[टिप्पणी] मर्जरमा एकेडेमी : ठट्टा, लज्जा र रोइलो

- हरि अधिकारी

साहित्य एकेडेमीले नाटक, कला र संगीत आदि क्षेत्रलाई आवश्यक ध्यान दिन नसकेको र साहित्यिक गतिविधिले बढी महत्त्व पाएजस्तो लागेर गणतन्त्रपछि दुई एकेडेमी गठन थपिए । छुट्टाछुट्टै एकेडेमी गठन गरिए पनि तिनले उपादेयता प्रमाणित गर्ने प्रयासै गरेनन् । अधिकांश नियुक्ति गलत भए । उपयुक्त नीति, योजना, कार्यक्रम र बजेटमा कसैले ध्यान दिएन । दुवै संस्था सत्ताधारीका प्रिय तर अयोग्य कार्यकर्ताको चरनमा परिणत भए । त्यसैले अहिले ती दुवैलाई साहित्यिक एकेडेमीमै मर्ज गर्ने प्रयत्न भएको हुनुपर्छ । सैद्धान्तिक रूपमा मर्जरलाई राम्रो मान्न सकिन्न तर यथास्थितिमै तिनको सञ्चालन गर्नु पनि स्रोत–साधनको अपव्यय मात्र हुनेछ ।

[यो पनि पढ्नुहोस् : अप्ठेरोमा एकेडेमी]

देशमा हरेक क्षेत्रमा लाभका पद (उच्च प्राज्ञिक क्षेत्रका पदसमेत) योग्यलाई पन्छाएर अयोग्य, राजनीतिक चाकर र आफन्तलाई दिने प्रचलन स्थापित भएको छ । यसरी नै चालबाजहरूको हालिमुहाली भइरहने हो भने गरिब राज्य अन्तर्गत कुनै नामका एकेडेमी पनि राखिरहन हुँदैन भन्ने मेरो धारणा छ । अविश्वासको एउटा कारण त साहित्य एकेडेमीका अहिलेको परिषद् सदस्यहरूको अनुहार नै हो । नयाँ दुई प्रज्ञा–प्रतिष्ठानले आपसमा झगडा, अफिस चलाउने ठाउँको खोजी र गुनासा अनि बजेट छैन भनेर रोइलो गरेरै आठ वर्ष बिताए । हाम्रा एकेडेमीहरू ठट्टा र लज्जा दुवैका विषय बनेका छन् ।

अब कस्तो एकेडेमी बनाउनुपर्ला भन्नेमा राय दिनु नै बेकार छ । किनकि, सुधार हुन सक्दैन । एकेडेमी त आफ्ना मान्छेलाई जागिर खुवाउने अखडामा बदलिएका छन् । सबैखाले प्रज्ञा–प्रतिष्ठान खारेज गर्ने भन्ने कुरा सम्भव हुँदैन भने सरस्वतीका पवित्र मन्दिरलाई तिनको गरिमा अनुसार सञ्चालन गर्ने प्रयास गर्नुपर्‍यो । तिनमा नियुक्ति गर्दा सरस्वतीकै चोली उतार्ने काम गर्नुभएन ।

 (कुराकानीमा आधारित)

प्रकाशित: जेष्ठ २८, २०७५