आवरण कथा» अपांगता बोझ होइन, ओत

- गोकर्ण गौतम

यो संसार कस्तो होला, गोविन्द आचार्यले देख्नै पाएनन् । जन्मिँदै आँखाको ज्योति गुम्यो । प्रत्येक पल अर्काको सहारा चाहिने । सबैले माया गरेजस्तो गर्थे तर त्यो देखावटी सहानुभूति मात्र हुन्थ्यो । हुर्कंदै गए । ‘बाबुआमा हुन्जेल त पाल्लान्, त्यसपछि त यो बच्चोको बिजोग हुन्छ’ बरोबर यस्तै सुन्नुपथ्र्यो । छटपटी र औडाहा हुन्थ्यो तर के गर्नु ! आँखा फिटिक्कै देख्दैनथे । भाग्यलाई धिक्कार्‍यो, बस्यो । अर्घाखाँचीको दुर्गम भेग अर्घाअधेरीमा जन्मिएका गोविन्दसँग अर्को विकल्प थिएन पनि ।

एसएसली पास गरेर भर्खरै कलेज भर्ना भएकी थिइन्, रामेछाप बेतालीकी लक्ष्मी घिमिरे । घाँस काट्न जंगल गएकी थिइन् । अग्ला–अग्ला डाँडाकाँडा र भीर । भारी पुग्नै लागेको थियो, एक्कासि भीरबाट खसिन् । २९ दिनपछि होस् आउँदा त वीरेन्द्र सैनिक अस्पताल, छाउनीको बेडमा । होस् त आयो तर त्यसपछि फेरि बेहोसजस्तै हुनुपर्ने भयो । उनको कम्मरमुनिको भाग चेतनाशून्य, चल्दै–नचल्ने । जतिबेला उनी जीवनका उल्लासमय १५औँ वसन्त पार गर्दै थिइन् । अर्थात्, उड्ने पन्छीको पखेटा चुँडियो । त्यसपछि त विरक्ति र निराशा मात्र । केही बन्छु र गर्छु भन्ने सबै आँट मरेतुल्य भए ।

सबैलाई लाग्दो हो, गोविन्द र लक्ष्मीको हालत कति नाजुक होला ! आफ्नै जिन्दगीसँग कति घृणा होला ? परिवार र आफन्तको बोझ बन्नुपर्दा कति पीडा होला ? कमाइ के होला ?  आँखा नदेख्ने अनि आधा शरीर नचल्ने न परे । तर, वास्तविकता भिन्न छ । दुवैले लोभलाग्दो सफलता चुमेका छन् । जस्तो : गोविन्द रत्नराज्य क्याम्पसमा नेपाली विषयमा प्राध्यापनरत छन् । लक्ष्मी विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयकी फ्रन्ट डेस्क प्रमुखका रूपमा कार्यरत छन् । अर्थात्, परिवार, समाज वा उनीहरू आफैँले चिन्ता गरेजस्तो कसैको बोझ बन्नुपरेको छैन । बोझको के कुरा, परिवारका अन्य सदस्यको ओत बनेका छन् । स्वावलम्बी त हुँदै हुन् ।

गोविन्द र लक्ष्मी मात्र होइन, स्पाइनल कर्ड इन्जुरी भएका राम गोले, ३५, दृष्टिविहीन निर्मला ज्ञवाली, ३५ र पोलियोपीडित रामचन्द्र कार्की, ४१, पनि यस्तै साहसिला पात्र हुन्, जसले कहिल्यै हरेस खाएनन् । अपांगताका बाबजुद आफूलाई सक्षम र अब्बल रूपमा प्रमाणित गरे । अरूबाट सहारा लिएनन्, अरूलाई सहारा पनि दिइरहेका छन् । अरूसँग आश्रित होइन बरु आफूसँग अरू आश्रित छन् । जोसँग अपांगताको हीनताबोधको क्लेससम्म छैन । निर्मला भन्छिन्, “अपांगता होइन, फरक क्षमता भएका हौँ हामी ।”

शिक्षणबाटै सबल

सबलांगले झैँ पारिवारिक र सामाजिक दायित्वबोध गरेको छु । त्यसैले आफ्नै लागि शारीरिक अपांगताबाट मुक्त हुन्छु ।

