चरित्रमा विद्रोह [फिल्म समीक्षा : वीरे दि वेडिङ]

फिल्म : वीरे दि वेडिङ | रेटिङ : २.५/५

- गोकर्ण गौतम

महिला पात्र र विषयप्रति अनुदार रहँदै आएको बलिउडमा नयाँ फिल्म रिलिज भएको छ, वीरे  दि वेडिङ । फिल्ममा चारै मुख्य चरित्र छन्, महिला । दुर्लभ संयोग ! फिल्मका हरेक दृश्य उनीहरूसँग जोडिएको छ । यस्तो नारी प्रधान चलचित्रको निर्देशक हुन्, शशांक घोष । पात्र र तिनका प्रवृत्ति नियाल्दा यसलाई नारीवादी फिल्म भन्न हिच्किचाउनु पर्दैन । आफ्नो प्रेम र विवाह सम्बन्धमा सहरिया र सम्पन्न युवतीहरूमा विद्यमान अलमल देखाउन खोजिएको छ । तर, विषयवस्तुको गहिराइमा पुग्न सकेका छैनन् निर्देशक । जसरी उनका पात्रहरू उन्मुक्त छन्, सोही ढंगबाट पटकथा विकास गर्न नसक्दा सतही बनेको हो । यद्यपि, बलिउडमा यस शैलीका महिलाकेन्द्रित फिल्म बन्नु नै सुखद पक्ष मान्नुपर्छ ।

कालिन्दी (करिना कपुर) लाई प्रेमीले विवाहको प्रस्ताव राख्छन् । तर, विवाह गरेर सुखी नै भइन्छ भन्ने विश्वास छैन । सोही कारण आलटाल गर्न खोजिरहेकी छन् । आन्वी (सोनम कपुर) लाई विवाह गर्न मन छ, परिवारले पनि दबाब दिएको छ । तर, खोजेजस्तो जीवनसाथी भेटेकी छैनन् । प्रेम विवाह गरेकी साक्षी (स्वारा भास्कर) डिभोर्स गर्न उद्यत छिन् । शिखा (मिरा सुद)ले  विदेशीसँग भागी विवाह गरेकाले माइतीसँग सम्बन्ध बिग्रेको छ । अर्थात्, सबै पात्रको तनावको केन्द्रमा विवाह नै छ । एकआपसमा असाध्यै नजिक रहेका उनीहरूले आफ्नो समस्या कसरी पार लगाउलान्, फिल्म यसकै वरपर घुमेको छ ।

समाज जति शिक्षित र सम्पन्न हुँदैछ, आडम्बरले त्यति जरा गाड्दै छ । आफूसँग नहुँदा पनि ‘शो–अप’ गर्ने र भित्र मक्किसके पनि अरूको अगाडि संस्कारिक देखाउने ढोँग हावी छ । यो तीतो यथार्थबाट फिल्मका हरेक पात्र प्रताडित छन् । तर, निर्देशक महिला पात्रप्रति नरम देखिन्छन् । सम्बन्धमा तिक्तता पैदा हुनुको दोष कालिन्दीको समूहलाई दिइएको छैन । जबकि, यथार्थ त्यस्तो होइन । सोही कारण सर्जकका रूपमा निर्देशकले स्वतन्त्र र निष्पक्ष ढंगले पात्रलाई विकास गर्न सकेका छैनन् । अर्को उल्लेखनीय पक्षचाहिँ, फिल्ममा देखाइएका प्राय: पुरुष पात्र अवगुणले भरिएका छन् । समस्याका कारक उनीहरूलाई नै बनाइएको छ । तर, अधिकांश नारी पात्र ‘दुधले नुहाए’जस्तो लाग्छ । सायद महिला पात्रको दृष्टिकोणबाट कथा विकास गरिनुको परिणाम हो यो ।

