‘चर्चा कमाउने मनसाय छैन’

- गोकर्ण गौतम

चार वटा नमुना बस्ती निर्माणपछि कलाकार सीताराम कट्टेलकुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) हाल वीर अस्पतालको रंगरोगन तथा मर्मतसम्भारमा खटिएका छन् । तर, समाजसेवामा उँचो साख बनाएको यो जोडी यसबीच विवादमा पनि फस्यो । प्रक्रिया मिचेर सहयोग रकम संकलन गरेको आरोप खेप्नुपरेको छ । तैपनि, वीरलाई कायापलट गराउन कट्टेल अहोरात्र खटिरहेका छन् । अर्कातिर, नमुना नेपाल, क्रिकेट मैदानजस्ता पूर्वघोषित परियोजनाले पनि मूर्तरूप पाएका छैनन् । धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापकसमेत रहेका कट्टेलसँग गोकर्ण गौतमको  कुराकानी :

वीर अस्पतालको सरसफाइ कार्यक्रम सुरु भएपछि विवादमा पर्नुभयो । खास भएको के हो ?

–असार पहिलो सातासम्म हामी काम सक्छौँ । त्यसपछि सबै कुरा भनौँला । म अहिले यो विषयमा बोल्ने मुडमा छैन ।

अहिले यहाँ के–के काम हुँदैछ ?

–सुरुमा नमुना सरसफाइ अस्पताल बनाउने घोषणा भयो । तर, काम सुरु गरेपछि यत्तिले मात्र पुग्दैन भन्ने लाग्यो । चर्पी सफा भएर के काम, भित्ता अँध्यारा भएपछि । संरचना पनि पुरानै । सोही कारण सरसफाइ, रंगरोगन र मर्मतसम्भार एकसाथ भइरहेको छ । प्राय:जसो ठाउँ ओसिलो छ, छतबाट पानी रसाउँछ, भित्तामा पानी बग्छ, भोलिपल्ट फुलेर उही ताल । त्यसलाई फेरि मिलाउँदा समय लागिरहेको छ ।

यसका लागि तपार्इंले प्रस्ताव राख्नुभएको हो कि तपाईंलाई राखिएको ?

–वीर अस्पताल प्रशासन र स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरसफाइका लागि सहकार्य चाहियो भनेपछि हाम्रो प्रवेश भएको हो । यो हाम्रो जिम्मेवारी पनि हो किनभने म र कुञ्जना नेपाल सरकारको सरसफाइदूत हौँ । सरकारसँग सहकार्य गर्न पाउनु ठूलो कुरा हो ।

तर, यसपटक सहकार्यभन्दा राज्यलाई चुनौती दिएको आरोप लागेको छ नि ?

–मैले भनिसकेँ, वीरको विषय धेरै उप्काउन्नँ । काम सकिएपछि सबै कथा भन्छु । मेरो इमानदारी कत्ति पनि डगमगाएको छैन ।

हेर्नुस्, हामीलाई चर्चा कमाउने मनसाय छँदै छैन । भूकम्प जाँदा हामी अमेरिकामा थियौँ, धेरै रोयौँ । त्यतिबेला संस्था खोलौँला, नाम कमाउँला भनेर अगाडि बढेका हौँला त ? हामीलाई धुर्मुस–सुन्तली बनाउनेहरू तड्पिरहनुभएको छ, हाम्रो उपस्थिति नै उहाँहरूलाई राहत हुन्छ भनेर अमेरिकाका सबै कार्यक्रम रद्घ गरेर फर्कियौँ । गर्दै जाँदा यहाँसम्म आइपुग्यौँ । हामीलाई माया गर्नेहरूले सेवामुलक कार्यलाई संस्थागत गर्न सुझाव दिएपछि फाउन्डेसन खोलेका हौँ । अरू चाह छैन ।

तपाईंकै भनाइमा इमानदार र स्वार्थबेगर सेवामा लीन हुनुहुन्छ । तैपनि, पटक–पटक विवादमा फस्नुहुन्छ, तपाईंको नियतमाथि प्रश्न उठाइन्छ । पीडा हुन्न ?

–पीडा होइन, हाम्रो त्याग र तपस्या बुझिदिए हुन्थ्यो जस्तो लाग्छ । मुख्य कुरा, हामी सांस्कारिक भयौँ/भएनौँ भन्ने हो । बस्ती सर्लक्क ठडिँदैन । अनेक जटिलता हुन्छन् । तर, हजारौँ सहयोगी मनका कारण मात्र यो सबै सम्भव हुन्छ । नबुझी आरोप लगाइन्छ । अर्को सत्य, एउटा वर्ग हुन्छ, जो देखावटी समाजसेवा गर्छ, दिगो हुन्न । हामीलाई त्यस्तो नहुनु भनेको जस्तो लाग्छ । त्यसैले विचलित हुन्नौँ । बरु यस्ता कुराले थप ऊर्जाशील र सचेत बनाउँछ ।

मुसहर र सन्तपुर बस्ती निर्माणमा तपाईंको व्यक्तिगत खर्च भएको छैन । सबै अरूको पैसा हो । तर, जसजति सबै धुर्मुस–सुन्तलीले लगे भनिन्छ । यस्तै हो ?

