डायमनशमशेर राणा : दुर्घटनावश लेखक

- रमण घिमिरे

एकाबिहानै आख्यानकार डायमनशमशेर राणाले एउटा दुर्घटनागाथा सुनाए, “रेलले लिक छाड्यो भने दुर्घटना हुँदैन ? हो, म पनि दौडिरहेको लिकबाट हाम फालेर दुर्घटनावश लेखक भएको हुँ ।”

विश्वयुद्ध चलिरहेका बेला सेनाका मेजर थिए डायमन । उनको बटालियन कोलकाताबाट देहरादुन जाँदै थियो । तर, उनलाई म्याट्रिक परीक्षा दिनु थियो, पटना गएर । त्यही बेला पिताजीको देहान्त भए पनि उनी पटना पुगे ।

पहिलो दुर्घटना त्यहीँ भयो । विश्वयुद्धकै कारण देखाएर उनले फारम भरेका विषयहरूको जाँच नहुने भयो । एक त सेनामा रातदिन खटिनु परेकाले राम्ररी पढ्न नपाएको पीर । त्यसमाथि जुन सेन्टरमा फारम भरेका थिए, त्यहाँ पनि ती विषयको परीक्षा दिन नपाइने भयो । अनि, उनी काठमाडौँ फर्के । यो विसं १९९५/९६ तिरको प्रसंग हो । त्यही बेला श्री ३ चन्द्रशमशेरले छोरा मदनशमशेरलाई पढाउन भारतीय प्राध्यापक अनमेशचन्द्र रायलाई झिकाएका थिए । तर, मदनले पढ्नमा जाँगर देखाएनन् । त्यही बेला डायमनले उनीसँग सम्पर्क बढाए । “तिनले मलाई समुद्रमा पौडी खेलाएझैँ अंग्रेजी साहित्यमा डुबाइदिए,” उनले भने, “मैले संसार चहार्ने दृष्टि पाएँ । राणाको जगजगीमै वसन्ती लेख्ने प्रेरणा पाएँ ।” यो थियो, अर्को दुर्घटना ।

त्यसबेला राणाले तोकेका मानिसद्वारा किताब लेखाउँथे र उनीहरूको प्रशस्ति छापिन्थे । स्वेच्छाले किताब लेख्दा कति लेखकको सर्वस्वहरण भएको थियो, कतिले १० वर्षसम्म कठोर कारावास भोगेका थिए । यी २१ वर्षीयलाई यसको सुइँको थिएन । मृगेन्द्रशमशेर मातहतको नेपाल भाषा प्रकाशिनी समितिले किताब छाप्थ्यो । उमेरले १४ वर्षको अन्तर भए पनि मित्रवत् सम्बन्ध थियो उनीहरूबीच । मृगेन्द्र नेपालका पहिलो एमए पास विद्वान् थिए । चन्द्रशमशेरले एमए परीक्षा दिने अरू सबैलाई एक वर्ष रोकेर उनलाई मात्र परीक्षा दिन लगाएर पहिलो एमए बनाएका थिए । एक दिन डायमन उनै मृगेन्द्रलाई भेट्न गए वसन्तीको पाण्डुलिपि बोकेर । “मेरा लागि मृगेन्द्र दाजु थिए, स्नेह गर्थे, सँगै खेलिन्थ्यो, डुलिन्थ्यो,” उनले भने, “मलाई पाण्डुलिपि छाडेर जान अह्राए ।”

उनलाई त वसन्ती सक्दो छिटो छपाउनु थियो, त्यसैले दुई दिनपछि नै मृगेन्द्रकहाँ पुगे, बिहानै । अनि सोधेछन्– छपाऊँ त दाजु ! मृगेन्द्र त उल्टै जंगिए । जंगिनु मात्रै कहाँ हो र ? उनलाई लोप्पा नै खुवाइदिए र भने, ‘ई: छपाइस् !’ उनी स्तब्ध भए र फेरि सोधे, ‘किन दाजु ? राम्रो छैन र !’ यसपालि त मृगेन्द्र पड्किए नै, ‘नेपालमा बसेर यस्तो दुस्साहस गर्ने ?’ उनले भनेका थिए, “म वास्तवमा उमेर र अनुभवले आलोकाँचो नै थिएँ । अनजानवश फेरि सोधनी गरेँ, “मलाई त यो किताब जसरी पनि छपाउन मन छ, के गरूँ ?”

