युद्ध स्मृतिका आयामहरू

- भास्कर गौतम

‘सबै किसिमका सम्झौता र छलफलपछिको ठोस उपलब्धि भनेको आक्रोशित बेरोजगार सिपाही र मृतक मात्र हुन् ।’ बेलायती साम्राज्यका लागि कार्यरत आयरल्यान्डका विलियम ओरपेनले यस्तो भनेका थिए । २२ जेठदेखि लन्डनमा अवस्थित टेट ब्रिटेनमा अफ्टरमाथ : प्रथम विश्वयुद्धपछिको कलाशीर्षकको प्रदर्शनी भइरहेको छ । उक्त प्रदर्शनीमा सन् १९१६ देखि १९३२ सम्मका धेरै कलाकृतिसँगै ओरपेनका तीन वटा सिर्जना राखिएका छन् ।

‘फ्रान्समा गुमनाम बेलायती सेनाहरूका लागि’ शीर्षकको आफ्नो कलाकृतिको अर्थ खुलाउने सन्दर्भमा ओरपेनले सामान्य लडाकुका दु:खबारे कुरा उठाएका थिए । झन्डै सय वर्षअघि उनले गरेको टिप्पणी नेपालबाट गोर्खा भर्तीमा गएका सिपाही वा माओवादी लडाकुका लागि उत्तिकै सान्दर्भिक छ । अफ्टरमाथ कला प्रदर्शनीले समेटेका युद्धका असर र युद्ध–स्मृति वरिपरिका विषयवस्तुलाई सन्दर्भ बनाएर नेपालको संक्रमणकालीन न्यायबारे पुन:विचार गर्न सकिन्छ ।

ओरपेनकै कलाकृतिको सन्दर्भबाट प्रारम्भ गरौँ । प्रथम विश्वयुद्धताका उनी बेलायती साम्राज्यको सेवामा फ्रान्समा कार्यरत थिए । उनले मूलत: युद्धका लागि भौगोलिक नक्सा बनाउने काम गरे । युद्धपछि उनलाई ‘इम्पेरियल वार म्युजियम’ले पेरिस शान्ति सम्मेलनको कलाकृति बनाउन खटायो । सन् १९१९ मा शान्ति सम्मेलनमा राजनीतिक नेतृत्वप्रति उनको मोह भंग भयो । त्यस सम्मेलनले सामान्य सिपाहीको दु:खलाई नजरअन्दाज गर्दै राजनीतिज्ञको उच्च मूल्यांकन गरेको उनले देखे । त्यसबाट असन्तुष्ट भएपछि उनले गुमनाम सेनाको दृष्टिकोणलाई केन्द्रमा राख्दै कलाकृति बनाए ।

‘फ्रान्समा गुमनाम बेलायती सेनाहरूका लागि’ शीर्षकमा ओरपेनले बनाएको कलाकृति विवादास्पद रह्यो । शान्ति सम्मेलन भइरहेको हलमा उनले एउटा लासको बाकस बनाए । त्यसलाई झन्डाले बेरेको कल्पना गरे । लासको बाकस छेउमा त्यसलाई रक्षा गरिरहेका दुई सिपाहीको धमिलो आकृति बनाए ।

सन् १९२३ मा रचिएको उक्त कलाकृतिलाई सिपाहीका परिवार र युद्धबाट प्रभावित जनगणले धेरै रुचाए । यो तस्बिरले ‘वर्ष तस्बिर’का रूपमा समेत मत पायो । तर, वार म्युजियमका तत्कालीन अधिकारीले भने यो तस्बिर रुचाएनन् । त्यसबेलाका स्थापित कला समालोचकले पनि उनको विगत कोट्याउँदै यो कलाकृतिको आलोचना गरे । त्यसको ६ वर्षपछि मात्र तस्बिरले वार म्युजियममा प्रवेश पायो ।

प्रथम विश्व युद्ध अन्त्यको औपचारिक घोषणा १९१८ नोभेम्बरमा भयो । तर, युद्धलाई कसरी बुझ्ने, विषय वरिपरि चर्को मतभेद रह्यो । सय वर्षपछि समेत केही विवाद साम्य भएका छैनन् । विश्व युद्धको पहिलो शताब्दीको सम्झनामा यो प्रदर्शनी भइरहेको छ । अफ्टरमाथ कला प्रदर्शनीको उद्देश्य बेलायत, फ्रान्स र जर्मनीको समाजमा युद्धले पारेको प्रभावलाई कलाको माध्यमबाट सम्झिनु हो ।

