ट्रम्प र किमको सुरक्षामा गोर्खाली सेना

- नेपाल संवाददाता

सिंगापुरको सेन्टोसा द्वीपमा १२ जुनमा हुन गइरहेको अमेरिका र उत्तर कोरियाबीचको शिखर सम्मेलनमा गोर्खाली सेना सुरक्षार्थ तैनाथ रहने भएको छ । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शीर्षस्थ नेता किम जोङ उनबीच वार्ता हुनेछ । दुवै पक्षबाट पर्याप्त सुरक्षा टोली आउने भए पनि आइपर्न सक्ने जोखिम कम गर्न खुकुरी भिरेका बहादुर गोर्खाली सेना खटाइने बताइएको छ ।

अस्ट्रेलियाली समाचार संस्था एबिसी लेख्छ, “सिंगापुरमा गोर्खाली सेनाको इतिहास लामो छ । सिंगापुरमा मात्र नभएर इन्डो–चाइना क्षेत्रका अन्य राष्ट्रमा समेत उल्लेखनीय संख्यामा गो र्खाली सेना सेवारत छन् । त्यस क्षेत्रमा हुने उच्चस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा राम्रो सुरक्षा दिएबापत गोर्खाली सेनाले पहिलेदेखि नै सराहना पाउँदै आएको छ ।”

यस सम्मेलनले विश्वशान्ति स्थापनाका निम्ति सेतुको काम गर्ने अनुमान गरिएको छ । आउँदो वर्षको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति ट्रम्पले पाउने सम्भावना बढेर गएको विज्ञहरु बताउँछन् ।

प्रकाशित: जेष्ठ २७, २०७५

ट्याग: विदेशबाट