विपिनको ‘ब्रेकथ्रु’ [फिल्म समीक्षा : हरि]

फिल्म समीक्षा : हरि | रेटिङ : ३.५/५

- गोकर्ण गौतम

फिल्म मूलत: कला हो, त्यसपछि मात्र व्यापार । तर, हामीकहाँ बजार निर्देशित फिल्मको बिगबिगी छ । सस्ता कमेडी, बासी सूत्र र रोनाधोना जर्बजस्ती थोपरिन्छ । सिर्जनात्मक पाटोलाई बेवास्ता गरिन्छ । काव्यिक चेत सुख्खा छ । त्यसैले साँचो अर्थमा सिनेमा साहित्य बन्न सकेको छैन । फिल्ममेकर नवीन र मौलिक प्रयोगको जोखिम मोल्दैनन् । एकाधले प्रयास नगरेका होइनन् । तर, प्राय: कहीँ न कहीँ बजारु मनोदशाबाटै ग्रसित छन् ।

यहाँ यत्रो भूमिका बाँध्नुको कारण छ । तमाम भ्रान्तिबाट मुक्त एउटा फिल्म प्रदर्शन भएको छ, हरि । यसका लेखक–निर्देशक हुन्, सफल केसी र प्रतीक गुरुङ । अनि, फिल्मको मेरुदण्डचाहिँ अभिनेता विपिन कार्की । आफ्नो पहिचानको संकटमा रहेको दमित पात्रको मनोवैज्ञानिक छटपटीमा केन्द्रित हरि कथावाचनको मामलामा नेपाली फिल्मवृत्तले पाएको सुन्दर उपहार हो । तर, फिल्म भनेको कोरा मनोरञ्जन र ‘टाइम पास’ मात्र मान्नेलाई हरि होइन, हरिबिजोग लाग्न सक्छ ।

रामहरिका पनाति, कृष्णहरिका नाति तथा शिवहरिका छोरा हुन्, विष्णुहरि (विपिन) । घरमा आमा (सुनिता श्रेष्ठ ठाकुर) छिन् । उनी फाइनान्स कम्पनीको शाखा म्यानेजर हुन्, आफ्नै बाइक छ । चिरिच्याट्ट परेर अफिस जान्छन् । आमाले टिफिन पठाइदिन्छिन् । अर्थात्, बाहिरबाट हेर्दा सब ठीकठाक छ । तर, भित्रभित्रै गुम्सिएका छन् उनी । घरमा आमाले रक्सी–मासु त के, लसुन–प्याजसमेत खान दिन्नन् । हरियो कपडा लगाउनै हुन्न । देखेजति भगवान्लाई ढोग्नैपर्ने । बन्धनै–बन्धन । अफिसमा आफूभन्दा कनिष्ठ कर्मचारी आकाश (कमलमणि नेपाल)ले हेप्छन् । अफिस–घरबाहेक बाँकी संसार छैन । तैपनि, जिन्दगी चल्दैछ ।

एक दिन अफिस जाँदा चरिले हरिको टाउकोमा बिस्ट्याइदिन्छ । त्यो कागले होला कि परेवाले ? तनाव यहीँबाट सुरु हुन्छ । र, शान्त स्वभावका हरि चोरी, हत्यादेखि अनेक लफडामा फस्दै जान्छन् । कसरी ?

आवरणमा फिल्मको कथा यस्तै सामान्य छ । तर, यसको ‘ट्रिटमेन्ट’ भने बडो गज्जब । यस फिल्मको मुख्य विशेषता नै मूलपात्रको आन्तरिक द्वन्द्व र बेचैनीको अलग र अर्थपूर्ण चित्रण हो । यावत् भूमरीमा फसेको तर अभिव्यक्त गर्न नसक्ने पात्र समाजमा प्रशस्तै भेटिन्छन्, जो कथित सामाजिक र पारिवारिक बन्देजबाट प्रताडित हुन्छन् । हरि पनि त्यस्तै लाग्छ । तर, खासमा उनले आफ्नो दमित इच्छा र आवेग पोखिरहेका हुन्छन् । जुन दर्शकले मात्र देख्न पाउँछन्, उनी वरपरका मान्छेलाई पत्तै हुन्न । त्यसका लागि निर्देशकद्वयले अतियथार्थ र विसंगत कथावाचन रोजेका छन् ।

झट्ट हेर्दा हरिका हर्कत अपत्यारिलो लाग्छ । तर, त्यसभित्र अनेक गहकिला तहहरू लुकेका छन् । आकाशप्रतिको रिस, ट्याम्पुवालीप्रतिको प्रेम, बाबाप्रतिको विश्वास, आमासँगको सम्बन्ध र तिनका प्रस्तुतिले फिल्मलाई विशेष बनाएको छ । हरिले दर्शकसँग गर्ने प्रत्यक्ष–वार्ताले आत्मीयता बढाउँछ ।

