[स्मरण] पुस्तक संकलनको लत

- शिव रेग्मी

अभाव नै आविष्कारको जननी हो भन्छन् । अभावले मलाई आविष्कारक त होइन, किताबप्रति अक्षुण्ण नाता कायम गरायो । म प्राय: पाठ्यपुस्तकबिनै स्कुल र कलेज गएँ । मसँग पाठ्यपुस्तक किन्ने क्षमता थिएन । त्यसले ममा पुस्तकप्रति अझ धेरै रुचि जगायो । अन्तत: मेरो जिन्दगीको सोख भनेकै पुराना किताब पढ्नु र तिनको संकलन गर्नु हुन पुग्यो ।

कक्षा १ मा पढ्दा म १० वर्षको थिएँ । यो ००८ को कुरा हो । त्यसबेला मैले बा र दाइले पढ्न ल्याएका उद्योग, उदय, प्रगतिशारदा अध्ययन गरेँ । अरू अंक पढ्न मन लागे पनि त्यो रहर पूरा गर्न सकिनँ । ०१५ मा एसएलसी उत्तीर्ण गरेपछि म पुस्तक संकलनको अभियानमा लागेँ । आफूले कुनै समय पढेका साहित्यिक पत्रिका, तिनका पछिल्ला अंकहरू र पुराना किताब कहाँ पाइन्छन् भनेर तिनको खोजीमा लागेँ । र, तिनलाई भण्डारण गर्दै गएँ ।

आफ्नो आर्थिक अभावको कुरा धेरैपटक गरिसकेको छु । तर, मैले जस्तोसुकै अभावमा पनि संकलन गर्ने पत्रिका वा किताब भने बकाइदा मूल्य चुक्ता गरेर ल्याएको छु । त्यतिबेलासम्म प्रकाशित पत्रपत्रिका र किताब मैले ०१५ मै आधाउधी संकलन गरिसकेको थिएँ ।

त्यसबेला मैले बालसखा विकास विद्यालयमा पढाउन थालिसकेको थिएँ । उद्योग ००८ र प्रगति ०१६ मा बन्द भए । तर, शशीकलाद्वारा सम्पादित स्वास्नीमान्छे (०१५) र श्यामप्रसाद शर्माद्वारा सम्पादित साहित्य (०१६) प्रकाशनमा आए । दुवै पत्रिका मेरो संकलन भण्डारका लागि त उपयुक्त थिए नै । साथै, यी पत्रिकाका सम्पादकबीचको सम्बन्धले पनि यी पत्रिका संकलन गर्न मलाई बढी प्रेरित गर्‍यो । शशीकला र श्यामप्रसाद दम्पती थिए ।

मेरो कुनै लत या कुलत थिएन र छैन पनि । पुस्तक संकलनबाहेक मेरो अर्को उद्देश्य पनि रहेन जीवनमा । फुर्माइसी गर्ने त हैसियत नै थिएन । म ब्राह्मण–पुत्र भएकाले कसै–कसैले कुनै तिथिविशेषमा टीका लगाएर थोरै दक्षिणा दिन्थे । त्यो थोरै दक्षिणाको रकम पनि मलाई किताब किन्न लाख हुन्थ्यो ।

किताब र पत्रिका सँगसँगै अनुसन्धानात्मक साहित्यिक लेख–रचनाहरूको पनि संकलनमा लागेँ । कुनै किताब पढ्दा कुनै लेखविशेषको चर्चा भएको छ भने त्यसको खोजी र संकलन गर्न लागिपरेँ । तर, कतिपय मित्रले जस्तो काँधमा झोला बोकेर घरघर चाहर्दै सित्तैमा पुस्तक संकलन गरिनँ । जति गरेँ, किनेर गरेँ ।

