‘स्लो रेस’ [फिल्म समीक्षा : रेस ३]

फिल्म : रेस ३ | रेटिङ : १.५/५

- गोकर्ण गौतम

रोमान्स, एक्सन अनि ट्वीस्टका कारण रेसरेस २ काफी रुचाइयो । यही फिल्मको संस्करण रिलिज भएको छ, रेस ३ । यसपटक सलमान खान पनि छन् । सलमानको अहिलेसम्मकै ठूलो बजेटको फिल्म हो यो । अपेक्षाले शिखर चुम्ने भइहाल्यो । यस्तै आश लिएर हल पुग्दा निरास हुनुपर्छ । एकाध ट्वीस्ट र आकर्षक एक्सन सिक्वेन्सबाहेक फिल्ममा खास केही छैन । निर्देशक रेमो डिसुजामा फिल्मको आवरण भव्य र स्टाइलिस बनाउने ध्याउन्न मात्र देखिन्छ । प्लट नै कमजोर भएपछि जति नै गाडी उडाए पनि वा बम–गोली पड्काए पनि त्यसले रोमाञ्चकता नदिने रहेछ । २ घन्टा ४० मिनेट लामो यस फिल्म सलमानको स्टारडमले मात्र थेगिने कुरै भएन । त्यसो त, फिल्ममा अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डेज, डेजी शाह, सकिब सलिमलगायत गिनेचुनेका कलाकारको भीड नै छ । तर, पर्दामा खास जादू देख्न पाइन्न । एक्सन दृश्यचाहिँ हलिउड स्तरकै लाग्छ ।

खासमा यो एउटा पारिवारिक अन्तरद्वन्द्व र जालसाजीको कथा हो । शमशेर सिंह (अनिल) ले आइल्यान्ड अल सिफामा अवैधानिक हतियार निर्यात गर्छन् । भारत फर्केर काम गर्न चाहन्छन् । तर, आपराधिक पृष्ठभूमिका कारण फर्कने अवस्था छैन । त्यसमाथि राना (फ्रेडी दारुवाला)ले तनाव दिइरहन्छ, जसबाट उनलाई सौतेनी छोरा सिकन्दर (सलमान) र आफ्नै जुम्ल्याहा सन्तान सञ्जना (डेजी) र सुरज (सकिब)ले जोगाउँछन् । तर, सिकन्दरलाई सञ्जना र सुरज देखिसहँदैनन् । सम्पत्ति र शक्तिमा आँखा लगाउँछन् । यस्तो अवस्थामा परिवारलाई बचाउँदै आफ्नो धन्दालाई निरन्तरता दिन शमशेर सफल होलान् ? यही वरपर अल्झिएको छ फिल्म ।

पैसा र स्टारडमले मात्र दर्शकलाई बाँधिराख्दैन । त्यसका लागि पटकथा नै कसिलो हुनुपर्छ । तर, नाम रेस भए पनि यसको पटकथा ज्यादै धीमा छ, खुकुलो छ । सुरुआती आधा घन्टासम्म दनादन एक्सन आउँछ । लाग्छ, पक्कै केही खत्रा हुँदैछ, जसले पर्दामा ध्यान खिच्दै लानेछ । तर, जब मुख्य कलाकार एकै ठाउँमा आउँछन्, फिल्म कछुवाको चालभन्दा सुस्त हुन्छ । पटकथाकार सिराज अहमद घिसिपिटी ट्वीस्ट र प्रस्तुतिभन्दा रत्तिभर माथि उठ्न सकेका छैनन् । थ्रिलर र सस्पेन्स फिल्मप्रेमी मात्र होइन, रेसका अघिल्ला दुई संस्करण हेरेकालाई पनि कुनै ट्वीस्टले छुँदैन । घटनाक्रम अनुमानभन्दा खास बाहिर जाँदैनन् । अर्थात्, थ्रिलर जनराको आधारभूत साखसमेत बचेको छैन । त्यसमाथि बेतुकमा आइरहने गीतले फिल्मको बहाव अझ बिथोलेको छ ।

हिरोको मिसन भयंकर र विश्वसनीय हुँदा मात्र एक्सन प्रभावकारी लाग्छ । सलमानकै टाइगर जिन्दा हैलाई उदाहरण मान्न सकिन्छ । यो अहम् विशेषतालाई रेस ३ ले आत्मसात् गरेको छैन । कथालाई सशक्त बनाउने उद्देश्यले भन्दा फगत एक्सन सिक्वेन्सकै लागि मेलोड्रामा घुसाइएको छ । सलमानको परिवारप्रेम, सुरज–सञ्जनाको आक्रोश, यश (बबी देवल)को वफादारी, जेसिका (ज्याकलिन) को चरित्र अनि शमशेरको सन्तानप्रेम दर्शकसम्म प्रवाह हुन्न । भिलेन रानालाई त निर्देशकले कथा होइन, आफ्नो अनुकूलता अनुसार प्रयोग गरेका छन् । यद्यपि, कन्टेन्ट र प्रस्तुति सुख्खाप्राय: भए पनि फिल्मको प्राविधिक पक्ष उम्दा छ । दुबई, कम्बोडियादेखि थाइल्यान्डसम्म कैद गरिएका एक्सन दृश्य जबर्दस्त छन् । दुबईको एक्सन सिक्वेन्स इन्सेप्सन, द डार्क नाइटजस्ता ‘ए’ ग्रेडका हलिउड फिल्मका एक्सन निर्देशक टम स्थुर्ससको कोरियोग्राफी छ । ब्याकग्राउन्ड स्कोर र खिचाइ पनि अब्बल लाग्छ ।

स्टारडम त छँदैछ, मुद्दा बोकेको अर्थपूर्ण फिल्मतिर सलमानको झुकाव देखिन थालेको थियो । तर, यसपटक कथा र चरित्र छनोटमा चुकेका छन् । भलै, पर्दामा उनको उपस्थिति उति नै सानदार छ । अनिल कपुर आकर्षणको केन्द्रमा छन् । उनको हुलिया, चालढाल र संवाद बोल्ने शैली गज्जबको छ । यस फिल्मलाई बबी देवलको ‘कमब्याक’ मान्न सकिन्छ । ज्याकलिन, डेजी, शकिबलगायत कलाकार पनि अभिनयका हिसाबले कमजोर लाग्दैनन् । सात गीत छन्, तर ‘वाह !’ भन्न लायक एउटै छैन, न न्यारेटिभलाई उकास्नन कुनै भूमिका खेलेका छन् । यो फिल्म पटकथाकार र निर्देशकको साँघुरो सोच अनि स्टारमाथि निर्भर हुँदाको परिणाम हो भन्न किञ्चित हिच्किचाउनु पर्दैन ।

सलमानका ‘डाइहार्ट फ्यान’ को तैबिसेक चित्त बुझ्ला । बाँकीलाई रेस ३ ‘स्लो’ लाग्छ । पर्दामा फिल्म चलिरहँदा आफूलाई मोबाइल चलाउन मन लाग्छ ।

प्रकाशित: असार १, २०७५