‘आख्यान मेरो मैदान होइन’

- मनबहादुर बस्नेत

परिचित पत्रकार हुन्, मोहन मैनाली । तर, उनको यो पहिचानलाई लेखकको परिचयले छोप्दै लगेको छ, बिस्तारै । घुमघाममा रमाइरहने मैनाली डुल्दाडुल्दै किताब बुनिसकेका हुन्छन् । मान्ठा डराएको जुग, उपल्लो थलो यात्राकै क्रममा रचिएका पुस्तक हुन् । फेरि अर्को थान किताब थपेका छन् उनले– देखेको देश । देशमा उनले के देखे ? के लेखे ? यसै सन्दर्भमा मैनालीसँगको कुराकानी : 

देखेको देशमा के छ ?

हामी बसेको ठाउँका बारेमा छ । हिमाल छ, समाज छ र भूगोल छ । हामी कुन समाजमा कसरी बाँचेका छौँ भन्ने छ । केही विकासको कुरा पनि गरेको छु । हामी समृद्ध मुलुक भनिरहेका छौँ तर हाम्रो विकास प्रक्रिया कतातिर जाँदैछ भन्ने पुस्तकमा छ ।

हाम्रो विकास प्रक्रिया कता जाँदै रहेछ ?

क्षणिक विकासतिर जाने डर छ । बाटो खन्दैछौँ । तर, त्यो भत्काएको जस्तो छ । त्यसैलाई विकास भनिरहेका छौँ । 

पुस्तक कसरी तयार भयो ?

आफूले देखिरहेका कुरालाई लेख्दै गइयो । हामीकहाँ नेपाल बुझ्ने, बुझाउने किताब थोरै छन् । मैले यसअघि लेखेका किताब पनि निश्चित विषयमा केन्द्रित थिए । समग्र कुरा बुझाउने थोरै किताब भएकाले यो लेख्न कस्सिएँ । 

आख्यानको बजार राम्रो छ । तर, तपाईं गैरआख्यानमा रमाइरहनुभएको छ, किन ?

अहिले विश्वकप लाग्यो भनेर चेस खेलाडी मेसी बन्न मैदानमा उत्रिँदा जे हालत हुन्छ, आख्यान लेख्दा मेरो हविगत त्यही हुन्छ । आख्यान मेरो मैदान होइन ।

गैरआख्यान रुचिकर बनाउन के गर्नुपर्छ ?

सूचनामा मात्रै जोड दियो भने अप्ठेरो हुन्छ । रोचक तरिकाले प्रस्तुत गर्नुपर्छ । रोचक बनाउने, कौतूहल जगाइरहने आख्यानात्मकको शैली गैरआख्यान लेखकले अँगाल्दा हुन्छ । झिंझो लाग्ने कुरा राखिराख्ने लोभ गर्नुहुँदैन । अनि, गैरआख्यान रोचक विधा बन्छ । 

गैरआख्यानका लक्षित पाठक को हुन् ?

योचाहिँ मैले छुट्याउन सकेको छैन । सोच्दै नसोचेकाले पढेको भेटेको छु । बजारमा दिइसकेको कुरा कसले पढ्छ र पढ्दैन भन्न नसकिने रहेछ ।

गैरआख्यानको पाठक र बजार चित्तबुझ्दो छ ?

बढ्दैछ । हामीले गुणस्तर सुधार्दै गएका छौँ । पुस्तकालय पनि थपिँदै छन् । सन्तुष्ट नै छु । तर, अझै अगाडि जान सकिन्छ । 

यसलाई अगाडि बढाउन के गर्नुपर्ला ?

लेख्दाखेरी नै ध्यान दिनुपर्छ । जानकारी र कन्टेन्ट नहुँदा पनि जबर्जस्ती लेखियो भने किताबप्रति नै निराशा बढाउँछ । अधिक जानकारीलाई आख्यानात्मक शैलीमा लेख्दा पाठक बढ्छन् । रिडरसिप क्लब बढाउनुपर्छ । किताब पढ्ने एक्लै हो । तर, किताबमाथि विमर्श सामूहिक गर्नुपर्छ ।

गैरआख्यानको कमाइबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

यसबाट कमाइको आशा नगरेकाले म सन्तुष्ट छु ।

तर, मिहिनेत केका लागि भन्ने भाव आउला नि ?

आफू जीवित पत्रकार हो भनेर चिनाउन पनि लेख्नुपर्छ । आफूसँगको जानकारी अरूलाई दिनु उसको प्राथमिक दायित्व हो । समाज, आफ्नो पेसाप्रतिको दायित्व पूरा गर्दा हिसाबकिताब गरिँदैन । 

पत्रकारले गैरआख्यान लेख्नु जरुरी छ ?

एउटा भारतीय म्यागेजिनमा पढेको थिएँ, आजभोलि धेरै किताबका पाण्डुलिपि न्यूजरूममा लेखिँदैछन् । सूचना, विचारसँग सधैँभरि लागिराख्ने काम पत्रकारको हो । बृहत् जानकारी हुन्छन् । ठाउँ र कामको प्रकृतिका कारण समाचार या फिचरमा सबै जानकारी दिन सकिँदैन । किताबमा लेखिनुपर्ने सामग्री पत्रकारसँग बढी हुने हुँदा त्यो जरुरी छ । 

पुस्तक लेख्दा विषयमा ध्यान दिनुहुन्छ कि भाषाशैलीमा ?

दुवै बराबरी हुन् । विषय भएन भने किताब काम लाग्दैन । घच्चीको विषय छ तर भाषाशैली, प्रस्तुति झुर छ भने त्यसले तान्दैन ।

प्रकाशक फेरिरहनुको कारण ?

यसैसँग हुनुपर्छ भन्ने सम्झौता गरेको छैन । एक–दुई बसाइमा प्रकाशकले छापौँ भन्छन्, म नाइँ भन्न सक्दिनँ । पैसाको डिलमा कुरा नमिलेर प्रकाशक फेरेको होइन ।

[ यो पनि पढ्नुहोस् : [तीन किताब] हामी त पढ्यो, पढ्यो बिर्सियो ]

प्रकाशित: जेष्ठ ३०, २०७५