भ्रष्टाचारको ब्रह्माण्ड [पुस्तक समीक्षा]

पुस्तक : दि आइडिया अफ इन्टेग्रिटी एन्ड दि युनिभर्स अफ करप्सन एन्ड एन्टिकरप्सन | लेखक : देवेन्द्रराज पाण्डे | प्रकाशक : रेड इन्क बुक्स, काठमाडौँ |पृष्ठ : ५२४ | मूल्य : १२९० रुपियाँ

- भीम भुर्तेल

देवेन्द्रराज पाण्डेले दि आइडिया अफ इन्टेग्रिटी एन्ड दि युनिभर्स अफ करप्सन एन्ड एन्टिकरप्सनमार्फत भ्रष्टाचार, यसको प्रतिरोधी अभियान, यसबारे प्राज्ञिक कसरतबारे गम्भीर विमर्श भित्र्याएका छन् । पाण्डे दरबार निकट परिवारमा जन्मे–हुर्के । किशोरावस्था नलाग्दै देशको पहिलो प्रजातान्त्रिक आन्दोलन देखे । सार्वजनिक सेवा प्रवेशको सुरुआतमै देश बन्द–समाज र राजनीतितर्फ फर्केको अनुभव गरे । ‘सिभिल राइट मुभमेन्ट’को राप–तापको समयमा अमेरिकामा ‘पब्लिक एन्ड इन्टरनेसनल अफेयर्स’मा स्नातकोत्तर गरे । भियतनाम युद्ध उत्कर्षको समयमा पीएचडी गरेका पाण्डेले आफ्नो व्यावसायिक जीवनमा उच्च सरकारी अधिकारी, अर्थमन्त्री, विकासविज्ञ, नेता, भ्रष्टाचारप्रतिरोधी अभियानकर्ता र प्राज्ञका रूपमा स्वदेश र विदेशमा करिब ६० वर्ष अध्ययन, अभ्यास, अनुभव, अवलोकन र आत्मपरावर्तन गरे । त्यसैको उत्पादन हो– दि आइडिया अफ इन्टेग्रिटी इन दि युनिभर्स अफ करप्सन एन्ड एन्टिकरप्सन । त्यसैले पाण्डे यो पुस्तक अभिव्यक्तिको शैली आफैँले भोगेको कथामार्फत व्यक्त गर्ने ‘एनेक्डट’मा आधारित मान्छन् ।

पाण्डेले यो पुस्तकको लेखन प्रगतिशील सान्दर्भीकरण (प्रोग्रेसिभ कन्टेक्स्चुअलाइजेसन आउटवार्ड इन स्पेस ब्याकवार्ड इन टाइम) अध्ययन विधिलाई आधार बनाएर भ्रष्टाचारबारे अनुप्रस्थ खण्डीय (क्रस–सेक्सनल) र अनुदैध्र्य (लङ्गिच्युडनल) अध्ययनमा बहुविधागत उपागम प्रयोग गरेका छन् । यो कृतिले भ्रष्टाचारबारे राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, सार्वजनिक नीतिशास्त्रलगायतका समाज–विज्ञान मात्र होइन, अलौकिकतासम्मलाई उपयोग गरेको छ । ‘नेपाल्स फेल्ड डिभलपमेन्ट’ले विकास प्रक्रिया, मिसन र अधमता सम्बन्धमा गरेको सैद्धान्तीकरणजस्तै यसले भ्रष्टाचारको सैद्धान्तीकरण गर्छ ।

