लेखक बन्ने मनसुवा

- दिपक पौड्याल

रेडियोमा गुन्जिएका शब्द सुन्दा मीठो पछुतो भयो, लेख्छु भनेको गीत त पहिल्यै कसैले लेखिसकेछ । एक किसिमको ‘सेन्स अफ विलेटेडनेस ।’ साहित्यिक विधा पढ्दा त्यस्तै लेखौँ भन्ने रहर धेरैलाई हुन्छ । कतिले थाहा पाउँछन् आफ्नो चाहना, कतिले थाहा नपाएझैँ गरिदिन्छन् । यस्तो चाह बढ्नु अनौठो पनि होइन, जस्तो कि जीवनको चाह सबैलाई हुन्छ । लेखन हामीले बाँचिरहेकै जीवनको अभिव्यक्ति हो ।

लेखकहरु आफ्ना प्रत्येक लेखाइमा चाहेजस्तो जीवन बाँचिरहेका हुन्छन् । आफ्ना पात्रहरुबाट सामाजिक विकृतिलाई प्रहार गर्छन् । कहिले त रामराज्यकै कल्पना गर्छन् । अपूरो प्रेमले उपन्यासमा पूर्णता पाउँछ । जाली फटाहा पात्रहरु प्राय: दण्डित हुन्छन् । मन र मस्तिष्कका उभारहरु सेतो पानामा कञ्चन पानीझैँ सबैलाई भिजाउँदै बगिदिन्छन् । जीवनको सुरुआतदेखि उत्तरार्धकालसम्मको या भनौँ, जटिलतादेखि सफलताका अथाह संघर्ष आत्मकथामा समेटिएर समय रेखाभन्दा टाढासम्मलाई सिंगारिएर ज्योति प्रदान गरिरहन्छन् । भूत र भविष्यलाई वर्तमानको एउटै रेखामा कुदाइदिन्छन् लेखकहरु ।

हरिवंश आचार्यको चिना हराएको मान्छेमा एउटा प्रहसनको सन्दर्भ छ । त्यसमा पञ्चायतविरोधी आत्मासँगको छोटो संवाद छ, ‘तँ कहिले जन्मिएको ?’ जवाफ आउँछ– ‘२०१७ मा ।’ संवाद–संकेत बुझेपछि भोलिपल्ट प्रशासनले राज्यविरुद्ध प्रहार भनेर कार्यक्रम रोकिदियो । कार्यक्रम सुचारु गर्न अनुरोध गर्दा खबर आयो– ‘यो त सीधा पञ्चायतमाथिको हमला हो । त्यसैले त्यो संवाद परिवर्तन गर्नुहोस् ।’ भोलिपल्ट कार्यक्रम फेरि सुरु भयो संशोधित संवादसहित । ‘तँ कहिले जन्मिएको ?’ ‘म २०१६ र २०१८ को बीचमा ।’ आचार्यले यस कथानकलाई आफ्नो आत्मकथामा जीवन्तताका साथ संगालेका छन् । भाव र सन्देशलाई जसरी पनि व्यक्त गर्न सकिन्छ । तर, कर्ममा सत्यवादिता र हिम्मत चाहिन्छ ।

यस्तै पुस्तक, विद्वान्को सोच तथा अनेक सिद्धान्तको धरातल मात्र नभई आफना गुरु एवं मित्रको सल्लाहलाई पनि संगाल्दै कैयौँ पटक ऊर्जा बटुलेको छु, लेखक बन्ने । सोच्छु– ‘लेख्नलाई ठूलो विषयवस्तु वा घटना नै चाहिन्छ भन्ने छैन । एक बालुवाको कणमा संसार हुन्छ, त्यही काफी छ । आफूवरिपरिको परिवेश, सामान्य जीवनस्थिति अनि त्यसमा आफ्नो अनुभूति थप्दा लेखन जीवन्त बन्छ ।’ धेरै ऊर्जाशील भएको छु म ।

