खानेपानीमा राजनीतिको परिणाम

- दुर्गालाल केसी

दाङ–शान्तिनगरस्थित माइलीपानी खानेपानी उपभोक्ता समितिको निर्वाचन भयो, २६ फागुनमा । निर्वाचनमा सहभागी सबैले उपभोक्ताको मन जित्न अनेक आश्वासन दिए । उपभोक्ताको एउटा समस्या थियो, धारामा लामो समय पानी नआउने । माधव बस्याल नेतृत्वको प्यानलले धारामा प्रशस्त पानी ल्याउने वाचा गर्योस । उपभोक्ताले पत्याए र भोट दिए । ११ सदस्यीय कार्यसमिति चयन भयो ।

पहिले गरेको वाचा अनुसार नवनिर्वाचित समितिले पानीको स्रोत बढाउने उपाय खोज्यो । माइलीपानी र कान्छीपानी गरी दुइटा परम्परागत मुहान थिए, जसबाट शुद्धीकरण प्रविधिसहित पाइप जडान गरी रिजर्भ ट्यांकीमा पानी संकलन गरिन्थ्यो । नयाँ नेतृत्वले दुइटा पाइप थपेर पानी ल्याएपछि पानीको अभाव समाधान भयो । तर, धेरै दिन टिकाउ भएन ।

शुद्धीकरणबिना ल्याइएको खोलाको पानीले अचानक झाडापखाला फैलियो । १ हजार ६ सय ५६ जना बिरामी भए । रातदिन तीन वटा शिविर स्थापना गरी उपचार गरियो । शान्तिनगर गाउँपालिकाका वडा–३ र ४ का ८ सय ५१ घरधुरीमा धारा जडान गरिएका थिए । सबै उपभोक्ता बिरामी परेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी बताउँछन् । भन्छन्, “खानेपानी समितिको लापरवाहीकै कारण खोलाको पानी सीधै वितरण गरेपछि झाडापखाला फैलियो ।” 

सिमलगैरा माथिका गाउँको सबै फोहोर पानीमा मिसिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय घोराहीले जनाएको छ । पानी परीक्षण गर्दा दिसामा पाइने कोलिफर्म भेटिएको छ । “शून्य हुनुपर्नेमा बढी कोलिफर्म पाइयो । यो साह्रै डरलाग्दो अवस्था हो,” डिभिजन इन्जिनियर तिलक न्यौपाने भन्छन्, “मुहान आसपासका गाउँमा खुला दिसापिसाब व्याप्त छ । खोलाको पानी सीधै ट्यांकीमा जोडिएको रहेछ । नयाँ मुहान बन्द गरिदिएका छौँ ।” 

जिल्लाका अधिकांश खानेपानी आयोजनामा यस्तै अवस्था छ ।  अशुद्ध पानीलाई नै आधार मान्ने हो भने सबै समिति कारबाहीमा पर्ने बताउँछन् न्यौपाने । जिल्लाका ९० वटा खानेपानी आयोजनामध्ये चारवटामा मात्रै शुद्धीकरण प्लान्ट जोडिएको उनको भनाइ छ ।

खानेपानी प्रदूषित भएका कारण नै उपभोक्ता ठूलो संख्यामा बिरामी भएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुन बताउँछन् । “पानीको अरू विकल्प नभएकाले सबै उपभोक्ताले धाराकै पानी प्रयोग गरे,” पुन भन्छन्, “उपचारपछि घर फर्किएकाहरू फेरि त्यही पानीका कारण दोस्रो पटक बिरामी परेका हुन् ।”

चुनावमा पर्याप्त पानी ल्याउने नारा बनाएर जनताको स्वास्थ्यमा खेलवाड गरेको उपभोक्ताको गुनासो छ । “पानी भनेजस्तै धेरै आयो । तर,  हामीलाई झन्डै मारेनन्,” शान्तिनगर–४ पातेटाकुराकी सुशीला विक, ३५, भन्छिन्, “धेरै पानी ल्याउने नाममा फोहोर पानी बाँड्नुभन्दा थोरै भए पनि शुद्ध पानी दिनुपर्योर । यसरी ज्यानमारा खेल गर्न कहाँ पाइन्छ ?”

 खानेपानी समितिका अध्यक्ष माधव बस्याल हालसम्म वितरण भइरहेको मुहानको पानी अपुग भएका कारण नयाँ मुहानको पानी जडान गर्न बाध्य भएको बताउँछन् । भन्छन्, “तर, फोहोर मिसिएर समस्या भयो । आकाशबाट पानी परेपछि भल मिसिएर प्रदूषण भएको हो । यसअघि सफा नै थियो ।” उक्त खानेपानी आयोजना अन्तर्गतका उपभोक्तामा विसं ०६१ मा पनि झाडाबान्ताको प्रकोप फैलिएको थियो । त्यतिबेला तीन जनाको मृत्यु भएको थियो ।

प्रकाशित: जेष्ठ २७, २०७५