विश्वकप नखेलेरै पनि फाइदामा चीन

- पवन आचार्य

आर्थिक शक्ति र जनशक्तिले फुटबल जितिँदो हो त नेपालका छिमेकी चीन र भारतले यसअघि नै विश्वकप उचालिसकेका हुन्थे । तर, यी दुवै शक्तिराष्ट्रले फुटबलको महाकुम्भको अनुभवसमेत हासिल गर्न सकेका छैनन् । सन् १९५० को विश्वकप छनोटमा अन्य राष्ट्रले सहभागिता जनाउने निर्णय नगरेपछि भारत विश्वकपका लागि स्वत: छनोट भएको थियो । यद्यपि, अन्तिम समयमा भारत, टर्की र स्कटल्यान्डले विश्वकपबाट हात झिके ।

उक्त संस्करणको विश्वकपमा जम्मा १३ राष्ट्रले सहभागिता जनाए । ‘दि रेड ड्रागन’ले चिनिएको चीनको हकमा विश्वकप सहभागिता अझै टाढा छ । सन् २००२ मा जापान र कोरियामा भएको विश्वकप समूह ‘सी’ मा अटाएको चीनले ब्राजिल, कोस्टारिका र टर्कीसँगको खेलमा ९ गोल खाँदा एक गोल पनि फर्काउन सकेन ।

मैदानमा खेलाडीको सहभागिता मात्रै होइन, दर्शकको सहभागिता पनि अनौठो छ । अघिल्लो वर्ष ब्राजिलले आयोजना गरेको विश्वकप फुटबल सबैभन्दा धेरैले हेरे । विश्वका ३ अर्ब २० करोड दर्शकले कुनै न कुनै माध्यमबाट ब्राजिल विश्वकप नियाले ।

जनसंख्या धेरै भएकाले पनि हुन सक्छ, विश्वकप हेर्ने सबैभन्दा धेरै दर्शक चीनका छन् । २५ करोड ५२ लाख ३० हजार चिनियाँ दर्शकले अघिल्लो विश्वकप हेरे । यो उसको कुल जनसंख्याको १८ दशमलव १ प्रतिशत हो । विश्वकप फुटबल धेरै हेर्नेको सूचीमा छैटौँ नम्बरमा छ, भारत । भारतमा अनलाइन र मोबाइलबाट हेर्नेको संख्या २८ करोड रहेको छ । तापनि, चीनमा फुटबल सर्वप्रिय छैन । मार्सल आर्ट्सपछि चीनमा सबैभन्दा रुचाइने खेल ब्याडमिन्टन हो ।

त्यसो त चीनले फुटबलमा आफूलाई शक्तिराष्ट्रका रूपमा उभ्याउन खोजेको धेरै भयो । चिनियाँ राष्ट्रपति सी जिनपिङले फुटबल क्षेत्रमा मुलुक शक्तिशाली भएको हेर्ने सपना पालेका छन् । उनले चीनलाई फुटबलको ‘सुपर पावर’ बनाउने रोडम्यापसमेत तयार गरेका छन् ।

सन् ०५० मा विश्वकप उचाल्ने सपना बुनेका उनले त्यसअघि विश्वकपमा छनोट र महाकुम्भको सफल आयोजना गर्ने सोच पालेका छन् । फिफा वरीयताको ७३औँ स्थानमा रहेको चीनले अहिलेकै रफ्तारमा त्यस्तो छलाङ मार्न सम्भव देखिएको छैन ।

यति हुँदाहुँदै पनि २१औँ संस्करणको विश्वकपबाट फाइदा उठाउने राष्ट्रमा आयोजक रुससँगै चीन पनि हुनेछ । ३१ जेठमा मस्कोमा सुरु हुने विश्वकप फुटबलमा केही अनौठा नामसँग साक्षात्कार गर्नुपर्नेछ । विश्वका चर्चित ब्रान्ड भिसा, एडिडास कोकाकोलासँगै मेंगन्यु, याडिया र वान्डाजस्ता बिलकुलै नयाँ नाम पनि दर्शकले हेर्नुपर्ने हुन्छ । डेरी प्रडक्ट, विद्युतीय स्कुटर र सिनेमा घरका ब्रान्ड हुन् ती । तिनले त्यस्ता देशलाई प्रतिनिधित्व गर्छन्, जसको राष्ट्रिय फुटबल टोलीले अझै विश्वकपमा एउटै गोल गर्न सकेका छैनन् । रुस विश्वकपमा छानिएका ३२ राष्ट्रमा नअटाए पनि फुटबलमा आफ्नो सुनौलो भविष्य देख्न नछाड्ने राष्ट्र हो, चीन ।