अर्को एउटा तथ्यलाई त झन् नकार्नै सकिँदैन । पूर्वीय परिवेशमा लेखनलाई ‘जन्मसिद्ध शक्ति’ मानिन्छ भने पश्चिमा मुलुकमा लेखनलाई ‘निरन्तर तालिम’ का रुपमा लिइन्छ । नियमित तालिमले लेखन कलामा पूर्ण बनाउँछ भन्ने कुरालाई उनीहरु स्वीकार गर्छन् । अनेक प्रयासपछि लेखन अब तालिमको उपज मात्र हो भन्ने कुरामा विश्वस्त हुन समय लाग्नेवाला थियो, किनकि कैयौँ पटक आफ्नै आँखामा असफल भइसकेको थिएँ । मभित्रको लेखकलाई अब बाहिर ल्याउन नसक्ने निष्कर्षमा पुगिसकेको थिएँ । अब यसलाई मैले बिर्सिसकेको थिएँ ।

लेख्ने रहर हुँदाहुँदै पनि विषयवस्तुको अभावमा मभित्रको लेखक मरिसकेपछि विषयवस्तुविहीन डायरी लेखन मेरो दैनिकी बनेको थियो, केही समयदेखि । लक्ष्यविहीन जीवनमा कुनै आकर्षक विषयवस्तु भेटिने सम्भावना नै थिएन भने शब्द र वाक्यांश नमिलेकामा पनि केही परवाह थिएन किनभने यो अरु कसैका लागि नभई नितान्त आफ्नै लागि लेख्दै थिएँ । मैले लेखेका कुरा अरु कोहीसँग मिल्न जाँदा पनि मलाई डर थिएन । मेरो दिनचर्या प्रत्येक साँझ डायरीमा उतार्थें, त्यो कसैसँग मिल्न जानु मेरो दोष थिएन । मेरो डायरीको अन्तिम पानामा आजको मिति लेखेर अगाडिका पानाहरुलाई एकपटक फरर्र पल्टाएँ । अचम्म, सयपाने डायरीका कुनै पनि पाना खाली थिएनन् । यत्रो डायरीमा के लेखियो, यति भरिने गरी ? कसरी सम्भव छ, शब्दले डायरी भर्न । जबकि, म प्रत्येक दिन विषयवस्तुको खोजीमा डुबिरहेको हुन्थेँ ।

के मैले हेरिरहेको यो डायरी भ्रम हो ? त्यो पनि होइन । कसरी भरिए, डायरीका यी पानाहरु ! त्यसो भए लेख्नलाई विषय नै चाहिँदैन ? अनेक तर्क–वितर्क दिमागमा घुम्न थाले । के हामी बाँचिरहँदा आफूले फेर्ने साससँग हामी प्रत्येक पटक सचेत हुन्छौँ ? आफैँलाई सोधेँ । झट्ट उत्तर पनि आइहाल्यो– पर्दैन सचेत हुन, यो प्राकृतिक नियम हो, आफैँ चल्छ । मनका कति कुना हुन्छन्, थाहा छैन । तर, एक कुनाबाट अर्को आवाज चिच्यायो, विषयवस्तु लेखनको सास हो भने यो पनि स्वत:स्फूर्त आउनुपर्छ लेखनमा । भर्नुपर्छ यसले पनि लेखनको जीवन । प्रतीकको आवाज अनि आफ्नाअगाडि आफैँले लेखेर भरिएको डायरीले मलाई नराम्ररी कुतकुत्यायो ।

अन्तिम पानामा आज लेखिसकेको मितिलाई बीचबाट एक सीधा धर्काले काटेर सोचेँ– आज डायरी होइन, एउटा निबन्ध नै लेख्छु । डायरीलाई उही वाल्मीकि टेबलमा राखेर ल्यापटपको पावरबटन खोलेँ । स्क्रिनमा विभिन्न आइकन देखिए । माइक्रोसफ्ट वर्ड २०१० खोलेर भाषालाई फन्ट र साइज मिलाएँ । आगोमा हालिएको फलामको टुक्राझैँ राप्पिएको छ, दिमाग । यसरी मनभित्रका अनेक गुम्फनलाई पोख्ने मेरो प्रयासलाई ल्यापटप सघाउन तयार भएको छ । अनि, लेखक बन्ने मेरो मनसुवा अब किबोर्डका अक्षरसँग संवाद गर्ने मुडमा छ ।

प्रकाशित: जेष्ठ ३०, २०७५