–म सेवक हो । तपाईंले भनेजस्तै समन्वयकारी भूमिका मात्र निर्वाह गरेको छु । पीडा देखेपछि अपिल गर्छु, अरूले सहयोग नगरेको भए सम्भव हुँदैनथ्यो ।

तर, आफ्नो र फाउन्डेसनको ‘ब्रान्डिङ’ गरिरहनुभएको आरोप छ नि ?

–हेर्नुस्, हामीलाई चर्चा कमाउने मनसाय छँदै छैन । भूकम्प जाँदा हामी अमेरिकामा थियौँ, धेरै रोयौँ । त्यतिबेला संस्था खोलौँला, नाम कमाउँला भनेर अगाडि बढेका हौँला त ? हामीलाई धुर्मुस–सुन्तली बनाउनेहरू तड्पिरहनुभएको छ, हाम्रो उपस्थिति नै उहाँहरूलाई राहत हुन्छ भनेर अमेरिकाका सबै कार्यक्रम रद्घ गरेर फर्कियौँ । गर्दै जाँदा यहाँसम्म आइपुग्यौँ । हामीलाई माया गर्नेहरूले सेवामुलक कार्यलाई संस्थागत गर्न सुझाव दिएपछि फाउन्डेसन खोलेका हौँ । अरू चाह छैन ।

फाउन्डेसन कसरी सञ्चालन भइरहेको छ ?

–परियोजना अनुसार चल्छ । परियोजनाभर मेरो हिँड्डुल, खानेबस्ने खर्च त्यहीँबाट हुन्छ । तर, कुञ्जना र अन्य सदस्य परियोजनाको खर्चबाट कहीँ–कतै जाँदैनन् । व्यक्तिगत प्रयोजनका लागि खर्च गर्दैनौँ । मेरो तलबभत्ता हुँदैन । एउटा प्रोजेक्ट सकिएको हुँदैन, अर्को सुरु भइहाल्छ ।

तपाईंले नमुना नेपाल निर्माण घोषणा गर्नुभयो । त्यसलाई त्यत्तिकै छाडेर क्रिकेट मैदानतिर लाग्नुभयो । अहिले वीर अस्पताल आइपुग्नुभएको छ । धैर्य किन हराउँदै गएको ?

–म परिस्थितिको माग अनुसार अगाडि बढिरहेको छु । सन्तपुर बस्ती बनाउनुअगाडि नमुना नेपालको अवधारणा घोषणा गरेका थियौँ । त्यसको तयारीमा लाग्दै गर्दा तराईमा बाढी आयो । हामी सेवक भएकाले त्यता लाग्नु परिहाल्यो । त्यहाँ विजोग देखेपछि बस्ती निर्माणमा लाग्यौँ । त्यो सकेर नमुना नेपालतिर जुटिरहेका थियौँ । त्यही बेला एकाएक नेपालले क्रिकेटमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । अनि, स्टेडियम बनाउन सक्रिय हुन थाल्यौँ । त्यसको प्रयास हुँदै गर्दा सरकारकै चाहमा वीर अस्पतालमा आइपुगेका छौँ अहिले ।

मतलव जता हावा बग्छ, उतै लाग्नुहुन्छ ?

–संस्थामा टन्न पैसा भएर हामीले धैर्य गुमाएको होइन । जहाँ धेरै ‘फन्डिङ’ आउने अवस्था बन्छ, स्वत: ‘डाइभर्ट’ हुनुपर्छ । फेसबुकमा सुझाव माग्दा अधिकांशको चाह तत्कालका लागि नमुना नेपालभन्दा क्रिकेट मैदानमा थियो । अनि के गर्ने ? फेरि नमुना नेपाल वा क्रिकेट मैदानको जग खनेर छाडेको होइन । अवधारणा मात्र सार्वजनिक गरेको न हो ।

नमुना नेपाल र क्रिकेट मैदान निर्माण योजनामा कति प्रगति भएको छ ?

–नमुना नेपालको काम सर्भेपछि रोकिएको छ । स्टेडियमका लागि सरकारलाई उपयुक्त जग्गा छनोट गरेर प्रस्ताव पेस गरेका छौँ । अब सरकारले निर्णय गरेपछि अगाडि बढिन्छ ।

तयारी कम, महत्त्वाकांक्षा ज्यादा भएनन् र ? भूकम्प वा बाढीका बेलाजस्तो अत्यावश्यक परियोजना त अहिले पक्कै नहोलान् !