अहिले संसारभर भ्रष्टाचार भन्नाले सार्वजनिक सम्पत्तिलाई निजी बनाउने सीमित अर्थमा मात्र बुझ्ने गरिन्छ । भ्रष्टाचार भन्नाले घुस खाने, कमिसन खाने, नजराना उठाउने, बिनालगानी कमाउने (रेन्ट सिकिङ), हाम्रो देशमा झैँ पैसा खाएर सार्वजनिक नियुक्ति गर्ने (किकब्याक्स), सार्वजनिक सम्पत्ति पचाउने, राज्य कब्जा गर्नेजस्ता क्रियालाई मानिन्छ । भ्रष्टाचारविरोधी गतिविधि भनेको यस्ता गतिविधिको रोकथाममा सीमित गरेर बुझिन्छ । जस्तै, नेपालमा भ्रष्टाचारप्रतिरोधी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको विभाग, न्यायपालिकामा न्याय परिषद्जस्ता संस्था राज्यको स्तरमा छन् । र, संविधान, अख्तियार ऐन र भ्रष्टाचार निवारण ऐन, सार्वजनिक खरिद ऐन, न्याय परिषद् ऐनजस्ता कानुनले भ्रष्टाचार भनेको घुस खाने र पदको दुरुपयोग गरेर कमाउने हो भन्नेमा सीमित गरेको छ । अमेरिका, जापान, बेलायतजस्ता विकसित र भारत, चीन, कोरियाजस्ता विकासशील देशको पनि अवस्था यस्तै हो ।

भ्रष्टाचारविरोधी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)को अन्तर्राष्ट्रिय बर्लिन बोर्डमा दुईपटक सदस्य निर्वाचित पाण्डे पछिल्लो केही एक दशक राज्यको तहबाट निर्मित संस्था, कानुनी व्यवस्था, नागरिक अभियान र टीआईको आफ्नै भ्रष्टाचारबारेको संज्ञान(कग्निसन), भ्रष्टाचारविरुद्धको अभियान, सो अभियानको रणनीतिक ज्ञान र संकथन उत्पादनप्रति नै असहमत छन् । पाण्डेको विचारमा भ्रष्टाचार भनेको पदको दुरुपयोग र आर्थिक अपचलनसँग मात्र जोडिएको छैन । सानो संख्यामा रहेको शक्ति, सत्ता र सम्पत्तिमाथि पकड राख्ने वर्गको निर्मम स्वार्थपूर्तिको मूल्य गरिब, लाचार, शक्तिहीन र बेसहारा ठूलो जनसंख्याले चुकाउनुपर्ने अवस्था भ्रष्टाचारको विद्यमान कानुनी र प्राविधिक विषय मात्र मान्न सकिन्न । यो संसारभर समाजका लागि ठूलै नैतिक चुनौती हो भन्ने पाण्डेको ठम्याइ छ । पुस्तकले यस्तै अवस्थालाई व्यक्ति र संस्था दुवैको स्तरमा इमानको अभाव अर्थात् ‘इन्टेग्रिटी डेफिसिट’का रूपमा परिभाषित गरेको छ । यसलाई कानुन, प्रहरी, अदालत, जेलजस्ता सीमित चस्माले हेरियो भने भ्रष्टाचारको प्रतिरोधी अभियानले कतै पुर्‍याउँदैन भन्ने पाण्डेको निष्कर्ष छ । यो त हरेकको व्यक्तिगत र संस्थागत इमान जमान, सराफत, निष्ठा, भरोसा, न्यायिकता, सुष्ठता (फेयरनेस)सँग जोडिएको विषय हो । अन्तत: यो सवाल मानवतासँगै जोडिन गएको छ ।

विधायिकामा संख्यात्मक अंकगणितले विधि र सरकार निर्माण गर्न सकिन्छ । तर, त्यो आफैँमा पर्याप्त हुँदैन । विगतमा सांसद खरिद–बिक्रीजस्तै भारतको कर्नाटक विधानसभा निर्वाचनपछि सरकार निर्माणका क्रममा जे देखियो, त्यसले राजनीतिमा व्यक्ति र संस्था दुवैको ‘इन्टेग्रिटी’ क्षयीकरण मात्र गर्छ । नेपालको अदालत र अख्तियारका विगत गतिविधिले भ्रष्टाचारविरोधी संस्था घुसको अन्तिम अखडा बनेको अवस्था छ । यस्ता घटनाले जर्मन समाजशास्त्री जर्जेन ह्याबरमासले इंगित गरेजस्तो राज्य, सरकार र लोकतन्त्रको वैधतामाथि नै प्रश्न खडा गरिदिन्छ ।

