बेला बदलियो, बोली उस्तै

- बाबुराम विश्वकर्मा

‘नरेन्द्र मोदी यस्ता प्रधानमन्त्री हुन्, जो अमेरिकाको माडिसन स्क्वायरदेखि जनकपुरको मैदानसम्मका लाखौँ–लाख भारतीयलाई सम्बोधन गरेर सीधै उनीहरूसँग जोडिएका छन् ।’

भारतीय विदेशमन्त्री सुषमा स्वराजले १४ जेठमा आफ्नो मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा नेपालको भौगोलिक अखण्डतामै गम्भीर आँच पुग्ने अभिव्यक्ति दिइन् । नेपालको नागरिक तहमा स्वराजको व्यापक आलोचना भए पनि देशभित्रका राजनीतिक दल र संगठित संस्थाहरूले औपचारिक रूपमा कतै खण्डन गर्न चाहेनन् । परराष्ट्र मन्त्रालयका प्रवक्ताले स्वराजको त्यस्तो अभिव्यक्ति आउनुलाई दुर्भाग्य भनेपछि सरकारको थप प्रतिक्रिया आएन ।

अझ भारतीय विदेशमन्त्री स्वराज स्वयंले भिडियो ट्वीट गरेपछि मात्र नेपालप्रतिको आपत्तिजनक अभिव्यक्तिबारे थाहा हुन गयो । त्यसपछि मात्रै हो, सामाजिक सञ्जाल तातेको । उनी आफ्नो तर्फबाट गल्ती भएको भन्दै क्षमा माग्न बाध्य भइन् । हाललाई यो प्रकरण साम्य देखिन्छ ।

स्वराजको कथन क्षमा माग्दैमा सामसुम हुने खालको चाहिँ थिएन । किनभने, २८ वैशाख जनकपुरको मोदी अभिनन्दनमा पुगेका नागरिकलाई भारतीय भन्नु न भुलचुक हो, न त उनको जिब्रो नै चिप्लिएको हो । अमेरिकाको माडिसनका भारतीय नागरिक र जनकपुरको रंगभूमिमा एकत्रित प्रदेश २ का जनता उही होइनन् । तर, उनले दुवैलाई भारतीय ठानिन् ।

०७२ मा भारतले नेपालमाथि लगाएको साढे चार महिना लामो नाकाबन्दीपछिको निरन्तर हस्तक्षेपकै पछिल्लो कडी हो, स्वराजको अभिव्यक्ति । नाकाबन्दीका बेला भाजपा नेता तथा गृहमन्त्री राजनाथ सिंहले पनि गोरखपुरको महाराजगन्जमा ‘नेपालको मधेसमा भारतीय मूलका एक करोड नागरिक रहेको र आफूलाई तिनको सुरक्षा चिन्ता लागेको’ विवादास्पद टिप्पणी गरेका थिए ।

सिंहको त्यो बोली र अहिलेको स्वराज अभिव्यक्तिलाई उस्तै ठान्छन्, नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डल । भन्छन्, “सिंहले त्यतिबेला भनेको भारतीय मूल र स्वराजले अहिले भनेको भारतीयको अर्थ एउटै हो । दुवैले मधेसी समुदायलाई आप्रवासी बनाएका छन् । यस्तो आपत्तिजनक अभिव्यक्ति भारतीय संस्थापनबाट जानी–बुझी नै आउने गरेको छ ।”

मोदी अभिनन्दनमा जनकपुरमा भेला भएका नागरिकलाई विदेशमन्त्री स्वराजले भारतीयको संज्ञा दिँदा पनि प्रदेश २ को सरकार र त्यहाँका राजनीतिक दलले खण्डन गरेका छैनन्, न त सत्तारुढ नेकपा र प्रमुख विपक्षी कांग्रेसकै खण्डन सुनिएको छ । सम्भवत: सबैले स्वराजको माफी नै पर्याप्त ठानेका छन् । प्राध्यापक भोगेन्द्र झा भन्छन्, “स्वराजले नजानेर वा झुक्किएर बोलेको कुरा होइन । तर, त्यसको मौन समर्थन गरिनु झन् आपत्तिजनक छ ।”

प्रदेश २ मा संघीय फोरम नेतृत्वको मधेसी गठबन्धन सरकार छ । तर, प्रदेश सरकार र संसद्ले पनि स्वराजको अभिव्यक्तिको खण्डन गरेका छैनन् । जबकि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर अभिनन्दन प्रदेश सरकारकै नेतृत्वमा भएको हो । फोरम नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपाले भने २१ जेठबाट सुरु हुने प्रदेश अधिवेशनमा यो मुद्दा चर्काउने जनाएको छ । मण्डल थप्छन्, “प्रदेश सरकार र सत्तारुढ पार्टीलाई त स्वराजको कथनले खुसी पारेको होला । तर, हामी संसद्मा त्यसको घोर भत्र्सना गर्ने तयारीमा छौँ, किनभने यो गल्ती क्षमा मागेर मुक्त हुने खालको होइन, पहिला मार्ने अनि क्षमा माग्ने ?”