गोविन्द आचार्य

गोविन्द दस वर्ष पुगिसकेका थिए तर  कखरा जानेका थिएनन् । अर्घाखाँचीको विकट गाउँमा आजभन्दा साढे चार दशकअगाडि दृष्टिविहीनले पढ्ने मौका कहाँबाट पाओस् ? साथी–संगी स्कुल जाने, रमाउने, खेल्ने, आफू घरमै थन्किनुपर्ने ! औडाहा हुन्थ्यो गोविन्दलाई । परिवारलाई पनि पीडा थियो । अति भएपछि, ०३३ को एक दिन उनी काठमाडौँ आए अनि दृष्टिविहीनलाई पढाउने कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा भर्ना भए । उनी विगत सम्झिन्छन्, “बुबा–दाइले बनारसमा आँखा नदेख्नेले पढाएर जीविका चलाएको देख्नुभएको रहेछ । त्यही भएर मलाई पनि पढाउन काठमाडौँ ल्याउनुभयो ।”

“ब्रेल सिक्नै एक वर्ष लाग्यो । त्यसपछि एकै पटक ४ कक्षामा भर्ना भएँ । अनि, बिस्तारै आँटले डेरा जमाउन थाल्यो,” उनी भन्छन् । सबै किताब ब्रेलमा उपलब्ध हुँदैनथे, साथीभाइलाई बोलेर पढ्न अनुरोध गर्थे । किताब उपलब्ध गर्ने जिम्मा गोविन्दको, पढिदिने काम साथीहरूको ।

ल्याब्रोटरीको दृष्टिविहीनमैत्री माहोलले पनि आफूमा आत्मविश्वास पैदा भएको लाग्छ, उनलाई । नभन्दै ०४२ मा एसएलसी पास गरिहाले । पढ्न मन थियो, कानुन तर प्राविधिक समस्या आइलागेपछि शिक्षा संकायमा भर्ना भई पढ्न थाले । आफैँले पढाउने आरआर क्याम्पसको कक्षा–कोठामा गोविन्द भन्दै थिए, “पढाइ राम्रो भयो भने सफलताका लागि आँखा बाधक बन्दैन भन्नेमा ढुक्क थिएँ । त्यसैले किताबमा मात्रै ध्यान हुन्थ्यो ।” भयो पनि त्यस्तै । क्याम्पस पढिरहँदा एक निजी स्कुलमा पढाउने अवसर पाए । हिजोसम्म रहेको थोरै हीनताबोध  साहस र शक्तिमा बदलियो ।

एकपटक सुनेका धेरै कुरा याद हुन्छ उनलाई । शिक्षण पेसामा आबद्ध भएको दुई दशक भयो, विद्यार्थीबाट कहिल्यै गुनासो सुन्नुपरेको छैन । व्याकरणका जटिल नियमसमेत विद्यार्थीलाई सहजै रूपमा लेखाउन र बुझाउन सक्छन् । केही–कतै हेर्नुपर्दैन । भन्छन्, “मस्तिष्क नै मेरो नोट हो ।” आरआर क्याम्पसमा पढाउन थालेकै ९ वर्ष भयो, गत वर्षबाट स्थायी नै भए ।

विवाह गरेकै २४ वर्ष भयो । पत्नी र दुई छोरी छन् । एउटी छोरी बीएस्सी नर्सिङ पढिरहेकी छन्, अर्की बीबीए । पारिवारिक आयस्रोतको भरोसा हुन्, गोविन्द । ‘नेपालीका प्रगतिवादी खण्डकाव्यका प्रवृत्ति’मा विधावारिधि सकिसके । फुटकर रचनाका अलावा सिमाना र चराहरू (२०५९) कवितासंग्रह प्रकाशित छ । अर्थात्, आफ्नो आँखाको ज्योति नभए पनि हजारौँमा शिक्षाको ज्योति फैल्याउँदै परिवारसमेतलाई छहारी दिइरहेका छन् । त्यसैले त गर्वसाथ भन्छन्, “एउटा सबलांगले झैँ पारिवारिक र सामाजिक दायित्वबोध गरेको छु । त्यसैले आफ्नै लागि शारीरिक अपांगताबाट मुक्त हुन्छ ।”

साहस नै सबथोक

अपांगता भएका व्यक्तिलाई सहानूभूति होइन, प्रभावकारी सीप र दक्षता आवश्यक रहेछ भन्ने महसुस भयो ।