त्यस्तै, अमेरिकामा हरेक वर्ष करिब ३५ हजार व्यक्तिको मृत्यु बन्दुके हिंसामा हुन्छ । यो सडक दुर्घटनामा मर्नेको कुल संख्याको दोब्बरभन्दा पनि धेरै हो । सवारी चालकको अनुमतिका लागि चालकले ‘ट्रायल पास’ गर्न अनिवार्य छ । तर, बन्दुक राख्न कुनै पनि व्यक्तिको पृष्ठभूमिको परीक्षण हुँदैन । त्यसैकारण विद्यालय, कलेज र रात्रिक्लबमा अवोध र निर्दोष मान्छे मर्छन् । त्यसैकारण नेसनल राइफल्स एसोसिएसन (एनआरए)का अर्बपतिहरूले राष्ट्रपति र कांग्रेसको निर्वाचन नै खरिद गर्छन् । एनआरएले समर्थन नगरे राष्ट्रपति पद जित्न कठिन हुन्छ । अमेरिकी सार्वजनिक नीति निर्माणमा ‘इन्टेग्रिटी’को स्खलनले यो सबै भइरहेको छ । छिमेकी देश भारतमा एक/डेढ लाखको कर्जा तिर्न नसक्दा बर्सेनि लाखौँ किसानले आत्महत्या गर्छन् । तर, निरव मोदी र विजय माल्याजस्ता व्यापारी २५ हजार करोडभन्दा बढीको घोटाला गरेर भाग्न सफल हुन्छन् । नेपालमै ३२ सय साना–ठूला व्यापारीले अर्बौँ भ्याट ठगेका काण्ड छन् । राजनीतिज्ञ करोडौँसम्म सरकारी खर्चमा विदेशमा उपचार गर्छन् । गाउँका निमुखा जीवनजलको अभावमा सामान्य झाडापखालाले मर्छन् ।

पुस्तक पढ्दै जाँदा मानव नृवंशशास्त्रमा मानिसको नामकरण (नोमकेन्क्लेचर)होमो स्यापिन्स गलत हो भन्ने लाग्छ । भ्रष्टाचार एक सर्वत्र (ओविक्युटस) र यो प्राचीनतम एन्टिक्युटी) प्रघटनाको भएकाले मान्छेको ‘नोमकेन्क्लेचर’ होमो स्यापिन्स नभई ‘होमो करप्टस’ हुनुपर्ने तर्कना हुन्छ । पुस्तकको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, नवशास्त्रीय अर्थशास्त्रले मानिस एक विवेकशील जनावर हो भन्ने मान्यताको आलोचना गर्नु । भ्रष्टाचारको विरोध गर्नुभन्दा नगर्दा उपयोगिता वा मूल्य अधिकीकरण गर्न सक्छ भने त्यस अवस्थामा भ्रष्टाचारको विपक्षमा कोही उभिँदैन भन्ने तर्क रहेको पाइन्छ । डा गोविन्द केसीलाई अदालतको मानहानि गरेको भनी थुन्ने कार्य यही उपयोगिता अधिकीकरणमा बाधा पैदा गरेकाले हो ।

पाण्डेले अहिले संसारमा भएको आर्थिक असमानतालाई ‘इन्टेग्रिटी डेफिसिट’को उत्पादन मानेका छन् । उनले निइम मोइसेसलाई उद्धृत गर्दै थोमस पिकेटीको क्यापिटल इन ट्वेन्टी फस्र्ट सेन्चुरीको कमजोरी उल्लेख गरेका छन् । पिकेटीले आर >जी अर्थात् पुँजीको उत्पादकत्व दर आर्थिक वृद्धिदरभन्दा धेरै भयो भने आर्थिक असमानता पैदा हुन्छ भन्ने तर्कमा कमजोरी रहेको पाण्डेको तर्क छ । आर्थिक असमानताका लागि आर >जीका कारण नभई सि>एचको अवस्थाले गर्दा हो । अर्थात्, जबसम्म समाजमा ‘क्रोनी क्यापिटालिस्ट’सँगको सम्बन्धबाट सार्वजनिक मूल्यमा निजी आर्जन गर्नेको भ्रष्ट राजनीतिकर्मी र नोकरशाहको संख्या इमानदार राजनीतिज्ञ र प्रशासकभन्दा धेरै हुन्छ, तबसम्म भ्रष्टाचारकै कारण आर्थिक असमानता बढ्दै जान्छ ।

