सुबानीको ग्याजेट प्यासन

- विभु लुइटेल

न्युमनको टीएलएम–१०३ स्टुडियो माइक्रोफोन  सुबानी मोक्तान, २९, को सबैभन्दा प्रिय ग्याजेट हो । एक लाख रुपियाँभन्दा महँगो यो ग्याजेटकी फ्यान सुबानी भन्छिन्, “यसले बाहिरी हल्ला रेकर्ड गर्दैन, प्रयोग गर्न पनि सजिलो छ ।” उनी गायिका, सञ्चारकर्मी र भ्वाइस ओभर आर्टिस्टका रुपमा परिचित छिन् । 

घरमा ठूलाबडाका फोन र ल्यापटप चलाउँदै जाँदा उनको ग्याजेट–मोह झाँगिदै गयो । अनेक ब्रान्डका फोन चलाइसकेकी उनी अहिले भने सामसुङको ग्यालेक्सी एस–८ प्रयोग गर्छिन् । “मेरो फोनमै छ आफ्नो संसार । यसको क्यामेरा, साउन्ड र सेन्सर निकै राम्रा र सुविधाजनक छन्,” उनले आफ्ना फोनको तारिफमा केही शब्द खर्चिइन् । 

फोटो खिच्न, सामाजिक सन्जालमा अपडेटेड रहन, ई–बुक्स पढ्न र मोबाइल गेम्स खेल्न उनी फोनको प्रयोग अत्यधिक गर्छिन् । कतै जाँदा केही फुरिहाले आफ्ना गीत मोबाइलमै टिपोटसमेत गर्छिन् ।

रेटिना डिस्प्लेयुक्त म्याकबुक प्रो–२०१५ सुबानीको अर्को प्रिय ग्याजेट हो । “म सबैजसो गीत यसैमा रेकर्ड गर्छु । यसको साउन्ड क्ल्यिारिटी गज्जबको छ,” उनको अनुभव छ । भिडियो स्पष्टता र स्टोरेज धेरै भएका कारण पनि म्याकबुक उनको रोजाइमा परेको हो ।

सुबानीको रुचि फोटोग्राफीमा पनि छ । यसका लागि उनी आफ्नो फोनबाहेक क्याननको ७० डीको डीएसएलआरसमेत प्रयोग गर्छिन् । उनी यस क्यामेराको फोकस र एक्स्पोजरकी फ्यान हुन् । यसका अतिरिक्त उनी आइप्याड मिनी चलाउँछिन् । उनको अनुभवमा यसको बहुआयामिक सुविधा त छँदैछ, बोकेर हिँड्न पनि सजिलो छ ।

विभिन्न अत्याधुनिक स्टुडियो ग्याजेट खरिद गरी आफ्नै घरमा सुविधासम्पन्न रेकर्डिङ स्टुडियो बनाउने सपना छ, सुबानीको । उनको सारा ध्यान यसैतर्फ केन्द्रित छ । स्टुडियो बनिसकेपछि घरैमा गीत रेकर्ड गरी बजारमा ल्याउने सोच छ उनको । 

प्रकाशित: जेष्ठ २१, २०७५