पोयट्रीको साधु

- कुमार नगरकोटी

यो मायावी नगरमा पोयट्रीको एउटा साधु बसोबास गर्छ, जसलाई प्रेमपूर्वक म दर्विश भन्छु । दर्विश अर्थात्, फकिर । यस्तो मायालु एवं काव्यालु दर्विश, जसलाई बीजहरुले फूल–वनस्पतिलाई जस्तै अस्तित्वले आफ्नो कोखमा साँचेर राखेको छ ।

यदाकदा म यो साधु अर्थात्, फकिर दर्विशलाई सम्झेर आत्मोत्सव मनाउँछु । मेरा अपूरणीय एकान्त क्षणहरुमा मलाई उसको असीम याद आउँछ । मैले निम्तो नै नगरेको बर्षात् जब मेघ गर्जनसहित गगनबाट बर्सन्छ, पतझडको उजाड याममा जब घाँसमा निदाइरहेका सुख्खा पात देख्छु, तब मलाई उसको याद आउँछ ।

यादबाहेक संसारमा संग्रह गर्न लायक चीज मैले आजसम्म देखेको, जानेको, सुनेको छैन । उसलाई मैले यादहरुको सन्दुकभित्र जतनसित संगालेर राखेको छु ।

उसलाई केरकार गर्दै नाम सोध्नुस् । ऊ भन्छ– साधुको के नाम ? जात–थर सोध्नुस् । ऊ भन्छ– जोगीको के जात, के भर ? उसको देश कहाँ, कता हो ?  ऊ कहन्छ– दर्विशको देश कहाँ, परदेश कहाँ ? घर त कहीँ–कतै होला नि भनी जिज्ञासा राख्नुस् । ऊ मुस्कुराउँदै भन्छ– जोगीको काँ घर काँ डेरा ? हृदय जहाँ बस्छ, त्यहीँ नै बसेरा ।

एक दिन मैले यो साधुलाई सोधेँ– उमेर कति ? उसले भन्यो– यो ब्रह्माण्डको उमेर जति, मेरो उमेर त्यति ।

यद्यपि, आफ्नो नाम विप्लव प्रतीक हो भन्ने उसलाई कहिलेकाहीँ ठूलो भ्रम हुन्छ । काव्यालय तथा नाट्यशालातिर काव्य–वाचन गर्दा मधुरो स्वरमा ऊ भन्ने गर्छ– ‘मेरो नाम विप्लव प्रतीक हो ।’

वाफ रे ! वाफ ! विप्लव ? त्यो पनि प्रतीक !

तर, उसको कुरा पत्याइहाल्नुपर्छ भन्ने तपाईंलाई कुनै दरकार छैन । तपाईंले अवश्य पनि ‘हररात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि...’ भन्ने गीत सुन्नुभएकै होला । र, यो पनि :

मलाई मन छ,

म भएको कसैलाई थाहा नहोस्

मलाई मन छ,

म गएको पनि कसैलाई थाहा नहोस् ।

ऊ अक्सर अक्षरमा हुन्छ । कविताले फेर्ने सास र गीतका अनुप्रासहरुमा हुन्छ । भन्छ– मान्छेको मृत्युमा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ । योद्धाको मृत्युमा राष्ट्र विधवा हुन्छ । र, इतिहासले बरखी बार्छ । तौवा–तौवा ! कस्तो विम्ब ! कस्तो वाणी !

तपाईं उसलाई टाढैबाट चिन्न सक्नुहुन्छ । ढाडमा वयेली खेल्ने लामो श्वेतजटा उसको सिग्नेचर लुक्स हो । युनिक हुलिया हो । स–साना नानीहरु त्यो जटामा पिङ खेल्न सक्छन् । चच्चहुँई, चच्चहुँई  ! पहिले–पहिले शिरमा टोपी लाउँथ्यो । अचेल लाउँदैन । टोपी, ह्याट, क्याप लगाउन मैले प्रतिबन्ध लगाइद्या छु । असरल्ल छरिएको केश कस्तो झकास हुन्छ । शिरपोस लाउँदा झुरपट्यास हुन्छ ।

उसलाई मैले उर्दी नै जारी गरेको छु, ‘शिरपोस लाएर आफ्नो युनिक लुक्स नष्ट गर्ने फकिरलाई कुनै अधिकार छैन । टेलिभिजन, पत्रपत्रिका या कहीँ–कतै शिरपोस लाएको पाइएमा–देखिएमा या मेरो जानकारीमा आएमा त्यही क्षण मनको सन्दुकबाट दर्विशको यादलाई निकाल्नेछु । र, बन्दुकले उडाइदिन्छु ।’

सहरका अधिकांश लेखक लेखन र देखनमा अलग–अलग हुने गर्छन् । देखिइने एउटा, हुने अर्कै । कविहरु कवितामा एउटा देखिइन्छन्, भवितामा अर्कै । लाग्छ– निजहरु मल्टिपल पर्सनालिटी डिसअर्डरद्वारा ग्रस्त छन् । यस्तै बेला मलाई यो साधुको झझल्को आउँछ । किनभने, ऊ एक अपवाद हो । र, अपवादसँग संगत र सत्संग गर्नु मेरो रुचिलो आदत हो । आँखामा राख्दा पनि नबिझाउने भन्ने लोकोक्ति उसैका निम्ति बनेको हुनुपर्छ ।

ऊसित म प्राय: सूत्रमा कुरा गर्न रुचाउँछु, झेन शैलीको । एक साँझ उसलाई मैले फोनमा सोधेँ, ‘मेरो कोठामा किताबहरू मात्रै छन् । म छैन रहेछु । के म यसबखत त्यहाँ तपाईंसित छु ?’ उसले भन्यो, ‘हो कुमार, तिमी यहीँ छौ । तर, आइसझैँ ज्यादै चिसो, फ्रोजन छौ । तिमीलाई ह्विस्कीमा घोलेर पिउँदै छु ।’

शिल्पी थिएटरको आँगनमा एक दिन उसले भन्यो, ‘आज यो सहर साह्रै अश्लील लागिराछ । जाऔँ कुमार, डाँडाकाँडा हिँडडुल गरौँ ।’ मैले भनेँ, ‘डाँडा त ठीकै छ । काँडामा चैँ कसरी हिँड्ने होला ?’ मलाई छड्के हेर्दै उसले सुफियाना अन्दाजका साथ भन्यो, ‘काँडामा म हिँडुला । डाँडा तिम्रो भो ।’

मैले मदिरा पिउन छाडेकामा ऊ मसित खफा औ खफा छ । तर, उसको मन भने सफा छ । आफ्नो जीवनको पहिलो इनिङ मैले मदिरा खाएर नष्ट गरेँ । ऊ आइपुग्यो, मेरो जीवनको दोस्रो इनिङमा । उसमा मेरो कुनै दोष त नहुनु पर्ने हो । तर, ऊ प्राय: भनिरहन्छ, ‘कुमार तिमीसँग बसी ह्विस्कीको चुस्की लिने मेरो अधूरो इच्छा कहिले पूरा गर्छौ ?’ म सान्त्वना दिन्छु– ‘यो अधूरो होइन, अश्लील इच्छा हो दर्विश ! जाबो ह्विस्की पनि के पिउनु ? बरु सुकरातको हेमलक–विष ल्याउनुस् । सँगसँगै पिऔँला ।’

धेरै दिन भयो, दर्विशसित मेरो भेट भएको छैन । मेरा निम्ति ऊ सहरको कुनै गल्लीमा हेमलक–विष खोजिरहेको होला ।

प्रकाशित: जेष्ठ २३, २०७५

ट्याग: पर्सोनाज