पाण्डेको पुस्तकसँगै हावर्ड विश्वविद्यालयका मनोवैज्ञानिक स्टिभिन पिंकरको इनलाइटनमेन्ट नाउ : दि केस फर रिजन, साइन्स, ह्युमानिज्म, एन्ड प्रोग्रेस नामक पुस्तक बजारमा आएको छ । पाण्डेको पुस्तकसँगै पिंकरको पुस्तक पनि पढिरहँदा उनले धेरै स्थानमा पिंकरको  ‘थेसिस’प्रति असहमति राखेको पाइन्छ । पिंकरले अहिले समाजमा आर्थिक असमानता बढे पनि ज्ञान, विज्ञान, विवेक र मानव उन्नतिमा बढोत्तरी भइरहेको तर्क दिएका छन् । तर, अहिले समाजमा व्यक्ति र संस्था दुवैको ‘इन्टेग्रिटी’को स्तरमा ठूलै स्खलन आउनुको कारण विवेक, ज्ञान, विज्ञान र तर्कको दुरुपयोग हो भन्ने पाण्डेको तर्क छ ।

अहिले ‘इन्टेग्रिटी डेफिसिट’पछाडिको खास कारण समाज विज्ञानको स्वरूप र उद्देश्यमा नै समस्या भएर हो भन्ने पुस्तकको एक प्रमुख ‘थेसिस’ हो । विश्वविद्यालयले समाज विज्ञान अध्यापन गराउँदादेखि नै समस्या छ । समाजविज्ञान, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, विकास अध्ययन, सार्वजनिक नीति अध्ययन आदिका संस्थापक पूर्वजले यी विषयलाई आवश्यकताको विज्ञान अर्थात् ‘निड्स साइन्स’का रूपमा गरेका थिए । तर, अहिले यी सबै लालसा अर्थात् ‘ग्रिड’को साइन्समा परिणत भएको छ । विश्वविद्यालयले नै स्नातक र स्नातकोत्तरलाई ‘ग्रिडी’ बनाइरहेका छन् । पूर्वीय होस् वा पश्चिमा, समाजमा ‘ग्रिड इज गुड’ भन्ने धारणालाई मान्यता दिलाउन समाजविज्ञानको धेरै ठूलो भूमिका छ, भ्रष्टाचार मौलाउन शिक्षित व्यक्ति नै संलग्न हुनुले यस तर्कमा दम छ । साथै, यसमा नवउदारवाद र ‘नियोकोन’ विचारधारा जिम्मेवार छ भन्ने तर्क छ । अहिले विज्ञान, विवेक र तर्कको विकास भएको दाबी गरिए पनि चाहे विकसित वा विकासशील देशमा नवसामन्तवाद र नववंशवादतर्फ संसार फर्किरहेको छ । यस्तो अवस्थामा कसरी समाजको प्रगति भइरहेको मान्ने भनेर पिंकरलाई प्रश्न गरेजस्तो लाग्छ ।

लुइस केस्लो र मोर्टिमर एडलरहरूले ‘क्याप्टालिस्ट मेनिफेस्टो’ लेखेपछि जसरी पनि धन कमाउनुपर्छ भन्ने मान्यता स्थापित भयो, पश्चिमा विश्वमा । जसरी भए पनि धन कमाऊ ठूलो मान्छे बन भन्ने मान्यता स्थापित भयो । अमेरिकी राष्ट्रपति ट्रम्पले हाउ टु गेट रिच पुस्तकमा कर छल्नुलाई ‘स्मार्टनेस’ भनी परिभाषा गरेका छन् ।

