[स्मरण] राजा महेन्द्रको कुर्सीमा व्यथित

- शिव रेग्मी

विसं ०२७ तिर रोयल नेपाल एकेडेमी नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान बनिसकेको थियो । कवि केदारमान व्यथित एकैचोटि त्यसको कुलपति हुन पुगे । त्यसअघि झन्डै एक दशक त्यो संस्था हाँकेका बालचन्द्र शर्मा भने उपकुलपति मात्र थिए । कुलपतिमा विराजमान राजा महेन्द्रले नै आफ्नो पद छाडिदिएका थिए व्यथितलाई । यसबाटै थाहा हुन्छ, उनी कति शक्तिशाली थिए ।

शक्ति र प्रशासन कसरी चलाउनुपर्छ भन्ने राम्रो अनुभव थियो व्यथितलाई । तर, कडा स्वभावका थिए, कसैलाई टेर्दैनथे । उनी ०२२ मा निर्माण तथा सञ्चारमन्त्री थिए । थापाथलीको पुल साँघुरो र जीर्ण भएकाले एकतर्फी सवारी साधन मात्र चलाइन्थ्यो । पुलको मुखमा एक प्रहरी रातो झन्डा लिएर बसेका हुन्थे र त्यही झन्डा हल्लाएर सवारी रोक्ने र पास गर्ने काम गर्थे ।

त्यही मन्त्रालय अन्तर्गत पोखरेल थरका प्रतिभाशाली इन्जिनियर काम गर्थे । त्यस दिन उनले रातो झन्डा हल्लाएको देखेनन् या गाडी पास गर्ने अनुमति पाएर पुलमा पसेका थिए, थाहा छैन । तर, विपरीत दिशाबाट मन्त्रीको झन्डा हल्लाउँदै आएको सवारी उनको नजिक रोकियो । त्यहाँ सवार मन्त्री व्यथितले मेरो गाडी आउँदा पनि नटेर्ने भनेर भोलिपल्टै तिनको जागिर खाइदिए ।

कुलपति भएपछि उनले विदेशी साहित्य अनुवाद गराई छपाए । तर, आफूअघिका उपकुलपति शर्माले भर्ना गरेका कर्मचारीलाई छानीछानी टुप्पी समाएर बर्खास्त गरे । त्यही घानमा परे, कवि बासु शशी । शर्माका दाहिने हात भए पनि शशी प्रतिभाशाली कवि थिए र अंग्रेजी अनुवादमा पोख्त पनि । तर, शर्माले नियुक्ति गरेको मानिस भएकै कारण त्यहाँबाट निकालिछाडे । शंकर लामिछानेका भाइ लक्ष्मणलाई भने निकालिहाल्न सकेनन् । तर, आफ्नो कार्यकालभरि जगेडामा थन्क्याइदिए ।

मैले चिनेका व्यथितमा अहंको मात्रा भने अपेक्षाकृत बढ्तै थियो । उनीसित शैक्षिक योग्यता थिएन । सायद पढालिखासामु उनलाई सम्भवत: हीनताबोध हुँदो हो । त्यसैले बासु शशीजस्ता व्यक्तित्वलाई पनि सीधै घरको टिकट काटिदिए । मन्त्री भइसकेका र राजाका अति निकट, त्यसमाथि राजाले खाएकै पद पाएर पनि हुन सक्छ ।

उनले बालकृष्ण समलाई समेत छाडेनन् । सम त्यहाँ उपकुलपति थिए । तर, व्यथितले आफ्नो कार्यकाल सकिएपछि पनि स्वत: कुलपति हुन पाउने समलाई उपकुलपतिमै झुन्ड्याइदिए । समलाई हदैसम्म दु:ख दिएका थिए भन्ने मैले सुनेँ ।