लक्ष्मी घिमिरे

पाँच सय मिटरमाथि भीरबाट खस्दा लक्ष्मीको कम्मरमुनिको भाग मात्र होइन, आँट र आत्मविश्वास पनि गुम्यो । जब एक वर्षको अस्पताल बसाइबाट घर फर्किइन्, संसार निष्पट्ट अँध्यारो लाग्न थाल्यो । अरूको घाँडो भइन्छ भन्ने चिन्ता मात्र । त्यसअगाडि उनले त्यस्तो शारीरिक अवस्था भएका कसैलाई चिनेकीसमेत थिइनन् । तर, आफैँलाई वज्रपात आइलाग्यो । दुनियाँमा सबैभन्दा दु:खी आफैँ लाग्थ्यो ।

खान, सुत्न, कपडा लगाउन, जे–जसो गरे पनि अर्काको सहयोग चाहिने । पढाइ पनि छुटिहाल्यो । उनकै शब्दमा, ती दिन सम्झिँदा अझ पनि शरीरमा काँडा उम्रिन्छ, मुटु काँप्छ । एक दिन आफैँलाई प्रश्न सोधिन्, यसरी कतिन्जेल चल्छ ? त्यसैले अध्ययनलाई निरन्तरता दिन काठमाडौँ आउने निर्णय गरिन् । गाउँमा ह्विलचेयरबाट स्कुल जाने सम्भावना थिएन । परिवारको साथ छँदै थियो ।

सुरुमा काभ्रे साँगास्थित स्पाइनल कर्ड इन्जुरी पुन:स्थापना केन्द्रमा पुगिन् । त्यहाँ उनलाई आफ्नो काम आफैँ गर्ने र स्वावलम्बी हुन सिकाइयो । आफूजस्तै शरीरको आधा भाग नचल्ने अरूहरूलाई पनि भेटिन् । खुसी र सफलता चुम्ने आँट गरिन् । कम्प्युटर र कार्यालय व्यवस्थापनको प्रशिक्षण लिइन् । मन हल्का शीतल भयो, साहस आयो । त्यसपछि जोरपाटीस्थित चामुण्डा कलेजमा व्यवस्थापन संकायतर्फ ११ कक्षामा भर्ना भइन् । खुट्टाले गर्नेबाहेक अन्य काम गर्न सकिहालिन्छ, किन सुर्ता मान्नु ? विस्तारै सकारात्मक सोच पलाउन थाल्यो उनमा ।

त्यहीबेला राष्ट्रिय अपांग पुन:स्थापना समाजमा कम्प्युटर सिकाउन थालिन् । व्यस्तता बढ्यो, पकेट खर्च जुट्न थाल्यो । त्यसभन्दा ठूलो कुरा, नयाँ मान्छेसँगको संगतले सोचको दायरा फराकिलो भयो, हीनताबोध हरायो । भन्छिन्, “अपांगता भएका व्यक्तिलाई सहानूभूति होइन, प्रभावकारी सीप र दक्षता आवश्यक रहेछ भन्ने महसुस भयो ।” हो पनि ।

सबलांग हुँदा लक्ष्मीले बास्केटबल देखेकी थिइनन्, अपांगता भएपछि खेल्नै थालिन् । मनोरञ्जन र शारीरिक व्यायाम मात्र होइन, आत्मविश्वासको मूल बनेको छ, बास्केटबल । यता, बीबीएस अन्तिम वर्षमा पुग्यो, उता विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा जागिर पाइन्, त्यो पनि खुला आवेदनबाट छानिएरै । अहिले आफ्नो खर्च मात्र होइन, दाइका छोराछोरीलाई समेत सँगै राखेर पढाइरहेकी छन् ।

हिजो थलिएकी छोरीको आज यस्तो चकाचक । परिवार दंग छ । “बुबाको चाह छ, मैले सरकारी जागिर खाऊँ । तर, मलाई राजनीति गर्ने जोस पलाइरहेको छ,” भन्छिन्, “जागिरले आफ्नो जीवनशैली बदलिएला, राजनीतिबाट देशकै मुहार फेर्न सकिन्छ ।”