बुद्ध, चाणक्य, कन्फ्युसियस, आडम स्मिथ, रिकार्डो, माक्र्सदेखि गान्धीसम्मको चिन्तन समाजको आवश्यकता व्यवस्थापन गर्दै उपयोगिता अधिकीकरणमा केन्द्रित थियो । अहिलेको समाजविज्ञान ‘ग्रिड’ अधिकीकरण गर्न सिकाउँछ । पाण्डेको निष्कर्षमा यसैकारण सामाजिकीकरणको एक प्रमुख एजेन्सी ज्ञान उत्पादन गर्ने संस्थाकै ‘इन्टेग्रिटी’को अभाव बढ्दै छ । पुस्तक पढिसकेपछि एउटै कुरो खड्किन्छ । पुस्तकमा भ्रष्टाचारबारे समाजको संज्ञानात्मक (कग्निटिभ), व्यवहारजन्य (विहेविहरल) र विश्वदृष्टिकोण (वेल्टनसउङ) समेतमा ‘इन्टेग्रिटी डेफिसिट’ भएको निष्कर्ष छ । भ्रष्टाचारलाई हेर्ने, बुझ्नेमै समस्या छ । भ्रष्टाचारबारे स्नातक र स्नातकोत्तरले नै गलत बुझ्ने अवस्था सिर्जना भएपछि गलत व्यवहार र अभ्यास सिक्नु स्वाभाविक हुने नै भयो । त्यस्तै सामाजिकीकरणको अर्को एजेन्सी कार्यस्थलका समकक्षी पनि ‘इन्टेग्रिटी डेफिसिट’ले ग्रस्त छ । यस्तो अवस्थामा पाण्डेले परिकल्पना गरेको इन्टेग्रिटी निर्माण गर्ने एजेन्सी के–के हुन् र तिनको संरचना कस्तो हुन्छ ? कस्ता–कस्ता सामाजिक, आर्थिक र राजनीतिक संस्था एजेन्टका रूपमा काम गर्छन् भन्ने विषयबारे भने पुस्तक मौन छ ।

यो पुस्तकको सकारात्मक पक्ष र जोड आशावादितामा छ । पाण्डेकै शब्दमा, बाइबल, त्रिपिटक, कुरान र पुराण नैतिकता अनुशरण गराउन असफल भएका छन् । चर्च क्रिस्चियन मूल्य–मान्यता पालना गराउन नसकेको मात्र होइन, बाल यौनदुराचारीले भरिएका छन् । मस्जिद कट्टरताले मानवीय चरित्र र अनुहार गुमाएको छ । बौद्ध गुम्बा र ‘मोनास्ट्री’ले गुरुत्व गुमाउँदै लगेको अवस्था छ । सेन्सेक्समा आउने गिरावटले धेरै हिन्दु धर्मगुरुलाई हृदयाघात हुने मात्र होइन, रामरहिम र आशारामजस्ता बलात्कारी बाबाले हिन्दु मठ र आश्रम दुर्गन्धित भएको अवस्था छ । विश्वविद्यालय र समाजविज्ञान ‘ग्रिड’ सिकाउने माध्यम भएका छन् । कार्यस्थलमा ‘प्रोफेसनल पियर’ भ्रष्टाचारको स्रोत भएको अवस्थामा पनि पाण्डे समाजमा‘इन्टेग्रिटी’ स्थापित र नैतिक अनुशरण हुन्छ भन्नेमा आशावादी छन् । भ्रष्टाचारका अध्येता, अभियानकर्ता, प्राज्ञिक वर्ग मात्र होइन, सामान्य जिज्ञासुले समेत स्थानीय, राष्ट्रिय, क्षेत्रीयदेखि वैश्विक प्रशासन र दाताको सहायतासँगै आएको भ्रष्टाचार, भ्रष्टाचारीविरोधी अभियान र त्यसको प्रतिरोध गर्ने रणनीतिक ज्ञानको उत्पादन र विकासबारे दृष्टिकोण निर्माण गर्न पुस्तकले ठूलो सहयोग गर्छ । 

 

प्रकाशित: जेष्ठ १६, २०७५