त्यसबेला स्वयम्भूमा बस्थे व्यथित । उनी ‘जरुरी काम छ भोलि बिहानै मेरो निवासमा आउनू’ भनेर समलाई अह्राउँथे । आफूबाहेक अरूलाई सवारी सुविधा पनि दिएका थिएनन् । समजी कति पटक आफ्नो निवास ज्ञानेश्वरबाट कुलपतिको आदेश कार्यान्वयन गर्न लुखुरलुखुर हिँडेरै स्वयम्भूसम्म पुग्थे । कार्यालयमा हुन सक्ने कामका लागि पनि उनले धेरै पटक समजीका जुत्ताका तलुवा फटाएका छन् ।

खासमा व्यथितले राजा महेन्द्रलाई रिझाएको पनि कविता वाचन गरेरै हो । उनी यति राम्रो अभिनयका साथ कविता वाचन गर्थे, त्यसैबाट मोहित भएर राजाले एकैपटक कुलपतिको कुर्सी जिम्मा लगाए । अर्को कारण, साहित्यिक संस्थान नामक प्रतिष्ठानमा कवि व्यथित हर्ताकर्ता थिए । राजालाई बोलाएर त्यसको उद्घाटन पनि उनैले गराएका थिए । त्यो संस्था पनि व्यथितलाई प्रज्ञा–प्रतिष्ठानमा उक्लिने भर्‍याङ हुन पुग्यो ।

गोविन्द गोठालेले उनका बारेमा लेखेको मैले कतै पढेको छु । त्यसबखत विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर र गणेशमानहरू निर्वासनमा थिए । यताबाट बनारस पलायन हुन हिँडेका व्यथितलाई नेपाल–भारतको सीमामा प्रहरीले पक्रिन खोजेछ । व्यथित आफ्ना खल्तीको पिस्तोल झिकेर प्रहरीको हातैमा पड्काएर फुत्किएछन् ।

उनको कमल दीक्षितसँग पनि राम्रो सम्बन्ध भएन । दीक्षितले लेखकै छन्, ‘उहाँ मदन पुरस्कारका लागि दर्खास्त हाल्नुपर्ने नियमका कट्टर विरोधी हुनुहुन्थ्यो । ...हामीले व्यथितजीको आग्रहलाई पूर्णत: अविश्वास गरेका थियौँ । फलत: उहाँका कुनै पनि किताबलाई पुरस्कृत गर्नबाट सधैँका लागि गुठी वञ्चित भयो ।’ तर, त्यसैको परिपूर्ति गर्न होला, ०४९ मा व्यथितलाई ‘जगदम्बाश्री’ले सम्मानित गर्‍यो, मदन पुस्कार गुठीले ।

कुनै समय राजनीतिमा चुर्लुम्म डुबेका व्यथितले राजनीतिलाई ‘शौचालय’को संज्ञा दिए । ०३५ मा अस्कल काण्ड हुँदा उनी गृहमन्त्री थिए । उनले विद्यार्थीमाथि यस्तो कठोर व्यवहार गरिनुहुन्न भन्दा राजीनामा नै दिनुपर्‍यो । उनी भन्थे, “म गृहमन्त्री थिएँ तर अस्कलमा यस्तो काण्ड घटिसकेछ, मलाई सुइँकै दिइएन, अनि कसरी मन्त्री पदमा बसिरहन सक्थेँ ?”

०३० तिर मैले व्यथितलाई रत्नपार्कमा भेटेको थिएँ । सिंहदरबार हुरहुरी बलिरहेको थियो । आगोको ज्वाला र धूँवाको मुस्लोले सारा आकाश ढाकेको थियो । अनि मैले उनलाई भनेँ, “कुलपतिज्यू सिंहदरबारमा त आगलागी भएछ नि †” उनले हातको इसाराले चुप लाग्नूस् भने र लामालामा पाइला चाल्दै सरासर बाटो लागे । मैले उनको मौनतालाई बुझ्न सकिनँ । म भद्रकालीमा उभिएर सिंहदरबार जलिरहेको भयंकर दृश्य हेरेर टोलाइरहेँ ।

प्र स्तुति : रमण घिमिरे

प्रकाशित: जेष्ठ ३०, २०७५

ट्याग: सस्मरण