[तीन किताब ] त्यो सरिन्दा, यो सारंगी

- लोचन रिजाल

अचेल पुस्तकभन्दा संगीतमै डुबेको हुन्छु । संगीत पनि सोच्ने प्रक्रिया हो । मेरा लागि पुस्तक पढ्नु भनेको लेखकसँग वार्ता गर्नुजस्तै हो । पुस्तकलाई म सम्पदाको रूपमा लिन्छु । उहिले–उहिले हातमा जुन किताब पर्‍यो, त्यही पढ्थेँ । सुरु–सुरुमा अरुन्धती रोय, मोदनाथ प्रश्रितहरू पढेँ । जगदीशशमशेर राणाको सानिध्यमा रहँदा साहित्यिक पुस्तकको स्वाद पाएँ ।

पढ्नुपर्ने पुस्तक–सूचीमा कर्नाली ब्लुजदेखि पल्पसा क्याफेसम्म छन् । समयले चाहिँ मलाई सूचीबाहिर धकेलिरहेको छ । तर, म सांगीतिक जीवनको ट्रयाकबाहिर भने छैन । संगीतकै अनुसन्धानमूलक पुस्तकमा घोत्लिरहेको हुन्छु । विश्वविद्यालयको कामले पनि गैरआख्यानसँग लहसिएको हुन्छु ।

किताब भन्नेबित्तिकै मेरो मानसपटलमा आउँछ, बार्ड्स, ब्यालेड एन्ड बाउन्ड्रिज । ड्यानियल नेउम्यान र कोमल कोठारीसँग मिलेर शुभ चौधरीले लेखेको यो किताबमा राजस्थान (भारत) को लंघा र मंगानियर जातिको सांगीतिक इतिहासलाई लिपिबद्ध गरिएको छ । कलासंस्कृतिका पारखीलाई मात्र होइन, समाज विज्ञानीलाई पनि उपयोगी छ, किताब ।

संगीत र जीवन, बाजा र व्यक्ति, संगीत र समाजबारे गहकिलो अभिलेखीकरण गरिएको छ, किताबमा । अथाह ज्ञानको भण्डारणजस्तो लाग्ने यो किताब कुनै समय मेरो डाइनिङ टेबलदेखि बेडरुमसम्म सँगै हुन्थ्यो । यसले मलाई म्युजिकको एटलासकै रूपमा गाइड गरेको छ । लाग्छ, यो हात नपरेको भए लुकेर रहेको संगीतको उज्यालो छुट्थ्यो ।

लंघालाई पढ्दा मैले हाम्रै गन्धर्वलाई जोडेर पढेँ । यही किताबको तस्बिरबाट खिचिएर म दिल्लीको खान मार्केटमा सारंगी बजाउँदै आएका योगीहरूको पछि लागेर राजस्थान पुगेँ । र, लंघा जातिसँग केही संगत गर्न पाएँ । उताको लोपोन्मुख बाजा सरिन्दा र हाम्रो सारंगी उस्तै रहेछ । गाडी भाडा नहुँदासमेत उताको मौलिक बाजा किनेर फर्कें । बलिउडको कलाकारलाई पनि स्क्रिनमा मात्र देखेको मजस्ताले स्थानीय कलाकारलाई निकै नजिकबाट छाम्न पाएँ । यो चानचुने अवसर थिएन । यसको सूत्रधार नै यही पुस्तक हो । मलाई पनि यस्तै पुस्तक लेख्ने धोको छ ।

किशोर कालमा आफूले पढिसकेका किताबसँग साटेर पुरानो गितार घरमा ल्याउँथेँ । अहिले पनि मलाई किताब जम्मा गर्ने रुचि पटक्कै छैन । आफूले पाएको किताबको सुगन्ध अरूसँग साझा गर्न मन पराउँछु । त्यसैले मसँग धेरै किताब छैनन् । बाजा संकलनमा चाहिँ मेरो मोह बढिरहेकै छ । तर, किताबसँगको दोस्ती प्रिय नै लाग्छ ।