डायमन आफैँ बनारसमा किताब छपाउन तम्सिए ।

त्यसबेला थानकोटबाहिर जान पनि राहदानी बनाउनुपथ्र्यो ।

उनले छोराको टनसिलको अप्रेसन गर्नुपर्ने भनेर घुस खुवाएर डाक्टरको सिफारिस बनाएर कोलकाता जाने भन्दै जसोजतो राहदानी बनाए ।

अनि, पुगे बनारस ।

किताब त अरूले पनि छपाइराखेका थिए । ती पनि नेपालमै थिए । अनि, नेपाल बसेर किन किताब छपाउन नमिल्ने ? उनले फेरि निर्दोष प्रश्न सोधे । ‘अनि उहाँले ‘ल तुरुन्तै तँ यहाँबाट गइहाल्’ भनेर मेरो पाण्डुलिपि दस हात पर हुर्‍याइदिनुभयो । म फेरि स्तब्ध भएँ ।” मृगेन्द्रले आफ्नो नोकरलाई बोलाएर किताबको लहरबाट एउटा किताब निकाल्न लगाए– एक पापको कथा । लेखकको ठाउँमा ‘रन्दगे रिमी’ लेखिएको थियो । अनि, उनले भने, “मैले त आफ्नो नामलाई उल्टो पारेर बल्लतल्ल किताब निकालेँ, नत्र त बूढाहरू मलाई फाँसी लगाउँथे । तैँले यत्रो आँट कसरी गरिस् ?” उनी निन्याउरो मुख लगाएर फर्के ।

घरमा आए र जति पटक पढे पनि छाप्न मन मात्र लागिरह्यो । अलि दिनपछि हरिशमशेरसँग उनको भेट भयो । उनले पनि सचेत गराए, ‘रैतीको आँखा नखुलेकाले पो तिनीहरू हामीलाई स्वस्ति र सलाम गर्दै हिँड्छन् । यस्ता किताब पढेर तिनका आँखा खुलेपछि यत्रो गर्छन् सलाम ।”

डायमन आफैँ बनारसमा किताब छपाउन तम्सिए । त्यसबेला थानकोटबाहिर जान पनि राहदानी बनाउनुपथ्र्यो । उनले छोराको टनसिलको अप्रेसन गर्नुपर्ने भनेर घुस खुवाएर डाक्टरको सिफारिस बनाएर कोलकाता जाने भन्दै जसोजतो राहदानी बनाए । अनि, पुगे बनारस ।

यसरी बनारसबाट वसन्ती छपाएर ल्याए । राणाको छोराको किताब प्रकाशित भएपछि गोरखापत्रले त्यसको खबर छापिहाल्यो, ‘डायमनशमशेर जबराको बाहुलीबाट एउटा किताब प्रकाशित हुने भयो ।’ किताबको मूल्य दुई रुपियाँ थियो । तर, उनले एक रुपियाँमा बेचिदिए हुन्छ भनेर पसल–पसलमा पठाए । तर, एउटै किताब बिक्री भएन । डायमनले किताब लेखे भन्ने कुरालाई राणाका दरबारभरि नकारात्मक रूपमा कान फुकिएछ । अनि, अघोषित प्रतिबन्धजस्तै लाग्यो । वसन्ती किन्नु अपराध हुने भइगयो । त्यसैले एक थान पनि बिकेन । सबै चिनेजानेका राणाहरूले अनेक लाञ्छना लगाएर, छि:छि:, दूरदूर गरे । उनी असम्भ्रान्त लिकबाट एकैचोटि धेरै तल खस्न पुगे । उनी फेरि दुर्घटित भए ।