फिफा र स्वयं रुस विवादको घेरा र चरम राजनीतिक खिचातानीमा परेकाले पनि पश्चिमा कम्पनीले यसपटकको विश्वकप प्रायोजनमा अरुचि देखाए । भ्रष्टाचार आरोपमा फिफाका अध्यक्ष सेप ब्लाटरसँगै विश्व फुटबलका ३० जना हस्ती पदमुक्त हुनुपर्‍यो । त्यस्तै, रुसले सिरिया र युक्रेनको आन्तरिक राजनीतिमा देखाएको चासोले पनि पश्चिमा ठूला ब्रान्ड यसपटकको विश्वकपमा जोडिन चाहेनन् ।

फिफाले सन् २०१४ को ब्राजिल विश्वकपबाट उठाएको झन्डै ५ अर्ब डलरमध्ये डेढ अर्बभन्दा बढी कर्पोरेट प्रायोजन रहेको थियो । फुटबल हेर्ने दर्शकको संख्या बढिरहँदा पनि फिफाले सन् २०११ यता पश्चिमा प्रायोजक त्यति धेरै जुटाउन सकेको छैन । सन् २०१६ मा त फिफाले ३६ करोड ९० लाख डलर बराबरको घाटा बेहोरेको थियो ।

अघिल्लो संस्करणको विश्वकपमा प्रतियोगिता सुरु हुनु ६ महिनाअघि नै सबै प्रमुख प्रायोजकको टुंगो लागे पनि रुसमा सोही समयमा एक दर्जन प्रायोजकबारे निर्णय हुन बाँकी थियो । अझ, क्षेत्रीय स्तरका र स्थानीय प्रायोजक जुटाउन रुस असफल रहेको छ ।

चीनको सबैभन्दा ठूलो सञ्जाल भएको सिनेमा घरको ब्रान्ड वान्डाले फिफासँग २ वर्षअघि १५ करोड डलरको सम्झौता गरेको थियो । वान्डाका कार्यकारी अधिकृत वाङ जियानलिनले त्यतिबेला भनेका थिए, “भ्रष्टाचार काण्ड र आर्थिक अनियमिततामा फिफा चुर्लुम्म डुबेका बेला पश्चिमा कम्पनीले हात झिकेपछि हामीले मौका पाएका हौँ । हामीजस्तै अरू चिनियाँ कम्पनीले फिफासँग प्रायोजन सम्झौता गरे फुटबलको लोकप्रियता बढाउन मद्दत पुग्ने थियो ।” त्यसको १८ महिना नबित्दै चिनियाँ कम्पनी हाइसेन्स, भीभो, मेंगन्यु र याइडा पनि विश्वपकमा जोडिन पुगे ।

विश्वकपमा जोडिएपछि चिनियाँ कम्पनीलाई कति फाइदा पुग्छ, त्यो समयले बताउने नै छ । विश्वकपमा जोडिनु भनेको उनीहरूका लागि मात्र प्रायोजन सम्झौता पक्कै होइन । विश्वविख्यात ब्रान्डसँग आफूलाई उभ्याउँदा हुने फाइदासँगै चीन रुससँग विश्वव्यापी रूपमै व्यापार विस्तार गर्न चाहन्छ । यसको सीधा अर्थ विश्वव्यापार पश्चिमबाट पूर्वतिर सर्दै जाँदैछ भन्ने सन्देश दिनु पनि हो ।

बेलायतको म्यानचेस्टरमा अवस्थित सालफोर्ड विश्वविद्यालयका प्राध्यापक सिमोन चाडविकका अनुसार चीनले रुस विश्वकपमा सघाउनुको एक मात्रै उद्देश्य पक्कै छैन । भूराजनीतिलाई उपयोग गर्न माहिर दुई शक्तिराष्ट्रको व्यापारिक मिलनले पनि संसारमा हलचल पैदा गर्न सक्छ । उनी भन्छन्, “चीन विश्वकपमा प्रायोजन गरेर फिफालाई सघाउन मात्रै खोजिरहेको छैन । फिफामा आगामी १० वर्षमा आफ्नो प्रभाव पनि बढाउन चाहन्छ । र, ऊ छिट्टै आफ्नो भूमिमा विश्वकप आयोजना गर्न चाहन्छ ।”