प्रदर्शनीको प्रचार सामग्रीमा खुलाएजस्तै यसका केही सीमा छन् । युद्ध औपनिवेशिक कालमा भएको थियो । त्यसैले युरोपकेन्द्रित युद्धको प्रभाव युरोपमा मात्र सीमित थिएन । एसिया र अफ्रिकासमेत प्रभावित थिए । नेपाली समाज धेरै किसिमले प्रभावित थियो । यद्यपि, कला प्रदर्शनीले समग्र कलाक्षेत्रमा परेको प्रभावबारे होइन, केवल लन्डन, पेरिस र बर्लिनमा भइरहेका कला सिर्जनाबारे बोल्छ । सम्भवत: प्रथम विश्व युद्ध देखे–भोगेका मानिस संसारमा जीवित छैनन् । तर, यी कलाकृतिले मानव समाजलाई गरिरहेको एउटा टड्कारो प्रश्न यस्तो छ– अगाडि बढ्न विगतलाई कसरी हेर्ने ?

भिन्न दृष्टिकोण

विगतबारे यी कलाकृतिमा तीन वटै देशमा भिन्न दृष्टिकोण पाइन्छ । यद्यपि, केही आधारभूत चासो भने समान छन् । सबै देशमा युद्धको प्रभाव व्यापक रहेकाले राजनीतिक अस्थिरता थियो । मानिसको जीवन संकटमय रह्यो । स्वचालित हतियार प्रचलनमा आइसकेकाले युद्धमा धेरैले ज्यान गुमाए । करिब एक करोड मानिस मारिए । थप दुई करोड अंगभंग भए । तुलनात्मक रूपमा फ्रान्स र बेल्जियमका धेरै भूभागलाई युद्धले जर्जर बनायो । यस्तो सर्वव्यापी प्रभावको भौतिक र भावनात्मक पक्षलाई क्यानभासमा कैद गर्नु चानचुने कुरा होइन । तर, अफ्टरमाथले तिनैमध्येको महत्त्वपूर्ण कलाकृतिलाई प्रदर्शनीमा राखेको छ ।

तीन वटै सहरमा रचिएका कलाकृतिमा भने भिन्न विषयवस्तुले प्राथमिकता पाए । युद्धपछिको समाजले ती देशहरूमा फरक दृष्टिकोण समातेकाले भिन्न विषयवस्तुले ठाउँ पाए । कम्तीमा कलाकृतिको माध्यममा त्यो प्रस्ट छ । त्यस्तै, सीप र रचनात्मकता प्रयोग पनि बेग्लै छ ।

बेलायतले युद्ध जितेको थियो । जितको उन्माद कलाकृतिमा छर्लंगै देखिन्छ । बेलायतमा धेरै कलाकृतिले कि त सहरी जीवनको तामझाम, कि त गाम्रीण जीवनको आनन्दलाई उतारे । सहरका मानिस रात्रि जीवनमा रमाउन थाले । ज्याज संगीत भर्खरै उदाउँदै थियो । त्यसको आनन्द लिन थाले । त्यसैले रात्रि जीवनको नाचगान र मनोरञ्जन अधिकांश कलाकृतिका विषयवस्तु बने ।

सहरको तामझाममा रमाएकाहरूका लागि ग्रामीण जीवनप्रतिको रोमान्स पनि सुरु भयो । युद्धपूर्व गाउँ शान्त र सुखी भएको कल्पना गर्न थालियो । गाउँको स्वर्गसमान आनन्दलाई पुन: स्थापित गरिनुपर्छ भन्ने मान्यताले ठाउँ पायो । त्यसैले ग्रामीण जीवनसम्बन्धी धेरै कलाकृतिले यस्तै आभास दिन्छन् ।

