[स्मरण] विश्वनाथको टोपी रुँघेर बस्दा

उनले सोधे, “घर कसरी जानुहुन्छ ?” मैले भनेँ, “बिस्तारै हिँडेर जान्छु ।” उनले भने, “मसँग गाडी हुँदाहुँदै किन हिँडेर जाने ? आउनूस् म पुर्याछइदिन्छु ।”

- शिव रेग्मी

मैले ०२२ मा राष्ट्रिय वाणिज्य बैंकमा अन्तर्वार्ता दिएँ । त्यसबेला कर्मचारी छनोट अन्तर्वार्ताबाटै गरिन्थ्यो । मैले करिब ६–७ जनाको ‘सोर्स’ लगाएको थिएँ । तीमध्ये एक जना प्रधानमन्त्री सूर्यबहादुर थापा नै थिए । भन्नेले भनिदिएनन् या बैंकका हाकिमले मानेनन्, तर मेरो नाम निस्केन ।

मैले हरेस खाइनँ । फेरि सोर्सफोर्स लगाएँ र कानुन आयोगमा खरिदारमा नियुक्ति पाएँ । बैंकमा मेरो अन्तर्वार्ता लिनेमध्येका एक विश्वनाथ उपाध्याय नै कानुन आयोगको अध्यक्ष थिए । उनले आजैदेखि काम गर्नू भनेर तोक लगाइदिए र वैतनिक कर्मचारी हुन पुगेँ ।

पछि म विश्वनाथ उपाध्यायको पीए भइसकेको भएँ । उनी प्रशासनमा अत्यन्त अनुशासित र कडा मानिन्थे । उनको पीए बस्दा मलाई धेरै पटक आपत् आइलागेको छ । कार्यालय आउँदा र जाँदा लबेदा–सुरुवाल र कोटसँगै टोपी अनिवार्य थियो । उनी कार्यालय प्रवेश गरेपछि टोपी र पर्स मलाई जिम्मा लगाउँथे ।

म त्यही पर्सबाट पैसा झिकेर उनलाई कफी खुवाउँथे । रेडियो नेपाल या राष्ट्रिय पञ्चायतको क्यान्टिनबाट कफी मगाउनुपथ्र्यो । बेलुकी ५ बजेतिर आफ्नो कार्यकक्षबाट उठेर बाहिर कतै निस्किने बानी थियो उनको । मलाई चाहिँ आपत पथ्र्यो । पर्स त खल्तीमा राखे पनि हुन्थ्यो । तर, टोपी खल्तीमा राख्दा खुजमजिन्थ्यो । म उनको टोपी हातमा लिएर मूलगेटमा खडा रहन्थेँ । यसरी कुर्दाकुर्दा कहिलेकाहीँ त ६ बज्थ्यो । उनको हातमा पर्स र टोपी राखिदिएपछि बल्ल मुक्त भएर घर फर्किन्थेँ ।

त्यसबेला सरकारी गाडीको प्रबन्ध थिएन । कानुन सचिव विनोदप्रसाद धिताल मात्र निजी रसियन जिपमा कार्यालय आउँथे । विश्वनाथ उपाध्याय बागबजारबाट हिँडेरै सिंहदरबारसम्म आउँथे ।

उपाध्यायले कार्यालयका सबैलाई तलब खुवाउने जिम्मेवारी पनि मलाई नै सुम्पिएका थिए । त्यसबेला उनको तलब ६ सय रुपियाँ थियो भने मेरो १ सय ५० रुपियाँ । एकपटक मैले सबैलाई तलब खुवाएँ र घर फर्किएँ । घरमा पुगेर पैसा गन्दा त २ सय ५० रुपियाँ पो निस्कियो ! सय रुपियाँ कहाँबाट बढी आयो भनेर धेरै बेर रन्थनिएँ । मैले त उपाध्यायलाई ६ सय दिनुपर्नेमा पाँच सय रुपियाँ मात्र दिएछु ।

भोलिपल्ट १० बज्नुअघि नै कार्यालय पुगेँ र गेटमै उभिइरहेँ । उपाध्याय आएपछि नमस्कार गरेँ । उनलाई पछ्याउँदै कार्यकक्षमा पसेँ । र, डराउँदै सय रुपियाँ उनको हातमा राखिदिएर भनेँ, “हिजो भूलवश सय रुपियाँ कम भएछ ।”

उनले खासै आपत्ति जनाएनन् । यतिमात्र भने, “भोलाले हिजो मेरो झपार खायो ।” भोला नामका पियन दिउँसो कार्यालयमा काम गर्थे र बिहान–बेलुका उनकै घरको भान्सा तयार पार्थे । बेलुकी कोठा फर्किएपछि उनले भोलालाई ‘कोटको खल्तीमा पर्स छ, त्यहाँ पैसा निकालेर सामान किनेर ल्याऊ’ भनेर असन पठाएछन् । पछि पैसा फिर्ता माग्दा त्यो सय रुपियाँको हिसाब आएनछ ।

बिजुली अड्डाको सञ्चालक समितिमा पनि थिए, उपाध्याय । त्यहाँबाट प्राप्त हुने बैठक भत्ता बुझेर घर पुर्‍याइदिने जिम्मा पनि मेरै हुन्थ्यो । एकपटक– उनको मञ्जुरीनामा लिएर बिजुली अड्डाबाट बैठक भत्ता बुझेँ र उनको डेरामा पुगेँ । ढोका बन्द थियो । धेरै पटक ढकढक्याउँदा पनि नखुलेपछि घचेटेर भित्र पसेँ ।

उपाध्यायपत्नी सुतिरहेकी रहिछन् । दुइटा स–साना छोरा थिए । ‘ममीलाई उठाइदेऊ न बाबु हो’ भनेको त दुवै जना खाटमुनि लुके । अब मलाई आपत् पर्‍यो ।

खाक्कखुक्क गरेपछि बल्ल उनी उठिन् । र, त्यो रकम बुझाएर कार्यालय फर्कें । त्यो जानकारी गराउँदा मतिर पुलुक्क हेरे, बस् । धन्यवाद भन्ने त उनको चलनै थिएन ।

पछिल्लो पटक ०४७ को संविधान बनाउँदा भेट भएको थियो, उपाध्यायसँग । त्यसबेला म प्रधानमन्त्री कार्यालयको उपसचिव थिएँ । उनी मेरो कार्यालयमा आइरहन्थे । एकपटक प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग भेटेर निस्किँदा ६ बजिसकेको थियो । उनले सोधे, “घर कसरी जानुहुन्छ ?” मैले भनेँ, “बिस्तारै हिँडेर जान्छु ।” उनले भने, “मसँग गाडी हुँदाहुँदै किन हिँडेर जाने ? आउनूस् म पुर्‍याइदिन्छु ।”

उनले मलाई आफ्नै छेउको सिटमा बसाएर घर छाडिदिए । मैले चिनेका विश्वनाथ उपाध्याय साह्रै सहृदयी व्यक्ति थिए ।

प्र स्तुति : रमण घिमिरे

प्रकाशित: जेष्ठ १६, २०७५

ट्याग: सस्मरण