चीनले लामो समययता ‘स्टेडियम कूटनीति’ सञ्चालन गर्दै आएको छ । उसले अफ्रिका र ल्याटिन अमेरिकामा फुटबल स्टेडियम निर्माण गरेर त्यहाँको प्राकृतिक सम्पदामा आफ्नो पहुँच विस्तार गर्दै आएको छ । गत वर्ष अफ्रिका कप अफ नेसन्स आयोजना गरेको गाबनमा चीनले स्टेडियम निर्माण गरिदियो । कारण, गाबन तेलखानी भएको मुलुक हो ।

चीनलाई राम्ररी थाहा छ– फुटबल मात्रै त्यस्तो विश्वव्यापी भाषा हो, जसले विश्वका हरेक व्यक्तिलाई निकट ल्याउँछ । चीन आफैँ पनि यो भाषा चाँडोभन्दा चाँडो सिक्न चाहन्छ ।

अन्तत: विश्वकप उचाल्ने उत्कट अभिलासा छ । त्यसका लागि राष्ट्रपति सीले सन् २०२५ मा चीनलाई फुटबलको शक्ति राष्ट्र तुल्याउन ८ सय अर्ब डलर खर्चिने जनाइसकेका छन् । खेलकुदमा विश्वले खर्चिने बजेटभन्दा पनि बढी हो, यो । त्यस्तै, चिनियाँ व्यापारिक घरानाले पनि २ अर्ब ५० करोड डलर युरोपेली क्लबमा लगानी गरिसकेका छन् । उनीहरूको लगानी म्यानचेस्टर सिटीदेखि एसी मिलान र एसके स्लाभिया प्रागदेखि फ्रान्सको एफसी सोएक्ससम्म विस्तार भइसकेको छ ।

लगानीका हिसाबले चीन निकै अघि आए पनि फुटबलमा शक्ति राष्ट्र बन्न उसलाई त्यति सजिलो छैन । विश्लेषकहरू सन् २०३० अघि विश्वकप चीनमा नभित्रिने बताउँछन् । र, चीनले बुझ्न जरुरी छ, फिफाको सदस्य राष्ट्र २ सय ११ मध्ये ८ वटाले मात्र अहिलेसम्म विश्वकप जितेका छन् । पैसाको खोलो बगाउँदैमा फुटबलमा नयाँ–नयाँ प्रतिभाको जन्म हुँदैन भनेर बुझ्न यो नै पर्याप्त प्रमाण हो । तर, चीन अझै हार मान्ने पक्षमा छैन । चीनले फुटबलको विकासका लागि ५० बुँदे रोडम्याप नै तयार पारिसकेको छ । २० हजार प्रशिक्षण केन्द्र, ६० हजार नयाँ मैदान र ५ करोड चिनियाँ नागरिकलाई सन् २०२० सम्म फुटबल प्रशिक्षित तुल्याउने योजनामा सरकार तल्लीन छ ।

तर, यति कुराले मात्र चीनलाई विश्वकपमा पुर्‍याउँदैन । किनभने, फुटबलका लागि आवश्यक पर्ने संस्कार चीनले अझै विकास गर्न सकेको छैन । इतिहासमा कहिल्यै फुटबलमा सफल हुन नसकेको दागलाई मेटाउन चीनको एउटा पुस्ताले कडै मिहिनेत गर्नुपर्नेछ । यही बाटोमा हिँड्न चीनका लागि रुस विश्वकप सबैभन्दा सजिलो र उत्तम बाटो बन्न सक्छ । पश्चिमा प्रायोजकले हात झिकिदिएपछिको अवस्थामा चीनको प्रवेश त्यसैको एउटा पाटो हो । नत्र चीनले सन् ०१६–१७ को सत्रमा ४० करोड डलर खर्च गरेर फुटबलका चर्चित हस्ती कार्लोस टेभेज र ओस्कारजस्ता खेलाडीलाई मुलुकमा झिकाउने थिएन ।

इंग्लिस क्लबमा गरेको लगानीले र विदेशी खेलाडीलाई मुलुकमा झिकाउँदा फुटबलको फ्यान कल्चर बढ्ने अनुमान चीनले गरेको थियो । राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्ने अपेक्षा चीनको थियो । तर, गत मार्चमा वेल्ससँगको मैत्री खेलमा ६–० को फराकिलो अन्तरमा पराजित भएपछि चीन झस्किएको छ ।

प्रकाशित: जेष्ठ २९, २०७५

ट्याग: खेलकुद