पढाइ, कमाइ, खेल अनि इच्छाशक्ति सबथोक छ उनीसँग । दिमाग उस्तै तेज । नचल्ने त त्यही कम्मरमुनिको भाग न हो । के छैन भनेर चिन्ता मान्ने होइन । भएको क्षमतालाई सदुपयोग गर्नुपर्छ । सबथोक पाइन्छ । उनको जीवन भोगाइले यस्तै कहन्छ ।

इच्छाशक्तिकी पर्याय

मसँग धेरै विकल्प हुँदैनथे । एकाग्र भएर पढनुपथ्र्यो । त्यही भएर नतिजा  पनि राम्रो आउँथ्यो ।

 निर्मला ज्ञवाली

निर्मला ज्ञवालीले जन्मिँदै दृष्टि गुमाइन् । गाउँघरमा कसै–कसैले भनिदिन्थे, पूर्वजन्मको पाप हो । अझ उनका दिदी र दाइ पनि जन्मजात दृष्टिविहीन । एकातिर नदेख्ने पीडा, अर्कातिर समाजको कटु बोली । बालखैमा यस्तो दोहोरो तापमा पिल्सिनुपर्‍यो निर्मला । तर, जब ६ वर्षको उमेरमा गुल्मीको चारपालाबाट काठमाडौँ आइन्, जीवनप्रति प्रेम र आशा पलाउँदै गयो । आजसम्म निरन्तर छ । नहुनु पनि कसरी ! दृष्टिविहीन भएर पनि उनले चुमेको सफलता जोकोहीका लागि लोभलाग्दो र प्रेरणायोग्य छ ।

काठमाडौँ आएर ब्रेल सिकिन् र कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा पढ्न थालिन् । त्यहाँ सबै नेत्रहीन विद्यार्थी । कक्षा ४ पास गरेपछि उनलाई सामान्य स्कुलमा पढ्ने अवसर मिल्यो । देख्नेहरूमाझ आफू नदेख्ने हुँदा कमजोर हुने त होइन ? डर नभएको होइन उनमा । तैपनि, उनले आँट गरिन् र आइडियल मोडल स्कुल, झम्सिखेलमा कक्षा ५ मा भर्ना भइन् ।

६ सय विद्यार्थीमा उनी मात्र दृष्टिविहीन । अचम्म भइदियो, अक्सर उनी प्रथम/द्वितीय हुन थालिन् । भन्छिन्, “मसँग धेरै विकल्प हुँदैनथे । एकाग्र भएर पढ्नुपथ्र्यो । त्यही भएर नतिजा पनि राम्रो आउँथ्यो ।” नभन्दै पहिलो श्रेणीमा एसएलसी पास गरिन्, त्यो पनि आफूभन्दा कनिष्ठ कक्षामा पढ्ने विद्यार्थीलाई लेख्न लगाएर ।

यहाँसम्म आइपुग्दा निर्मलामा हन्डर खाइए पनि सफल भइन्छ भन्ने आत्मबल विकास भइसकेको थियो । केही गर्ने ‘इगो’ पनि थियो सायद । त्यसैले समाजशास्त्र र अंग्रेजी साहित्य पढ्न थालिन् । त्यतिबेला उनलाई लाग्थ्यो, दृष्टिविहीनले शिक्षण मात्र गर्न सक्छन् । एक दिन संयोगले एफएममा अन्तर्वार्ता दिन पुगिन् । त्यसपछि बल्ल चाल पाइन्, रेडियोमा बोल्ने मात्र रहेछ, रेडियोमा पनि काम गर्न सक्छौँ । त्यसको केही महिनामा रेडियो सगरमाथामा कार्यक्रम नै सञ्चालन गर्न थालिन् । खर्च जुट्न थाल्यो । साहस अझ थपियो । साथी–संगत बढ्यो । आक्कलझुक्कल अंग्रेजी अनुवाद गर्न थालिन् । उच्चशिक्षाका लागि अमेरिका जाने अवसर जुर्‍यो, २००४ तिर ।

अमेरिका पुगेपछि यस्तो ‘एक्स्पोजर’ मिल्यो, दृष्टिविहीनले गर्न नसक्ने केही रहेनछ भन्नेमा ढुक्क भइन् । त्यहीं अवसर थियो उनलाई  । तर, नेपालमै केही गर्नु थियो, आफूजस्तै अपांगता भएकालाई सीप र अवसर जुटाउने उत्कट चाह थियो । सोही कारण २७ महिने अमेरिका बसाइपछि स्वदेश फर्किइन् । तर, यहाँ आएर झन्डै एक वर्ष रोजगारी मिलेन । सीधा नभने पनि घुमाउरो पारामा दृष्टिविहीन भएकै कारण रोजगार गुम्थ्यो उनको ।