उनलाई वसन्ती काण्डमा राणा सरकारले गिरफ्तार गर्‍यो र फाँसीको सजाय तोकेर सिंहदरबारको गारदमा कोच्यो । तर, उनी अलिकति पनि विचलित भएनन् । झन्–झन् साहस दोब्बर भएर आयो । उनले नारा लगाए, ‘राणाशाही मुर्दावाद !’ त्यही बेला कांग्रेसले आन्दोलन नचलाएको भए र राजा त्रिभुवन भारत प्रवासमा गएर राणा शासनलाई नहल्लाएको भए सायद उनी वसन्तीका लागि सहिद हुन्थे । किनभने, राणाशाहीहरू एक जना राणालाई फाँसी चढाएर यस्ता प्रवृत्तिका राणालाई तर्साउन चाहन्थे ।

कांग्रेसको आन्दोलनले उनलाई बचायो र जेलमुक्त भए । अनि, कांग्रेसको पाटन क्षेत्रका सभापति पनि भए । सुवर्णशमशेर, विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहका प्रिय पात्र भए । राणाको छोरो राणाकै विरोधमा उत्रिएकाले उनको चौतर्फी जयजयकार भयो । यसरी वसन्तीले उनलाई चर्चित लेखक मात्र होइन, एउटा क्रान्तिकारी नेता नै बनाइदियो ।

 किताब बजारमा आएपछि काण्डहरू हुन थाले ।

किताब किन्न जाँदा टाउको फुटेका, हात भाँचिएका घाइतेहरू साझामा आएर कराउन थाले ।

प्रकाशनपूर्व प्रत्येक किताबको चार प्रति अञ्चलाधीश कार्यालयमा बुझाएर स्वीकृति लिनुपर्ने नियम रहेछ । 

सेतो बाघ स्वीकृत भएरै प्रकाशित भएको थियो । तर, कसैले पढेका त थिएनन् ।

उनी कांग्रेसै त थिएनन् । तर, पाटनको एक समारोहमा बीपीको भाषण सुनेर उनी ‘फ्यान’ भए । उनी ०१७ को काण्डपछि पटक–पटक जेल परे । उनीसँगै जेल परेकाहरू केही न केही लेखिरहेका हुन्थे । उनीसँगै नख्खुमा थुनिएका गिरिजाप्रसाद, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारीहरू केही न केही लेखिरहेका हुन्थे । यस वातावरणले उनलाई पनि लेख्न झकझक्यायो । त्यसैबेला लेखियो, सेतो बाघ

उनले जेलमै लेखिसिध्याए । जेलबाट निस्किने बेलामा जेलरसँग बिदाइको हात मिलाए । तर, जेलरले उनलाई तलदेखि माथिसम्म सरसर्ती निरीक्षण गरेपछि सोधे, “खोइ त तपाईंले लेख्नुभएको त्यो किताब ?” उनले अन्यमनस्क भावमा भनिदिए, “यहीँ छाडिदिएँ, यहाँ आउने बन्दीहरूले पढून्, म लैजान्नँ ।” तर, जेलरले उनको कुरै सुनेनन् । “त्यो तपाईंले लिएरै जानुपर्छ । नेहरू, गान्धीले जेलमा लेखेका किताबहरू पछि हिन्दुस्तानभरि धेरै प्रसिद्ध भए ।” अनि, उनले एउटा सिपाहीलाई खटाएर त्यो पाण्डुलिपि मगाए र उनको हातमा राखिदिँदै बिदा गरे ।

मन नलागी–नलागी ल्याएको त्यो कृति उनलाई फेरि पनि छपाउने जाँगर चलेन । कारण, दुई रुपियाँको वसन्ती त एक रुपियाँमा बिक्री हुन सकेन भने यो त बिक्ने झन् सम्भावनै थिएन । एक दिन उनी पाटनढोका छेउछाउ बालसाथी मदनशमशेरको दरबारमा गए । त्यसको छेउमै थियो, साझा प्रकाशन । त्यहीँ एक जनाले सेतो बाघ छाप्छु, दिनोस् भने । उनी साझा प्रकाशनका महाप्रबन्धक रहेछन् । उनले अस्वीकार गर्दा पनि साझामा काम गर्ने शंकर कोइरालालाई घरमा पठाएर सेतो बाघको पाण्डुलिपि मगाए । तैपनि, उनलाई त्यो छपाउने इच्छा थिएन । साझाले करार गरायो र १५ हजार रुपियाँको खाम उनको हातमा राखिदियो ।