फिल्मको पटकथा निधि मेहरा र मेहुल सुरी मिलेर लेखेका हुन् । तर, पात्रअनुरूप घटनालाई जोड्न नसक्दा फिल्म अपेक्षाकृत प्रभावकारी हुन सकेको छैन । हरेक चरित्रलाई विन्दास बनाइएको छ । खुलेआम रक्सी र चुरोट पिउने मात्र होइन, सेक्स अनुभव सुनाउँछन् पनि, जसले उनीहरूको आत्मविश्वास र निडरपनको छनक दिन्छ । तर, ती पात्रका संघर्ष र अन्य सकारात्मक पक्षलाई प्राथमिकता नदिँदा कतिपय सन्दर्भमा उनीहरूको स्वभाव र व्यवहार अतिरञ्जित लाग्छ । स्वतन्त्रताको नाममा अनुशासनको गोरेटोबाट विमुख भएको आभास हुन्छ । यद्यपि, सधैँ पुरुषबाट हेपिएका वा कथित संस्कारको साँघुरो घेरामा पिल्सिएका नारी पात्र देख्दै आएका दर्शकलाई कालिन्दीहरू ‘फ्रेस’ लाग्छन् । चरित्रगत रूपमा यस फिल्मलाई एक खालको ‘विद्रोह’ मान्न सकिन्छ । केही द्विअर्थी र अश्लील संवाद भए पनि चरित्रअनुरूप स्वभाविक लाग्छ । 

विलासी जीवन र फुर्मासी खर्च पछाडिको असली नियत, सम्पत्तिको नाममा परिवारभित्र हुने रडाको र बाहिर आधुनिक देखिए पनि घरभित्रको परम्परागत सोचमाथि निर्देशकले व्यंग्य कसेका छन् । कहिले त लाग्छ, स्वच्छन्दताको बहानामा अँध्यारोतिर धकेलिइएका युवतीमाथिकै कटाक्ष पनि हो । भव्य विवाह समारोहमा दुलहा–दुलही र उनीहरूको परिवारबीचको मनमुटावको दृश्यले जोकोहीको ध्यान जान्छ । फिल्ममा यथेष्ट ग्ल्यामर, कमेडी, रोमान्स छन् । कतैकतै यो बिकाउ मनोवृत्तिबाट थोपरिएको भान नहुने होइन । करिनाको ‘कमब्याक’ सशक्त छ । उमेर पुगिसक्दा पनि विवाहप्रतिको दोधारेपनलाई जीवन्त शैलीमा उतारेकी छन् । चारमध्ये सबैभन्दा प्रिय पात्रचाहिँ सोनमको छ । ग्ल्यामरका अलावा उनको अभिनय क्षमता पनि देख्न पाइन्छ । प्राय: चुरोट र रक्सीका साथ देखापर्ने स्वारा भास्कर सबैभन्दा ‘बोल्ड’ लाग्छिन् । उनको हस्तमैथुनको दृश्यले सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी झेल्नु परेको छ । हिरोइनको परम्परागत मानकमा नअटाउने ‘मोटी’ मिरा सुद पनि आफ्नो भूमिकामा जमेकी छन् । सुमित व्यास, विकास किनीजस्ता सहायक पुरुष पात्रले प्रशंसनीय काम गरेका छन् । फिल्ममा आठ गीत छन् । एकाधबाहेक गीतले फिल्मको कथावाचनमा सघाउ पुर्‍याउँदैनन् ।

करिना र सोनमका फ्यानले मात्र होइन, चटपटे फिल्मप्रेमीले वीरे  दि वेडिङ हेर्दा उपयुक्त हुन्छ । यसले खासगरी महिला दर्शकको मन जित्छ । तर, प्रस्तुतिमा गम्भीरता रुचाउने दर्शकचाहिँ निराश हुनसक्ने  स्थितिलाई भने नकार्न सकिन्न ।

प्रकाशित: जेष्ठ २५, २०७५