नेपालको भौगोलिक अखण्डतामा भारतीय संस्थापन पक्षका अरू नेताबाट पनि प्रहार हुँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएकै दिन २८ वैशाखमा लोकसभा सांसद कीर्ति आजादले प्रधानमन्त्री मोदीसँग जनकपुर भारतमा फर्काएर मिथिला राज्य गठनको माग गरे । मोदीले रंगभूमिमा सम्बोधन गरेकै बखत आएको भाजपा नेता आजादको आपत्तिजनक ट्वीट यस्तो थियो– ‘आदरणीय नरेन्द्र मोदीजी, जनकपुरधाम, मिथिलाको राजधानीमा तपाईंलाई स्वागत छ । दुई सय वर्षअघि अंग्रेज र नेपालबीच भएको सन्धिमा मिथिलाको भूभाग नेपाललाई दिएको समय सकिएको छ । मेरो अनुरोध छ, यसलाई फिर्ता ल्याउनुहोस् र सीता मातालाई आदर गर्दै मिथिला राज्य गठन गर्नुहोस् ।’ यसको सर्वत्र आलोचना भए पनि आजादले त्यो ट्वीटप्रति न क्षमा मागे, न त कुनै प्रतिक्रिया दिए ।

विडम्बना त के भने, भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा धार्मिक कर्ममा मात्र सीमित गर्न सकिएन, प्रदेश सरकारको योजना र तयारीमा रंगभूमिमा विशाल जनसमूह उतारेर नागरिक अभिनन्दनसमेत गरियो ।

नागरिक अभिनन्दनमा मोदीले विवादास्पद अभिव्यक्ति नदिए पनि मुख्यमन्त्री लालबाबु राउतले भने देशकै बेइज्जत हुने अभिव्यक्ति दिए मोदीसामु–“विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि अहिले पनि संघर्ष जारी छ ।” त्यत्तिमै उनी रोकिएनन्, “राज्यले मधेसीप्रति लिएको विभेदकारी नीति, पूर्वाग्रह र विद्वेषपूर्ण मानसिकताका कारण मधेसी जनता तुलनात्मक रूपमा अत्यधिक गरिब, बेरोजगार, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन बाँच्न विवश छन् ।”

संविधानको व्यवस्था अनुसार संघीय शासन व्यवस्थाले नै आफूलाई प्रदेशको मुख्यमन्त्री बनाएको बिर्सिएर लालबाबुले संविधानकै खिलापमा छिमेकी देशका प्रधानमन्त्रीसामु यस्तो अभिव्यक्ति दिए । तर, अहिलेसम्म पनि उनी आफ्नो अभिव्यक्तिको बचाउमा छन् । फोरमले पनि मुख्यमन्त्रीको भनाइको खण्डन गरेको छैन ।

मोदी भ्रमणका बेला अखण्डतामै प्रहार गरिएका भिडियो सन्देश पनि सामाजिक सञ्जालमा पोस्ट गरिएका थिए । यस्ता विकृति रोक्न प्रदेश र संघीय सरकार असफल रहे । प्राध्यापक झा भन्छन्, “प्रदेश सरकारमा अनुभवहीनको जमात भएकाले तिनले कुरा नै बुझेका छैनन् । भारतीय पक्षलाई गलत बोल्न जानी–नजानी प्रेरित गरिएको छ । त्यसैले अब पनि सतर्क भइएन भने धेरै ढिलो भइसकेको हुन्छ ।”

मोदीलाई जानकी मन्दिरको तीर्थाटनमै सीमित गरेको भए न मुख्यमन्त्री लालबाबु विवादमा पर्ने थिए, न त यसलाई जोडेर विदेशमन्त्री स्वराजको अभिव्यक्ति आउने थियो । राजविराजका वरिष्ठ अधिवक्ता हिम्मत सिंह भन्छन्, “प्रदेश २ भारतको क्रीडास्थल भइसकेको छ । हाम्रा राजनीतिक दलका नेताले यस्तै गलत रबैया जारी राखे भने परिस्थिति अझै जटिल बन्न सक्छ ।”  

प्रकाशित: जेष्ठ २१, २०७५

ट्याग: राजनीति