 किताब बजारमा आएपछि काण्डहरू हुन थाले । किताब किन्न जाँदा टाउको फुटेका, हात भाँचिएका घाइतेहरू साझामा आएर कराउन थाले । प्रकाशनपूर्व प्रत्येक किताबको चार प्रति अञ्चलाधीश कार्यालयमा बुझाएर स्वीकृति लिनुपर्ने नियम रहेछ । सेतो बाघ स्वीकृत भएरै प्रकाशित भएको थियो । तर, कसैले पढेका त थिएनन् । औपचारिकता पूरा गर्न मात्र स्वीकृति दिएका थिए । अञ्चलाधीशले यो होहल्ला सुनेपछि किताब मगाएछन् । एउटा कर्मचारी किताब छाप्ने प्रेसतिर दौडिए । कर्मचारी प्रेसमा त पुगे । तर, प्रेसवालाले किताब छैन भनेर फर्काइदिए ।

भोलिपल्ट दलबलका साथ अञ्चलाधीशले प्रेसमा आफ्ना कर्मचारी पठाउँदा प्रेसवालाले पनि छरछिमेकका अरू हुल्याहा बटुलेर ठूलै हंगामा मच्चाएछन् । अब अञ्चलाधीशले किताबमाथि प्रतिबन्धको परिपत्र जारी गरे । सेतो बाघ पसलपसलमा ‘ब्ल्याक’ मा बिक्री हुन थाले, खुद मूल्यमा किन्न जानेलाई बिक्री गर्न मिल्दैन भनेर फर्काउन खोजे । यसरी बिक्रेता र खरिदकर्ताबीच मारपिट चलेछ । जाँचबुझ केन्द्रले छानबिन टोली खटायो । अब किताबको एकएक हरफ पढेर अर्थ लगाउनुपर्ने भयो । साझाका ती महाप्रबन्धकले लाचार भएर बाँकी भएका सारा प्रति सेतो बाघ उनको घरमा ल्याएर थुपारिदिए । र, भने, “हामीले तपाईंलाई दिएको १५ हजार पनि फर्काउनुपर्दैन, अब तपाईं आफ्नै पहलमा यो किताब बेच्नूस् ।”

अनि, उनले आफूसँग भएको प्रति बिक्री नसक्दै रत्न पुस्तकले फेरि १५ हजार अग्रिम भुक्तानी दिएर छाप्न लग्यो । यसरी उनले एउटै किताबमा दुईतिरबाट १५/१५ हजार रुपियाँ पाए । त्यसले उनको आर्थिक संकट धेरै हदसम्म टर्‍यो । “मेरो र श्रीमतीको औषधि खर्च नै दिनको दुई सय रुपियाँजति थियो । अनि, मैले बाध्यतावश रत्नलाई पनि स्वीकृति दिन बाध्य भएँ,” उनले भनेका थिए, “पछि यही सेतो बाघले मलाई गाँस–वासको व्यवस्था गरिदियो ।”

जताततै सेतो बाघको चर्चा हुन थाल्यो । फेरि साझाले पनि निकाल्यो । यसैबाट उनले लाखौँ रोयल्टी पाए । कुनै वर्ष त ६ लाख रुपियाँसम्म खल्तीमा हाले । पछि यही उपन्यास अंग्रेजी, फ्रेन्च, जापानी, हिन्दी र जर्मन भाषामा अनुवाद भएर अझ लाखौँ रोयल्टी थापे र नेपालमै सबैभन्दा बढी रोयल्टी खाने लेखक भए । नीर शाहले यसमाथि चलचित्र बनाउँदा १ लाख ४५ हजार रोयल्टी दिए । अर्को एउटा नाट्य समूहले ४० हजार रुपियाँ खनखनी गनेर नाट्य रुपान्तरण गरी मञ्चन गर्‍यो । हेलाँ गरेर मन नलागी–नलागी जेलबाट काखी च्यापेर ल्याएको र मन नलागी–नलागी नै साझा प्रकाशनलाई दिएको सेतो बाघले  डायमनलाई कालान्तरमा नाम, दाम दुवै दियो ।

प्रकाशित: जेष्ठ २३, २०७५