–उतिबेला पनि हामीलाई महत्त्वाकांक्षी भनिएको थियो । तर, आज परिणाम हाम्रैसामु छ । नमुना नेपाल हाम्रो मात्र परियोजना होइन । प्रस्ताव पेस गरेपछि संस्कृति तथा पर्यटन मन्त्रालयबाट अगाडि बढ्नूस भन्ने पत्र पाएका छौँ । नत्र सरकारी जग्गामा स्वीकृतिबेगर ‘प्रोजेक्ट’ सम्झव हुन्छ ? दिमागमा उपद्रो आइहाल्यो । गरिहालौँ भनेर मात्र हुन्न होला ।

यसरी एउटा परियोजना नसक्दै अर्कोतिर ढल्किहाल्दा विश्वसनीयता गुम्ने डर हुन्न ?

–अघि भनिसकेँ, हिजोका दिनमा पनि हामीले थालौँ भनेर परियोजना थालनी गरेका थिएनौँ । शून्यबाट पैसा जुटाएर काम गरेका थियौँ । सहयोगी मनको चाह अनुसारै एउटा परियोजना गर्दा बाँकी रकमले अर्को सुरु गर्छौं । फेरि यसपटक परिस्थिति पनि त्यस्तै बन्यो । हामी सधैँ यसरी बहकिदैनौँ । तपाईंले भनेजस्तै धेरै यताउता गर्दा विश्वसनीयता गुम्न सक्छ । त्यसमा सर्तक छु । तैपनि, समाज रुपान्तरण र राष्ट्र निर्माण हाम्रो नसा–नसामा बगिसक्यो । हामीलाई छिटो परिवर्तन चाहिएको छ । सायद सबै नेपाली यही चाहन्छन् । त्यसैले अलि हतारिएजस्तो लाग्न सक्छ ।

भनेपछि तपाईं त्यो आमचाहनाको अगुवाइ गर्दै हुनुहुन्छ ?

–त्यस्तो होइन । गर्नुपर्छ भन्ने भावनाले प्रेरित एउटा अभियन्ता मात्र हो म । नेता बन्न वा राजनीतिका लागि पृष्ठभूमि बनाउन चाहेको होइन ।

राजनीतिको कुरा निकालिहाल्नुभयो । यतिविघ्न समाजसेवा गरेर वाहवाही कमाउनुभएको छ । राजनीतिमा लाग्ने योजना नहोला र ?

–आजका मितिसम्म त्यस्तो योजना छैन । भोलि कसले देखेको छ र ! हामी जनताको काम गरिरहेका हुन्छौँ । नेपाली जनताले धुर्मुसले ‘राजनीति’ गर्नुपर्छ भने भने देशका लागि जस्तोसुकै काम गर्न तयार छु ।

सामाजिक सञ्जालमा ‘धुर्मुसलाई प्रधानमन्त्री बनाऔँ’ भन्ने अभियान नै चलिरहेको छ । कस्तो लाग्छ ?

–त्यो हामीप्रतिको सद्भाव र माया हो । त्यसले हामीलाई थप ऊर्जा दिन्छ ।

राज्यले दिएको जिम्मेवारी लिन तयार छु’ भनिरहनुहुन्छ । पुन:निर्माण प्राधिकरणमा पनि तपाईंको तीव्र इच्छा देखिन्छ । सेवकले यस्तो लोभ/आशा राख्न मिल्छ ?

–हामीलाई जिम्मेवारी दिइन्छ भने इमानदारपूर्वक निर्वाह गर्छौं भन्नु नराम्रो हो र ? तर, यो/त्यो देऊ भनेर मागिरहेका छैनौँ ।

सरकारले तपाईंहरूलाई खास ढाढस दिएको देखिन्न । तैपनि, आमनागरिकको यतिसारो विश्वास जित्नुको कारण के होला ?

–त्यो सबै हाम्रो कामले हो । बोली अनुसार काम गरेका छौँ । हामीले गरेका परियोजना त्यति कम लागतमा यति चाँडो सम्पन्न हुन्थे त ? मास्टरप्लान र रेकी गर्दै पैसा सकिन्थ्यो होला । हामीले फिल्डमा पुगेर मास्टरप्लान बनाएर काम गर्‍यौँ । यो सारा नेपालीलाई थाहा छ ।

त्यसो भए तपाईंमाथि नियतभन्दा प्रक्रियामा समस्या रहेको वा राजनीतिका लागि जग बसाइरहेको आरोप किन लाग्छ ?

