टिम ओली : को–को छन् ओलीको टोलीमा ?

प्रधानमन्त्री ओलीले ‘थिंक ट्यांक’ समूह गठन गर्ने तयारी गरिरहेका छन् । सचिवालय सानै बनाउने तर थिंक ट्यांकको समूह मजबुत बनाउने प्रधानमन्त्री ओलीको योजना रहेको उनीसँग भेट गरिरहने नेकपाका एक पोलिटब्युरो सदस्यको भनाइ छ ।

- माधव बस्नेत

हरेक मन्त्रालयले के–कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने, त्यसका लागि १५ असारभित्र ठोस योजना लिएर आउनुहोस् । २५ असारमा ती योजनाको विषयमा व्यापक छलफल गरेर १ साउनदेखि कार्यान्वयन सुरु गर्नुपर्छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा २५ जेठमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी ओलीले मन्त्री तथा सचिवहरूलाई निर्देशन दिए । मन्त्री र सचिवहरूलाई यो निर्देशन दिनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा पूर्वमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबाहेक अन्यसँग सल्लाह गरेका थिएनन् ।

ओली नेतृत्वको सरकारमा ३ राज्यमन्त्रीसहित २४ जनाको मन्त्रिपरिषद् छ । तर, उनले पार्टी र सरकारलाई कसरी अघि बढाउने भन्ने विषयमा सीमित मन्त्री र पार्टीका थोरै नेताहरूसँग मात्र छलफल/सल्लाह गर्ने गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका छेउमा कम्तीमा चार समूह रहेका देखिन्छन्, जसमध्ये उनले पहिलो घेराबाट सबभन्दा बढी सल्लाह–सुझाव लिन्छन् । राष्ट्रपति विद्यादेवी भण्डारी यही घेरामा रहेको स्रोतको भनाइ छ । अनौपचारिक रूपमा प्रधानमन्त्री ओलीलाई सबभन्दा प्रभावकारी परामर्श राष्ट्रपति भण्डारीले नै दिने गर्छिन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार राष्ट्रपति भण्डारी र ओलीबीच दिनमा कम्तीमा दुई पटक कुराकानी हुन्छ ।

प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्मा ईश्वर पोखरेल र प्रदीप ज्ञवालीले अर्थमन्त्री बन्ने तीव्र आकांक्षा राखेका थिए । तर, ओलीले उनीहरू दुवैलाई त्यो जिम्मेवारी दिएनन् । गृहजिल्ला झापाका अर्थशास्त्री युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्दै अर्थमन्त्री नियुक्त गरे । पछिल्ला दिनमा त खतिवडालाई पार्टी केन्द्रीय सदस्यसमेत बनाए । यो परिदृश्यले धेरैलाई लाग्ला– प्रधानमन्त्री ओलीको पहिलो घेराको सबभन्दा विश्वसनीय पात्र उनै खतिवडा हुन् । तर, अन्तर्य त्यस्तो नरहेको बालुवाटार स्रोतको भनाइ छ । वर्तमान मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीका सर्वाधिक निकट विश्वासपात्र हुन् । ओली निकट एक केन्द्रीय नेताका भनाइमा ज्ञवालीसँग ओलीले अरू मन्त्रीहरूसँग भन्दा बढी सल्लाह/सुझाव लिन्छन् ।

ज्ञवालीपछि पार्टी महासचिव विष्णु पौडेल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग छलफल गर्छन् । यसपछि ओलीले छलफल गर्ने पात्रहरू हुन्, अर्थमन्त्री युवराज खतिवडा, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा, पार्टी केन्द्रीय सदस्य राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्याल र महान्यायाधिवक्ता अग्नि खरेल । उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पछिल्ला दिनमा प्रधानमन्त्री ओलीको भित्री घेरामा देखिँदैनन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीका सबभन्दा निकट सहयोगी प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुन् । अघिल्लो पटक प्रधानमन्त्री छँदाझैँ यसपटक पनि ओलीका ‘चीफ अफ स्टाफ’सरहको भूमिका उनैले पाएका छन् । सरकारी नियुक्ति नपाएकाहरूमध्ये ओलीले महासचिव विष्णु पौडेलपछि राजन भट्टराईसँग बढी छलफल/अन्तक्र्रिया गर्छन् । भट्टराई संघीय संसद्को निर्वाचनमा काठमाडौँ क्षेत्र ४ बाट पराजित भएका थिए । माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला उनी परराष्ट्रविद्मा नियुक्त भएका थिए ।

नेपाल–भारत सन्धिहरूको पुनरावलोकन गर्न गठित प्रबुद्ध समूह (ईपीजी) मा समेत रहेका भट्टराई भने प्रधानमन्त्रीले आवश्यकता अनुसार सबैसँग छलफल गरेर निर्णय लिने गरेको बताउँछन् । “प्रधानमन्त्रीले पार्टीका सबै शीर्ष नेताहरू र आवश्यकता अनुसार मन्त्रीहरूसँग छलफल गरेरै निर्णय लिनुहुन्छ,” उनी भन्छन्, “सानो टिमसँग मात्र सुझाव लिनुहुन्छ भन्ने कुरा त्यति धेरै साँचो होइन ।”

वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीको सम्बन्ध सुमधुर छ अहिले । पुष्पकमल दाहाल ‘प्रचण्ड’ त झन् अर्का अध्यक्ष नै भइहाले । त्यसैले प्रचण्ड–नेपालसँग सरकार, पार्टी सञ्चालनका विषयमा उनले सघन छलफल गर्ने गरेका छन् । प्रधानमन्त्रीसँग दिनहुँजसो भेट गरिरहने स्रोतका अनुसार ओलीले प्रचण्ड, नेपाल, पूर्वउप–प्रधानमन्त्री वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि बाक्लै भेटघाट/छलफल गर्छन् । तर, प्रधानमन्त्री ओलीले गर्ने निर्णय भने प्राय: पहिलो र दोस्रो घेराबाटै प्रभावित हुन्छन् । पार्टी एकता हुनु केही दिनअघि प्रचण्ड–नेपालले प्रधानमन्त्री ओली आफूखुसी चलिरहेको भन्दै ठूलै स्वरमा कटाक्ष गरेका थिए । उनीहरूको यस प्रस्तुतिले पनि ओली प्रचण्ड–नेपालबाट प्रभावित भएर निर्णय गर्दैनन् भन्ने प्रमाणित हुन्छ ।

जेठ पहिलो साताको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूहको दरबन्दी घटाउने निर्णय गर्‍यो । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गर्नुअघि प्रधानमन्त्रीले नियमत: ८२ जनासम्म विज्ञ सल्लाहकार, सचिवालय राख्न पाउँथे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार त्यो दरबन्दीलाई कटौती गरी ५१ जनामा झारिएको छ । यद्यपि, प्रधानमन्त्री ओलीले सल्लाहकार र स्वकीय सचिव गरी अहिलेसम्म औपचारिक रूपमा चार जना मात्र नियुक्त गरेका छन्, जसमा प्रमुख मुख्य सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल र स्वकीय सचिव राजेश वज्राचार्य छन् । ओलीको सचिवालयमा कार्यरत स्रोतका अनुसार थप विज्ञ, सल्लाहकार नियुक्त गर्न प्रधानमन्त्रीले खासै चासो देखाएका छैनन् । नेकपाको पोलिटब्युरो सदस्यसमेत रहेका मुख्य सल्लाहकार रिमालले प्रधानमन्त्रीसँग समन्वय गर्दै मन्त्री र सचिवालयका सदस्यहरूलाई परिचालन गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले ‘थिंक ट्यांक’ समूह गठन गर्ने तयारी गरिरहेका छन् । सचिवालय सानै बनाउने तर थिंक ट्यांकको समूह मजबुत बनाउने प्रधानमन्त्री ओलीको योजना रहेको उनीसँग भेट गरिरहने नेकपाका एक पोलिटब्युरो सदस्यको भनाइ छ । “प्रधानमन्त्रीले २५/३० जनाको थिंक ट्यांक समूह बनाउने तयारी गर्नुभएको छ,” ती पोलिटब्युरो सदस्य भन्छन्, “थिंक ट्यांक छिट्टै गठन हुँदैछ ।” कार्यकारी प्रमुखलाई सघाउन भारत, अमेरिकामा यस्तो विज्ञ समूह गठन गर्ने गरिएको छ । प्रधानमन्त्री ओलीले पनि त्यस्तै समूह गठन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीका केही विशेषता पनि छन् । त्यो के भने उनीसँग निकट भएका नेता–कार्यकर्ता प्राय: उनको घेराबाट बाहिरिँदैनन् । जस्तो कि, वर्षौँदेखि माधव नेपाललाई साथ दिइरहेका मुकुन्द न्यौपाने, प्रदीप नेपालजस्ता नेताहरू एमालेको नवौँ महाधिवेशनमा ओलीको साथमा पुगे । केही पात्रहरू त मन्त्री नपाएकै झोंकमा नेपालसँग टाढिएका घटनासमेत छन् । तर, ओली समूहमा रहेकाहरू भने उनले सानोतिनो डन्डै बर्साए पनि विपरीत कित्तामा पुगिहाल्दैनन् । यसको ज्वलन्त उदाहरण कर्णबहादुर थापा हुन् । सुशील कोइराला नेतृत्वको सरकारमा ओलीले थापालाई उद्योगमन्त्री बनाएका थिए । तर, उनलाई ओलीले सरकारबाट हटाएर महेश बस्नेतलाई नियुक्त गरे । तथापि, थापा अहिले पनि ओलीसँगै छन् ।

त्यसैगरी भानुभक्त ढकाल मन्त्रीका ठूला आकांक्षी थिए । ओलीले उनलाई मन्त्री बनाएनन् । तर, पनि ढकाल ओलीसँग टाढिएका छैनन् । अहिले थापा–ढकाललगायतलाई बेलाबेलामा बालुवाटार बोलाएर उनीहरूका कुरा सुन्ने गरेका छन् । थापा–ढकाल दुवै ओलीको रक्षामा ‘फिल्ड’ मा खटिरहेका छन् यतिबेला । “ओली कुरा सबैका सुन्छन् । तर, निर्णय आफैँ गर्छन्,” ओली निकट नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, “उहाँको निर्णय गर्ने आफ्नै स्वभाव छ । अरूमा खासै भर पर्नु हुन्न ।”

प्रकाशित: जेष्ठ २७, २०७५

ट्याग: राजनीति