अपांगता भएका व्यक्तिको हितका लागि सक्रिय निर्मला भन्छिन्, “तर कहिल्यै हरेस खाइनँ । उपयुक्त अवसरको पखाइमा रहेँ ।” त्यो समय पनि आयो, उनी खुला आवेदनबाटै अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)मा सांस्कृतिक अभिमुखीकरण प्रशिक्षकमा छनोट भइन् । कार्यक्षेत्र थियो, झापा । दृष्टिविहीन भएकै कारण उनको क्षमतामाथि आशंका गरिन्थ्यो । तर, बोली होइन कामले प्रमाणित गर्दै गइन् निरन्तर । उनी सुनाउँछिन्, “झापातिर मलाई आईओएमको आँखा नदेख्ने कर्मचारी भनेर चिनिन्थ्यो । पढे–लेखेकाहरूले पनि मेरो योग्यतामाथि विश्वास नगर्दा अचम्म लाग्थ्यो ।”

सबै चुनौती पन्छाउँदै ६ वर्ष आईओएममा काम गरिन् । तीन वर्षयता सक्षमता विकास समाज नेपालकी कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । कमाइ त छँदैछ, त्यसभन्दा बढी आत्मसन्तुष्टि मिल्छ, जब अपांगता भएका अन्य व्यक्तिलाई साथ र हौसला दिन पाउँछिन् । धेरै दृष्टिविहीनका लागि उनी मार्गनिर्देशक पनि बनेकी छन् । परिवारसँग मिलेर भर्खरै घर किनिन् । न जीवनसँग गुनासो छ, न त समाजसँग । आफ्नो अनुभव सुनाउँछिन्, “दृष्टिको अभाव प्रत्येक क्षणमा खट्किए पनि त्यसमै अड्किएर बस्दिनँ । आवाज र स्पर्शबाटै काम गर्न थाल्छु । आजसम्मको सफलता यही इच्छाशक्तिको प्रतिफल हो ।”

दुर्घटना नै उपहार

दुर्घटना नभएको हुँदो हो त, तरकारी व्यापारी र मिस्त्री काममै सीमित हुन्थे । पढाइ थिएन, अरू काम गर्ने आँट आउँदैनथ्यो ।

राम गोले

सिन्धुपाल्चोक बलेसी स्थायी घर भएका राम गोले भक्तपुर ठिमीमा बस्थे । बिहान साढे २ बजे उठेर तरकारी बेच्न लगनखेलतिर पुग्थे । ९ बजेसम्म त्यतै बित्थ्यो । त्यसपछि मिस्त्री काम सुरु हुन्थ्यो । यसरी नै बितिरहेका थिए, उनका दैनिकी । तर, १८ पुस ०६७ मा उनको जीवनमा वज्रपात आइलाग्यो । गाडी रिजर्भ गरेर खासा घुम्न निस्केका थिए साथीहरूसँगै । फर्कंदा चौवन्न किलो भन्ने ठाउँमा दुर्घटना भयो । आधा शरीर चल्नै छाड्यो अर्थात्, उनी स्पाइनल कर्ड इन्जुरीबाट प्रताडित भए । त्यसपछि त अन्धकार नै अन्धकार ।

भक्तपुर बसेर गर्न सक्नु केही थिएन । त्यसैले गाउँ फर्किए । तर, उनको शारीरिक अवस्था  गाउँलेलाई रमिताजस्तो भइदियो । टोकेसो उस्तै । त्यस्तो श्रम गर्ने मान्छे ह्विलचेयरमा थन्किनुपर्दा मन भतभती पोल्ने भइहाल्यो । जबकि, पत्नी, दुई छोराछोरी र आमाबाबु मात्र होइन, सासू–ससुराको हेरचाह गर्नुपर्ने उनकै दायित्व थियो । तर, हालत त्यस्तो ! बालबच्चाको पढाइसमेत बिग्रियो । गाउँलेहरू उनकै अगाडि भन्न थाले, “अब तिम्री बूढी पोइल जान्छे ।” विगत दिन सम्झिन्छन्, “बाँचेर परिवारको घाँडो हुनुभन्दा मर्छु भन्ने सोचाइ आउँथ्यो । आत्महत्याको प्रयाससमेत गरेँ ।” तर, मर्न कहाँ त्यति सजिलो हुन्छ र †