फ्रान्सेली समाज युद्धबाट धेरै प्रभावित रह्यो । फ्रान्सेली गाम्रीण जीवनको प्रस्तुतिमा बेलायतको जस्तो मनोरम दृश्य कैद छैन । कृषकहरूको कष्टकर जीवन उतारिएको छ । उनीहरूका श्रम र सीपलाई कलाकृतिको केन्द्रमा राखिएको छ । युद्धको समयमा कृषि उत्पादन अत्यधिक प्रभावित भएकाले कृषक खेती–किसानीमा फर्किएका आकृतिले क्यानभास भरिएका छन् ।

तथापि, युद्ध–स्मृतिलाई लिएर बेलायत र फ्रान्सका कलाकृतिमा सुनसान चिहानको आकृति वा स्मारकमार्फत गुमनाम सिपाहीलाई सम्झिएको पाइन्छ । तर, युद्ध अन्त्य कहिले भयो र त्यसको वरिपरि राष्ट्रिय स्मृति दिवस कहिले मनाउने भन्ने विषयलाई लिएर जर्मनीमा लामो विवाद चल्यो । सन् १९३१ सम्म युद्ध–स्मृतिको अभ्यासले कुनै राष्ट्रिय मान्यता पाउन सकेन । त्यसैले विभिन्न सहर र गाउँमा स्थानीय प्रकृतिका स्मृति–सभाहरू आ–आफ्नै पाराले भए । तीमध्ये धेरै ठाउँमा ढुंगा, माटो वा अन्य वस्तुको सालिकभन्दा जर्मनहरूले भौतिक शरीरसँग जोडेर युद्ध–स्मृति मनाउन थाले ।

जर्मनीका प्राय: कलाकृति धेरै दृष्टिकोणबाट बेलायत र फ्रान्सका भन्दा गहन छन् । एउटा आकृतिमा दुवै आँखा र एउटा हात गुमाएका पूर्वसिपाही मेसिनमा काम गरिरहेका छन् । उनले कृत्रिम हात जोडेका छन् । युद्धमा शारीरिक पीडा भोगेका, मानसिक तनाव झेलेका साथै दु:ख पाएका उनीजस्ता सिपाही युद्धपछि कसरी नयाँ दु:ख झेलिरहेका छन् भन्ने आभास यस कलाकृतिले दिन्छ । त्यस्तै, युद्धपछि महिला–श्रम यौन बजारमा जान बाध्य भएका र पुरुष–श्रम आधुनिक मेसिनको सिकार भएका आकृति एउटै क्यानभासमा उतारिएको छ । अन्य केही कलाकृतिमा युद्धपछि व्यापारीले धेरै धन आर्जन गरेको तर युद्धताका त्याग र बलिदान गरेका सिपाही अंगभंग भएर बेरोजगार बनेका दृश्य कैद छन् ।

जर्मनीका अधिकांश कलाकृतिमा युद्धपछि बढ्दो क्रममा रहेको वर्गीय विभेद उतारिएको छ । समाज धेरै विभाजित बन्दै गएको सन्देश प्राय: क्यानभासमा छर्लंग छ । जर्मनीको सन्दर्भमा हिटलरको उदय वा त्यतिबेलाको बढ्दो आर्थिक एवं सांस्कृतिक विभेदलाई सम्झिँदासमेत युद्धपछिका कलाकृतिले यही विषयवस्तुलाई समातेका थिए भन्न सकिन्छ । अर्थात्, कलाकारहरू समाजप्रति उत्तिकै उत्तरदायी थिए ।

नेपालीको सन्दर्भ

नेपालको सन्दर्भमा गोर्खा सेनातर्फ फर्किने हो भने नेपालभित्र वा बाहिर यस विषयलाई लिएर सिपाहीले भोगेका दु:ख, उनीहरूको शारीरिक पीडा वा मानसिक तनावले प्राज्ञिक कर्म वा कला–साहित्यमा पाउनुपर्ने स्थान पाएको छैन ।

गोर्खा सैनिककै सवालमा विश्व स्तरमा गरिएको बलिदान र उनीहरूले भोगेका दु:खलाई राष्ट्रिय स्तरमा कसरी हेर्नेबारे आधारभूत सहमति छैन । गाउँ–समाजमा लाहुरे प्रथाले पारेको चौतर्फी प्रभावबारे अहिलेको पुस्ताले केही जान्न चाहे भने उच्च स्तरको कुनै संग्रहालय छैन । हाम्रा अधिकांश संग्रहालयमा कि त राजा–महाराजा, कि त ‘देवी–देउता’ विराजमान छन् । सर्वसाधारणको जीवनले खासै स्थान पाएको छैन । त्यसैले वर्तमानमा न्यायमूलक समाजको कल्पना गरिरहँदा नेपाली शासकको अनुत्तरदायी ऐतिहासिक चरित्रलाई बिर्सन सकिन्न ।