–मैले भनिसकेँ, संस्कारमै समस्या छ । राम्रो नियतले अगाडि बढ्दा पनि साथ पाइन्न । म र कुञ्जना त भाग्यमानी । यति धेरैको सद्भाव पाएका छौँ । यो माया देख्दा रुन मन लाग्छ । अहिले पनि वीर अस्पतालमै आएर ‘अगाडि बढ्नू, हामी छौँ’ भनेर आशीर्वाद दिनेहरू प्रशस्त छन् । यही हो, ऊर्जा र प्रेरणा–स्रोत ।

यसले ‘मिसगाइड’ त गर्दैन ?

–नियत खराब भए पो ‘मिसगाइड’ गर्नु ! म देशका लागि मर्न तयार छु । स्वार्थ केही छैन ।

एउटा हातले गरेको सेवा अर्को हातले थाहा पाउनुहुन्न’ भन्छन् । तपाईं बाढीपीडितको उद्धारमा खटिँदा फोटोसुट गराएर आफूलाई ‘पोस्चरिङ’ गरेर लोकप्रियता कमाउन खोजेको आरोप छ नि ?

–म सेलिब्रिटी । केही काम गर्दा कसैले फोटो खिच्छ, त्यो फोटो तरंगित हुन्छ, म के गरूँ ? त्यहाँ तलमाथि भएको भए टीकाटिप्पणी गर्ने त्यही वर्गले ‘निकै गर्छु भन्थ्यो, मर्‍यो’ भन्थ्यो होला । त्यसैले यतातिर ध्यान दिन्नँ । हामीले गरेको कामबाट पीडितले राहत पाएका छन्/छैनन्, मुख्य सवाल यही हो ।

स्टेज सो गरिरहेका छौँ । विज्ञापन खेल्छौँ । पाँच कम्पनीको सद्भावनादूत हौँ । यसबाट परिवारको खर्च पुग्छ । बाँकी समय समाजसेवामा दिँदा आनन्द मिल्छ, आत्मसन्तुष्टि हुन्छ । सेवा जति ठूलो सुख संसारमा केही छैन ।

फरक प्रसंग, २१ पुस ०७३ को साढे ३३ किलो सुन काण्डमा तपाईंसँग प्रहरीले बयान लिएको थियो । खास के भएको थियो ?

–त्यतिबेला मुसहर बस्ती घोषणा गरेका थियौँ । म दुबई गएको थिएँ । एउटा फेन्सी पसल उद्घाटन गर्दा पाँच लाख सहयोग दिने भनियो । म गएँ । तर, त्यो व्यक्ति सुन काण्डमा फसेको रहेछ । त्यो पैसा संस्थामा आएन ।

सहयोग लिनुअघि कोसँग लिँदैछु, व्यक्ति/संस्थाको ‘ट्रयाक रेकर्ड’ नियाल्नु जरुरी छैन ? नत्र बदनियत बोकेकाले तपाईंलाई सहयोग गरेर आफूलाई चोख्याउन सक्ने खतरा बढ्ला नि ?

–त्यो कुरा पनि जायज हो । तर, पैसा दिनेको पृष्ठभूमिको खोजीनीतितिर लाग्ने कि काम गर्ने ? फेरि खराब नियतको पैसा पवित्रमा उद्देश्यमा आउँदो रहेनछ भन्ने प्रमाणित भयो । अबचाहिँ कसैले सहयोग गर्दा सातपुस्ते खोतल्ने संस्कार बस्छ होला । हामी पनि सुरुआत गर्छौं ।

अचेल पूरै समाजसेवी बन्नुभएको छ । कलाकारिता पाखा लागेको हो ? वा, ‘रिल’ भन्दा ‘रियल’ हिरो बन्ने लोभ पलाएको ?

–त्यस्तो होइन । हिजो कलाकार हुँदा पनि लोभ थिएन । हामीले कलाकारिता छाडेका छैनौँ, मात्र मेरी बास्सै र फिल्म नखेलेको हो ।

अनि, घर खर्च कसरी चल्छ ?

–स्टेज सो गरिरहेका छौँ । विज्ञापन खेल्छौँ । पाँच कम्पनीको सद्भावनादूत हौँ । यसबाट परिवारको खर्च पुग्छ । बाँकी समय समाजसेवामा दिँदा आनन्द मिल्छ, आत्मसन्तुष्टि हुन्छ । सेवा जति ठूलो सुख संसारमा केही छैन ।

हास्यंव्यग्य वा फिल्ममा नयाँ काम नगरेको त धेरै समय भयो, होइन ?

–कलाकारितामा मात्र लागिरहेका थियौँ भने अहिलेसम्मको उपलब्धि हासिल गर्न सकिन्नथ्यो । कोही एउटा व्यक्तिलाई राहत दिने थियो भने कलाकारिता भ्याइन्थ्यो होला । तर, हामी सामूहिक सेवामा व्यस्त छौँ । सिंगै गाउँ बनाउँदा कति खट्नुपर्ला, आफैँ सोच्नूस् न !

प्रकाशित: जेष्ठ २७, २०७५

ट्याग: संवाद