[नोटबुक] मलेसियाका खर्चालु नेपाली

- कृष्ण ज्ञवाली

अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६५ किमि दूरीमा पर्ने क्वालालम्पुर जाने क्रममा भेट भएका ट्याक्सी चालकले मलेसियामा रहेका नेपाली कामदारबारे गफ गर्न भ्याए । उनका नजरमा कडा मिहिनेत, काममा परिपक्व र इमानदारी नेपाली कामदारका विशेषता हुन् । नेपाली कामदारको न्यूनतम तलब र अतिरिक्त आम्दानीसमेत नराम्रो छैन । तर, कतिपय कामदारले मदिरा र युवतीमा आम्दानीको ठूलो हिस्सा उतै सकाउँदा रहेछन् । यही कारण उनीहरुको जीवनस्तर नउकासिएको ती चालकको बुझाइ रहेछ । मलेसियामै केही समय बसेर उतै घरजम गर्न रुचाउने बंगलादेशी नागरिकको तुलनामा नेपाली इमानदारका रुपमा चिनिने रहेछन् । किनभने, नेपाली मुस्लिम समुदायको बाहुल्य भएको मलेसियामै घरजम गरेर उतै रमाउने सम्भावना निकै कम हुादो रहेछ । ९२ वर्षीय प्रधानमन्त्री महाथीर निर्वाचित भएको दुई दिनपछि पुग्दा ती चालकसमेत उत्साहित देखिन्थे भने नेपाली कामदारको पक्षमा समेत सरकारले आशावादी नीति लिने आशा व्यक्त गरे ।

सिंगापुरमा केरकार

 सिंगापुर अध्यागमनमा अनाहक तीन घन्टा केरकारमा फसेपछि त्यहााको वैभव र भौतिक विकास हेर्ने रहर पहिलो गाँसमै ढुंगा लागेझैँ भयो । ‘अन अराइभल’ भिसा दिने सिंगापुर अध्यागमनले हामीलाई भने होटल बुकिङ र फर्किने टिकट नभएको भन्दै केरकार गर्न थाल्यो । सहयात्री पत्रकार रामेश्वर बोहरा र मैले मोबाइल म्यासेजबाट होटल बुकिङको टिकट पाएका थियौँ । झन् हामी पत्रकार भएको थाहा पाएपछि उनीहरुको केरकारको आयतन निकै फराकिलो भयो ।

सिंगापुर प्रहरीले मलेसिया र सिंगापुरमा हामीले सम्पर्क गरेका सबै व्यक्ति र अन्य कागजातसमेत छानबिन गरेछ । र, हामी फर्किने योजना निश्चित गरेपछि अन्तत: भिसा लागेको पासपोर्ट दियो । ‘अर्को पटक सपरिवार घुम्न आउनू’ हामीमाथि केरकार गर्ने सिंगापुर प्रहरीका एक अधिकृतले हिँड्ने बेलामा आग्रह गरे । जवाफमा बोहराले भने, ‘केही ढिला भएको भए यसपटक नै जाने थिएनौँ, यस्तो व्यवहारले हामीमा नकारात्मक प्रभाव परेको छ । अर्को पटक आउने कुरा सोच्न पनि सक्दैनौँ ।’

अघिल्लो दिन साँझ अध्यागमनमा गरिएको व्यवहारका कारण सिंगापुरप्रतिको धारणा सोचेजति सकारात्मक हुन सकेन । सफा र फराकिला सडक, उत्कर्षमा पुगेको भौतिक पूर्वाधार विकासले भने लोभ्यायो । सिंगापुरका सबैजसो पर्यटकीय गन्तव्य मानव निर्मित संरचना नै थिए । प्राकृतिक संरचनामा सिंगापुरभन्दा कताकता उत्कृष्ट गन्तव्य मान्न सकिने नेपालमा भने सिंगापुरको जस्तो विकास नेताहरुको नारामा सीमित छ । दिनभर घुमेर मलेसिया फर्किंदासमेत अध्यागमनमा गरिएको रुखो व्यवहार मनभरि बिझिरह्यो ।

जोखिमबीच पत्रकारिता

फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको कार्यशैली डेढ वर्षअघि अख्तियार प्रमुखबाट बर्खास्त भएका लोकमानसिंह कार्कीको स्वभावसाग मिल्दोजुल्दो थियो । आफ्ना आलोचक सञ्चार माध्यमलाई तह लगाउन उनले अपनाएका हतकण्डा त्यसका प्रमाण हुन् । फिलिपिन्सको उदीयमान अनलाइन सञ्चार माध्यम र्‍याप्लरमाथि कर प्रशासनले राजस्व छलेको आरोपमा दर्ता खारेजीको प्रयास गरिरहेको थियो भने एसियाकै उदाहरणीय फिलिपिन्सको खोज पत्रकारिता केन्द्र (पीसीआईजे)ले समेत धम्की बेहोरिरहेको थियो ।

‘ड्रग अपरेसन’को नाममा लागूऔषध प्रयोगकर्तामाथि सुरु गरिएको २२ महिने शासनमा करिब २० हजारको ज्यान गइसकेको छ । तर, सरकारी आँकडामा भने करिब ४ हजारको ज्यान गएको तथ्यांक मात्रै सार्वजनिक छ । शंकास्पद अपरेसनमाथि आलोचनात्मक ढंगले समाचार प्रकाशित हुन थालेपछि प्रहरीले ड्रग अपरेसनको औपचारिक सूचनासमेत सार्वजनिक गर्न छाडेको थियो ।

यस अवधिमा करिब ९ जना पत्रकार मारिएका छन् । उनीहरुमाथि मोटरसाइकल वा निजी सवारी साधनमा आएको अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनीहरुले पछिल्लो समय कभर गरेको समाचार सत्तासीन वा राजनीतिक भ्रष्टाचारका विषयवस्तु थिए । ८५ प्रहरीको निगरानी, अप्रत्यक्ष धम्की, दबाबका घटना थिए । केन्द्रकी कार्यकारी निर्देशक मोलु मंगासका अनुसार, लागूऔषध नियन्त्रण र मुलुकमा रोजगारीको वातावरण सिर्जना गर्ने सस्तो लोकप्रियताको नारामा सरकारमा पुगेका दुतेर्तेले त्यसपछि भने विपक्षीमाथि दमनको नीति लिए, जसका कारण पत्रकारिता जोखिममा पर्‍यो ।

प्रकाशित: जेष्ठ २४, २०७५