आज उनै राम त्यो दुर्घटना आफ्ना लागि वरदान सावित भएको सगर्व बताउँछन् । भएको पनि त्यस्तै छ । गाउँमा बस्दा शारीरिकसँगै मानसिक पीडा थपिएपछि परिवारसहित उनी काठमाडौँ आए । हिँड्न नसक्ने भएपछि बसेर के–के गर्न सकिन्छ, ध्यान दिन थाले । ६ महिना थाङ्का आर्ट गरे । आफूजस्तै अपांगता भएका बालबालिकालाई थाङ्का सिकाउन थाले । त्यही बेला साँगास्थित स्पाइनल कर्ड इन्जुरी पुन:स्थापना केन्द्रबाट बोलावट भयो । शान्ति सेवागृह, तिलगंगामा सिलाइ–बुनाइ र पेन्टिङसम्बन्धी सीप सिके । त्यतिबेलासम्म कमाइ शून्य । पत्नी सानुमाया तामाङ बनेपामा ज्यामी काम गर्थिन् । सात महिनासम्म केन्द्रमा स्वयंसेवकको काम गरे । त्यसपछि बल्ल खाम बनाउने टेलरको काम पाए । मासिक तलब ६ हजार रुपियाँ । राम भन्छन्, “त्यसपछि बल्ल जीवनप्रति आशा पलायो ।”

जीवन जसोतसो चल्दै थियो, एक दिन स्पाइनल कर्ड इन्जुरीसम्बन्धी जनचेतना फैलाउने सोच पलायो उनमा । काभ्रेको नमोबुद्धबाट लुम्बिनीसम्म ३ सय ६६ किलोमिटर ह्विलचेयर यात्रा गर्ने निधो गरे । १० चैत ०७० बाट सुरु भएको यात्रा ५ वैशाख ०७१ मा टुंगियो । टिममा उनका सहायक पनि थिए तर ह्विलचेयर प्रयोगकर्ता उनी मात्र । उनको यो यात्राले देश/विदेशमा काफी चर्चा पायो । विस्तारै उनले भेउ पाउँदै गए, ‘नसक्ने ठाउँमा अरूको सहायता लिएर, सक्ने ठाउँमा आफैँले काम गर्नुपर्छ । पहिले पनि खुट्टाले होइन, हात र दिमागबाट काम हुन्थ्यो । अहिले पनि सबल छन् ।’

यतिबेला उनी केन्द्रमा दौतरी परामर्शदाताका रूपमा कार्यरत छन् । गत माघमा लुम्बिनीदेखि भारतको बोधगयासम्म ह्विलचेयरमै यात्रा गरे । भन्छन्, “आँट्यो भने जे काम पनि गर्न सकिँदो रहेछ ।”

उनलाई लाग्छ, दुर्घटना नभएको हुँदो हो त, तरकारी व्यापारी र मिस्त्री काममै सीमित हुन्थे । पढाइ थिएन, अरू काम गर्ने आँट आउँदैनथ्यो । अहिले दामसँगै नाम पनि कमाएका छन् । धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् । नयाँ मान्छेअगाडि बोल्न धक लाग्दैन । दुर्घटनामा परेपछि बुबाआमा बरोबर रोइरहन्थे, अहिले खुसी छन् । ज्वाइँको ‘नयाँ अवतार’ देखेर सासू–ससुरा पनि दंग । पहिले–पहिले गाउँ जाँदा खिसीट्युरी सहनुपथ्र्यो, अहिले योगा सिक्न झुम्मिन्छन् । पहिले छोराछोरी सरकारी विद्यालयमा पढ्थे, अहिले निजीमा । बनेपामा घर बनाउँदैछन् । आफ्नै जीवनकथालाई मर्मस्पर्शी शैलीमा बुनेर उनले गाएको गीत उस्तै लोकप्रिय छ, युट्युबमा । भन्छन्, “अनि, दुर्घटना मेरा लागि उपहार भएन त !”

