाप उता भुइँखाटमा निदाइरहेका । ग्रामोफोन रेकर्डमा फनफनी घुमिरहेको चाक्लो डिस्कबाट एनालग–युगको गीत गुञ्जिरहेछ :

जति चोट दिन्छौ देऊ मायालु, मुटुभित्र साँचेर राख्नेछु ।

सोच्छु, उनको मुटुभित्र कति चोट साँचिएका होलान्  ! संगालिएका, थिग्रिएका होलान् ! गीतले भन्छ– जति आँसु दिन्छौ देऊ मायालु, दुई आँखाबाट झार्नेछु । गम्छु, ती बैगुनी मायालुहरु कहाँ पुगे हुनन्, जसले आचार्यको आँखामा आँसुको कुवा छाडी गए ।

लाग्छ, हजार सपनाहरु पग्लिएर, रसाएर आँसु बन्दा हुन् र उनका आँखाबाट झर्दा हुन् । 

के यिनी त्यही गायक हुन्, जसको गीत सुसेल्दै–सुन्दै म हुर्किएँ ? जसको आवाजले मेरो कानलाई पवित्र पार्‍यो । जुन आवाजको उदासीनता एवं वैराग्य अझै पनि मेरो हृदयको एकलास जंगलमा सुसाइरहन्छ । त्यो आवाज, जसले मेरो जवानीको शोकमग्न एक्लोपनलाई गीतका अनेक मन्त्र एवं अन्तराहरुमार्फत सुम्सुम्याएको थियो  ।

आज त्यही आवाज खोज्न म यहाँ आएको छु । बुइँगलको भर्‍याङ चढ्नै लाग्दा आचार्य–पुत्र सत्यराजले भनेका थिए, “बुबा लामो निद्रामा हुनुहुन्छ । उहाँलाई नजगाइदिनु होला । अनि भन्नुस्, मिस्टर फकिर, आज बाटो भुलेर कताबाट यता आउनुभयो नि ! किन आउनुभयो ? बुबालाई त सबैले बिर्सिसकेका छन् । तपार्इंले कसरी सम्झनुभयो  ?”

सत्यराजको प्रश्निल जिज्ञासालाई फ्रेमिल गर्नु आवश्यक थियो । फ्रेमभित्र राख्नु नितान्त जरुरी थियो, जुन यसप्रकार छ–

विगत केही समययता श्रवणशक्ति ह्रास हुँदै जाने अनौठो रोगद्वारा म ग्रस्त छु । चिकित्सकको के आशंका छ भने चाँडै नै लिटरल्ली बहिरो हुनेछु । आवाजहरु मेरो कानले सुन्न छाड्नेछ । मलाई लाग्यो, मसित बाँकी रहेको समय केही सुन्दर आवाजहरु सुनेर बिताऊँ । त्यसपछि मनप्रिय आवाजहरु खोज्न म घरबाट निस्केको हुँ ।

हिजोआज म सानो जेबी साउन्ड रिकर्डर बोकी हिँड्ने गर्छु । त्यसमा आवाजहरु रिकर्ड गर्छु । कहिले झरीको आवाज रिकर्ड गर्छु र कहिले बच्चाहरुको खित्का र हाँसोहरु । रिकर्डरमै मैले संग्रह गरेको छु, बतासको सर्सराहट र खोलाको कलकल आवाज, चराचुरुंगीका चिरबिर चिरबिर, मन्दिरका टिङटिङ, घडी र टाइपराइटरका टिकटिक टिकटिक र देवालयका प्रार्थनाहरु ।

मैले बिर्सिसकेका आवाजहरु यसैगरी संग्रह गर्दै वन–उपवन, गाउँ–नगर डुली हिँड्छु । बहिरो हुनुअघि म ती आवाजलाई अन्तिम पटक सुन्न चाहन्छु । ती आवाज, जसले मेरो अस्तित्वलाई कर्णप्रिय एवं करुणामयी बनाएका थिए । ती मनप्रिय आवाजलाई म आभार प्रकट गर्न चाहन्थेँ । र, आज आइपुगेको थिएँ आचार्य आश्रममा ।

सत्यराज भन्छन्– “तर, फकिर, बुबासित त आवाज छैन । क्यान्सरले उहाँको जिब्रो काट्नुपरेको तपाईँलाई थाहा छैन र ?”

“थाहा छ,” म भन्छु, “मलाई आचार्यको पुरानो ग्रामोफोन रेकर्ड भए पनि दिनुस् । म बुइँगलमा बस्दै गर्छु ।”

र, बुइँगलमा आचार्य निदाइरहेका छन् । सारा संसारका निम्ति उनी निदाएकै छन् । उनी जिउँदै छन् भन्ने कुरा पनि अब त जगतले बिर्सिसकेको छ । मलाई यसबेला ओह्रान पामुकको याद आइरहन्छ । उनी भन्छन्, “आई राइट बिकज आई एम अफ्रेड अफ बिइङ फर्गटन ।”

आफू बिर्सिइजाने डर कति भयावह हुँदो हो ? आचार्यलाई सोध्नू ।

तपाईं तबसम्म जिउँदो जीवित हुनुहुन्छ, जबसम्म तपाईं आफ्ना तमाम हितैषी, मित्र, प्रियजन तथा शुभचिन्तकहरुको स्मृतिमा रहनुहुन्छ । जब तपाईं स्मृतिहरुबाट पखालिनुहुन्छ, तब तपाईँ मर्नुहुन्छ । यादहरुबाट जब तपाईं मेटिइँदै जानुहुन्छ, तब तपाईंको मृत्यु हुन्छ ।

के तपाईंको स्मृतिमा भक्तराज आचार्य जिउँदै छन् ? उनको स्मृतिलाई जोगाएर राख्नुस् । यादहरु नष्ट भएपछि मनुष्य भ्रष्ट हुन्छ ।

अब त मलाई हिँड्नु छ । आचार्य–पुत्र सत्यराजले उपहार दिने ग्रामोफोन–डिक्स लिनु छ । घर जानु छ । पूर्ण रुपले बहिरो हुनुअघि चराको चिरबिर चिरबिर, बच्चाहरुको खित्का हाँसो, नदीको कलकल, बतासको सर्सराहट र झरीको रिमझिमसितै भक्तराज आचार्यको आवाज सुन्दै मलाई केही काल बिताउनु छ ।

प्रिय आचार्य ! आवाज खोज्दै म तिमीसम्म आइपुगेको थिएँ । तिमी भने निदाइरहेका छौ । नउठ निदाइरह । किनभने, यो जाग्राम–जगत् त ज्यादै बैगुनी छ । जान्छु ल ! 

प्रकाशित: असार ४, २०७५

ट्याग: पर्सोनाज