क्यारोल टिन्गीको हार्ट बिट अफ नेपाल : दि पञ्चेबाजा मेरो अर्को मनपसन्द किताब हो । गोरखा जिल्लाको दमाई संगीतमा आधारित यो पुस्तकबारे विश्वविद्यालय पढ्दाताकै सुनेको थिएँ । गातामा चित्रित नेपाली बाजाले नै मलाई लोभ्याएको थियो । नौमती–पञ्चेबाजा बनाउने–विधि, बजाउने तरिका र इतिहास समेटिएको यो पुस्तकलाई म ‘मस्ट रिड’ भन्छु । नेपाली राजनीतिक इतिहासलाई हाम्रो मौलिक संस्कृति र कलाकारसँग जोडेर हेर्नका लागि यो पुस्तक सहयोगी हुन सक्छ ।

लाग्छ, संगीत–इतिहासमाथि नेपालीमा पनि अनुसन्धानमूलक पुस्तक लेखियोस् । तर, रामशरण दर्नाल, तुलसी दिवस, किशोर गुरुङका थोरै किताबबाहेक गर्व गर्न लायक नामै छैन हामीसँग । बरु पिर्को मोइजाला, हान्स वाइजथनेटजस्ता विदेशी विद्वान्हरूले नेपाली जनजातीय संगीतमाथि प्रेरक पुस्तक लेखेका छन् ।

लोकप्रिय किताबको दुनियाँसँग मेरो खासै उठबस हुँदैन । आफ्नै रुचिको किताबी पानामा अपनत्व महसुस गर्छु । म संगीतभन्दा उति पर गएर सोच्न नसक्ने रहेछु । मेरा लागि संगीत बाजा–गाजा मात्र होइन, राष्ट्रिय गौरवको पाटो हो । नेपालजस्तो विविध जाति भएको देशमा संगीतबाट समाजलाई अध्ययन गर्न सकिन्छ ।

दाफा : सेक्रेड सिंगिङ इ अ साउथ एसिया सिटी पनि मेरो प्रिय पुस्तकको लहरमा छ । यसका लेखक रिचर्ड विडेस मेरो शोधपत्रका बाह्य परीक्षक पनि हुन् । नेपालको सांगीतिक सम्पदा, मौलिक संगीत–बाजा र इतिहाससँग जोडिएको यो पुस्तक मेरा लागि बहुप्रतीक्षित थियो । लन्डनका भए पनि रिचर्डले लामो समय नेपालमा बसेर मल्लकालदेखिका कथाहरूलाई समेत उनेर प्राज्ञिक ढाँचामा लेखेका छन् । भक्तपुरको नेवार जातिमा प्रचलित दाफा/भजन गायनमाथि केन्द्रित यो पुस्तकको मोल ११ हजार रुपियाँ पर्छ भन्ने सुनेको छु । यो पुस्तक मैले एथ्नोम्युजिकोलोजीमाथि गतिलो प्राज्ञिक पकड भएका तिनै लेखकबाटै प्राप्त गरेको थिएँ । अहिले विश्वविद्यालयको विभागले प्रयोग गर्ने गरी पुस्तकालयलाई दिएको छु । अनुसन्धाताहरू हारालुछ गर्छन् । पुस्तकले संगीतलाई सोच्ने विषयका रूपमा पनि पहिचान दिएको छ । नेपाली संगीतको आदिमता र मौलिकता जगेर्ना गर्न पनि यो पुस्तकको योगदान रहनेछ । गहिरिएर हेर्दा यस्ता किताबले जातीयता–क्षेत्रीयता, मूल धार–सीमान्तकृतजस्ता सीमाहरू भत्काइदिन्छ । नेपालको संगीत–सम्पदालाई संरक्षण गर्न दत्तचित हुन यस्तै किताबले प्रेरित गर्छ मलाई ।

भक्तपुरमै पनि दाफा गायन पातलो हुँदै गएको परिप्रेक्ष्यमा यसको ऐतिहासिक महत्त्व उच्च छ । यस्तै पुस्तकको आँखीझ्यालबाट हाम्रा मौलिक संगीतको जरा चिन्न सकिन्छ । पुस्तकका अवधारणाहरू अभ्यासमै आओस् भन्ने मलाई लाग्छ ।

प्र स्तुति : गुरुङ सुशान्त

प्रकाशित: जेष्ठ २३, २०७५

ट्याग: किताब