आफ्नै प्रयासको प्रतिफल

नयाँ सीपले सम्पर्क र आत्मविश्वास बढ्न थाल्यो । आफैँ​ कमाएर बाँच्न सकिन्छ भन्नेमा निश्चिन्त हुन थालेँ ।

रामचन्द्र कार्की

सिन्धुपाल्चोकका रामचन्द्र कार्की जन्मिँदा तन्दुरुस्त थिए । तीनवर्षे हुँदा टाइफाइड भयो, समयमै उपचार पाएनन् । पोलियोग्रस्त भए । एउटा खुट्टा चल्दै चल्दैन, अर्को थोरै चल्छ तर सहारा दिँदैन । हरेक काममा ह्विलचेयर प्रयोग गर्नुपर्छ । तर, परिश्रमसामु कसको के लाग्छ, अपांगता हुँदा पनि पत्नी र दुई सन्तानको टेको बनेका छन् ।

न पढ्न पाए, न कुनै सिप सिक्न । १७ वर्ष घरभित्रै रुमल्लिरह्यो जीवन । आजित भइसकेका थिए । कहाँ, कसरी अगाडि बढ्न सकिन्छ, केही मेलोमेसो थिएन । कष्टकर बित्दै थिए दिन । यस्तैमा एक दिन थाहा पाए, नेपाल अपांग समाजले नि:शुल्क मैनबत्ती बनाउने तालिम दिँदैछ । उनी बस्थे, बल्खु । तालिम हुन्थ्यो, बबरमहलमा । ह्विलचेयर चलाउन भर्खरै सिकेका थिए । सार्वजनिक बसले चढाउँदैनथ्यो । अन्य विकल्प थिएनन् । त्यही भएर हरेक दिन बल्खुबाट बबरमहल आइपुग्थे, ह्विलचेयरमै ।

डेढ घन्टा लाग्थ्यो, बल्खु–बबरमहल ह्विलचेयर यात्रा । तर, कुनै दिन छुटाएनन् । विगत  सम्झिन्छन्, “घरमा थन्किनुभन्दा पसिना बगाएर हिँड्दा मज्जा लाग्थ्यो । सिक्न पाए केही कमाउँथे भन्ने आशा थियो ।” भयो पनि त्यस्तै । तालिम सकिनासाथ अपांग समाजमै प्रशिक्षकको काम पाए । तलब थियो, महिनाको १ हजार २ सय रुपियाँ । स्वावलम्बनको यो शृंखलाले गति लिन थाल्यो ।

हिँड्न नमिल्ने भएकाले बसेर हातबाट गर्न मिल्ने अन्य कामको खोजीमा लागे । चक, खाम, फाइल बनाउने प्रशिक्षण लिए । भन्छन्, “नयाँ सीपले सम्पर्क र आत्मविश्वास बढ्न थाल्यो । आफैँ कमाएर बाँच्न सकिन्छ भन्नेमा निश्चिन्त हुन थालेँ ।” एक दशकयता नेपाल अपांग समाजको बाइन्डिङ, छपाइ तथा प्रकाशन समूहका संयोजकका रूपमा कार्यरत छन् । सुरु–सुरुका दिनमा काम खोज्दै ह्विलचेयरमा विभिन्न अफिस र कारखाना धाउँथे । तर, माग्ने भनेर पैसा दिन खोज्थे । एक खालको अपमानै थियो त्यो । समाजका ठालूहरूमै अपांगता भएका व्यक्ति आफैँ काम गर्न सक्छन् भन्ने चेतनाको खडेरी छ । तर, हार खाएनन् । आफ्नो बजार आफैँले विस्तार गरे । खाम, बिल, फाइल बनाउने काम बढ्दै गए ।

यतिबेला उनी संयोजक रहेको समूहमा आठ जनाले रोजगारी पाएका छन् । सबलांग र अपांग मिलेर काम गर्छन् । भक्तपुरबाट अफिस रहेको भृकुटीमण्डपमा नियमित चारपांग्रे स्कुटरमा ओहोरदोहोर गर्छन् । छोरा कक्षा ७ मा पढ्छन्, छोरी ५ मा । सुख–दु:ख चलिरहेकै छ । कम्तीमा अहिले कमजोर छु भन्ने भावना हटिसकेको छ उनमा । अझ धेरै गर्ने ऊर्जा छ । भन्छन्, “हामीलाई सहानुभूति र ओठे–माया होइन, काम चाहिएको छ ।”

प्रकाशित: जेष्ठ २९, २०७५