सत्य निरुपण तथा मेलमिलापको विषय वा बेपत्ताको सवाल पुन: बल्झिएको समय हो यो । अफ्टरमाथ कला प्रदर्शनीले समेटेका विषयवस्तुको यहाँ ठूलो महत्त्व छ । त्यस्तै, गोर्खा सेनाको दु:खदायी जीवनसँग गाँसिएका आन्तरिक र बाह्य पक्ष पनि उत्तिकै सान्दर्भिक छन् । यस्तोमा शक्ति–सम्बन्धलाई ध्यानमा राख्दै सबैले सोध्नुपर्ने टड्कारो प्रश्न यस्तो हो, नेपाली समाजलाई संक्रमणकालीन न्यायको आवश्यकता किन पर्‍यो ? हामीले न्याय नभनेर संक्रमणकालीन न्याय किन भन्यौँ ?

विद्यमान न्याय प्रणाली युद्धकालको हिंसा, अपराध र मानव अधिकारको उल्लंघन सम्बोधन गर्न सक्षम थिएन । त्यसैले संक्रमणकालीन न्यायको प्रावधान राखियो । परिणाम संक्रमणकालका लागि विशेष न्याय व्यवस्थाको कल्पना गरियो । तर, दस वर्षमा त्यसले खासै काम गरेन । मूलत: दण्डहीनताको विगतले संक्रमणकालीन संरचनालाई पहिला त बन्नै दिएन । जहाँ–जहाँ त्यस्ता संरचना बने, त्यहाँ पनि पुरानै मूल्य–मान्यता र कार्यशैली हावी रहे । किनकि, स्थायी संस्थापनको स्वार्थ सम्बन्धलाई पर्दापछाडिबाट सेनाले चलाए । दण्डहीनतालाई थप बल पुग्यो । माओवादी पनि संस्थापनको हिस्सा बन्न आतुर देखिए । अन्य दलहरूले लोकतान्त्रिक कार्यपद्धतिलाई आत्मसात् गर्न सकेनन् । परिणाम सत्य निरुपण तथा मेलमिलाप आयोगले न त सत्यको खोजी गर्न सक्यो, न त विगतका विभेदलाई सम्बोधन गर्दै कुनै मेलमिलापको नै प्रस्ताव गर्न सक्यो । बेपत्ता आयोगले विगतका ज्यादतीबारे तात्विक रूपमा केही गर्ने मेसो पाएन ।

संक्रमणकालीन न्याय राष्ट्रिय रूपमा असफल भइरहँदा कम्तीमा लेखक तथा कलाकारले समाजमा भइरहेका गहन परिवर्तन वरिपरि कला–साहित्यको रचना गर्ने कामलाई नयाँ उचाइ दिन सक्थे । प्राज्ञहरूले सर्वसाधारणको भोगाइलाई ज्ञान उत्पादनको केन्द्रमा ल्याउन सक्थे । समाजमा विद्यमान विभेदको जरालाई समातेर शक्ति–सम्बन्धको पाखण्डी चरित्रलाई नंग्याउन सक्थे– सम्भवत: जर्मनमा जस्तै ।

तर, हाम्रो सांस्कृतिक कर्मको काल्पनिकीमा एकातिर शासकीय भूत हावी छ भने अर्कातर्फ त्यसको दायरा साँघुरो छ । त्यसैले शासकीय भूतलाई लखेट्ने वा त्यसलाई खेद्ने कार्यमा हाम्रो रचनागर्भ मूलत: प्रतिक्रियात्मक बन्दैछ । यसबाट निस्कन सामूहिक पहल जरुरी छ । अफ्टरमाथजस्तो कला प्रदर्शनीबाट आगामी दिनका लागि लिने सन्देश यही हो ।

प्रकाशित: जेष्ठ २८, २०७५

ट्याग: विचार