यसक्रममा मैले शारीरिक र मानसिक रूपमा पनि दु:ख पाएको छु । अच्युतरमण अधिकारीको अनामनगरको पुरानो घरभित्र जाँदा किताब फिजाउने ठाउँ थिएन । उनले बाहिर गाई पालेका थिए । त्यही गोठमा लामखुट्टे र अरू कीटपतंगलाई रगत चुसाउँदै पुराना किताब बटुलेँ । कति त हातैले सारेर पनि ल्याएको छु । यस कार्यमा मलाई ईश्वर बरालले पनि ठूलो सहयोग गरे । उनी तीन तलामाथिबाट आफैँ काँधमा किताबका चाङ बोकेर तल्लो तलामा झर्थे । मैले त्यहीँ बसेर ती पुस्तकमा भएका सबै भूमिका हातैले सारेर पछि टाइप गराएर संकलन गरेको छु । त्यसबेला फोटोकपी त्यति सहज उपलब्ध थिएन । उपलब्ध भइहाले पनि बरालले घरबाहिर किताब लैजाँदा त्यति निको मान्थेनन् । अनि, हातमा ठेला नउठाई उपायै थिएन ।

भूमिकाको किन कुरा गरेको हुँ भने कुनै पनि किताबको भूमिका नपढी त्यसको मर्मभाव बुझ्न सकिँदैन । त्यसमा पनि बरालजस्ता प्रकाण्ड विद्वान्ले लेखेका भूमिका त अझ बढी महत्त्वपूर्ण हुने नै भए । मैले बरालकै भान्छाकोठामा बसेर संकलन गरेको हुँ, उनीद्वारा सम्पादित झ्यालबाट, सयपत्रीहिमचुलीका भूमिका हातले सारेर । मलाई भूमिका पढ्न पनि उनैले सिकाएका हुन् ।

विसं १९६१ मा प्रकाशित संस्कृत–सुधा वा १९९० को संस्करणको दुर्गादत्त पराजुलीको आसौज बार्ने होस् या अठार काण्ड महाभारत हुन्, आज पनि मसँग छन् । तर, नौ जना रसिकहरूले सम्पादन गरेको सुन्दरी भने मैले पाउन सकिनँ । यसको प्रति ईश्वर बराल र प्रकाश ए राजसँग मात्र छ । तर, राममणि आदिद्वारा सम्पादित तथा मातृकाप्रसाद अधिकारी लिखित माधवी पत्रिकाका आठ प्रति भने धेरै दौडधुप गरेपछि प्राप्त गरेँ । र, तिनको प्रतिलिपि भए पनि संकलनमा राखेको छु । सूक्तिसुधासुन्दरीको प्रभावमा निकालिएको पत्रिका हो, माधवी

मैले ज्ञान आर्जन गर्नका लागि संकलन थालेको हुँ । अरूले पनि मजस्तै ज्ञान आर्जन गरून् भनेर कविताका सबै किताब मैले मार्टिन चौतारीलाई हस्तान्तरण गरिदिएँ । खासमा कविता मेरो रुचिको विषय होइन । मेरो रुचि उपन्यास र अन्य अनुसन्धनात्मक किताबमै हो ।

सुरु–सुरुमा कठिन भयो । तर, पछिपछि मानिसले यसले संकलन गर्छ भन्ने थाहा पाएर आफूसँग भएका फाल्तु प्रतिहरू घरैमा ल्याइदिएका पनि उदाहरण छन् । मेरो एकजना व्यक्तिगत चिनजान नभएका तर प्रख्यात मानिसले त करिब १० हजार किताब मलाई सित्तैमा पठाइदिए । तर, ती प्राय: सबै मेरो संकलनमा पहिल्यै थिए र मैले अरूलाई बाँडिदिएँ । यसरी आज आफूलाई काम नलाग्ने भनेर अरूलाई बाँडेर रहेका करिब २५ हजार किताब र पत्रपत्रिका मेरो भण्डारमा छन् ।

प्र स्तुति : रमण घिमिरे

प्रकाशित: जेष्ठ २३, २०७५

ट्याग: सस्मरण