मध्यान्तरसम्म हास्य पैदा हुने दृश्य र संवाद टन्नै छन् । तर, ती हँसाउनकै खातिर राखिएका होइनन् । पात्र र प्रसंग अनुरुप छन् । हाँस्दा–हाँस्दै जीवन र जगत्प्रति गहन सवाल खडा भइरहेको हुन्छ । भाव अनुसारको सेट डिजाइन, फ्रेमिङ, कलर, प्रकाश, पृष्ठभूमि संगीतबाट निर्देशकको मिहिनेत र चेत अनुमान लगाउन सकिन्छ । नयाँ बनाउने बहानामा निरर्थक दृश्यलाई किञ्चित महत्त्व दिइएको छैन । कथा उसैगरी अगाडि बढ्दै जान्छ, जति पात्र र अवस्थाले माग गर्छ । कतिपय सन्दर्भमा फिक्का पनि लाग्छ । तर, त्यसमा निर्देशकको अनावश्यक चतुर्‍याइँ देखिन्न । त्यसैले न्यारेटिभमा नवीनता खोज्ने सन्दर्भमा हरि साहसिक र इमानदार प्रयास हो भन्न हिच्किचाउनु पर्दैन । फ्रान्समा सांस्कृतिक आन्दोलनका रूपमा सुरु भएको अतियथार्थवाद हामीकहाँ सय वर्षपछि सिनेमामा आएको छ ।

त्यसो त फिल्म कमजोरीबाट मुक्त छैन । कतिपय ठाउँमा हरिको ‘भ्वाइस ओभर’ले दिक्दारी पैदा गर्छ । पैसा लुट्ने दृश्यतिर पुगिरहँदा फिल्म आफ्नो विधागत ‘ट्रयाक’भन्दा बाहिर अर्थात् क्राइम थ्रिलरजस्तो भइदिन्छ । मूल द्वन्द्वलाई विकेन्द्रित गर्ने यस घटनाले निर्देशकमा रहेको अलमल र द्विविधा देखाउँछ । यस्तै आभास हुन्छ, क्लाइमेक्समा पनि । परम्परागत कथ्य संरचनालाई भत्काइएको भए पनि मूल कथा अपेक्षाकृत अब्बल छैन । एउटै पात्रलाई झेल्न नसक्ने दर्शकलाई उकुसमुकुस हुनसक्छ । यद्यपि, आकाशको जुत्ताप्रतिको आशक्ति, हरिको बुबाको गाइने साथी, रहस्यमयी बाबा, बुबाको ज्याकेट लगाएपछि हरिमा आउने मानसिक परिवर्तन, हरिले खाएको लसुन आदिलाई हल बाहिर निस्कँदा पनि भुलिन्न । केही दृश्यमा छायाको प्रयोग प्रतीकात्मक र सुन्दर लाग्छ । पात्रलाई हरेक दर्शकले भिन्ना–भिन्नै कोणबाट विश्लेषण गर्ने सुविधा पनि छ ।

हरिको करिब ९० प्रतिशत दृश्यमा विपिन देखिन्छन् । एउटा कलाकारले एउटै फिल्ममा यति विविधता भएको र गतिलो चरित्र पाउन ज्यादै मुस्किल हुन्छ । उनले सबै चरित्रमा जीवन दिएर अभिनेताका रूपमा आफूलाई चिरायु बनाएका छन् । तर, विष्णुहरिमा कतै–कतै जात्राका पात्र फणीन्द्रको छनक आएको छ । बाबाचाहिँ ‘ अल्टर इगो’ चरित्र हो । शेक्सपियरका नाटकमा यस्ता चरित्र पाइन्छन् । आमा बनेकी सुनीता श्रेष्ठ ठाकुरको करिअरकै सशक्त अभिनय र फिल्म हो यो । पत्नीपीडित चरित्रमा देखापरेका कमलमणिले सम्झनालायक काम गरेका छन् । उनकी पत्नी (लक्ष्मी बर्देवा) लाउड लाग्छिन् । पहिलो फिल्म हरिमार्फत नेपाली फिल्मको मौलिक कथ्य र शैली निर्माणमा निर्देशकद्वय सफल छन् । उनीहरूसँग   अझ सशक्त सिनेमाको अपेक्षा राख्न सकिन्छ ।

सबै नवीन प्रयोग फलदायी हुँदैनन् । तर, हरि धेरै हदसम्म शानदार बनेको छ । दृश्य भाषाको समृद्धिका खातिर पनि अरू हरिहरू बनिरहनुपर्छ । कलात्मक फिल्मका पारखी र विपिनका फ्यानले छुटाउने कुरै भएन । तर, मूलधारका मसलेदार फिल्मप्रेमीका अपेक्षा भने पूरा हुँदैन ।

प्रकाशित: जेष्ठ १८, २०७५