आन्दोलनलाई आवाज

- श्रवण मुकारूङ

‘बिसे नगर्चीको बयान’ कविता कसरी लेख्नुभयो ?’

विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजनहरूमा मैले यसको जवाफ दिएको छु । तर, आज फर्केर हेर्दा आफैँ आश्चर्यचकित हुन्छु– के यी सब उत्तर मैले नै दिएको हुँ ?

मलाई अनायास हाम्रा प्रयोगवादी कवि मोहन कोइरालाको एउटा घटना सम्झना हुन्छ । ०५० तिर कीर्तिपुरमा एमए पढ्दै गरेका एक विद्यार्थी थेसिस लेख्ने योजनासहित कविजीको वासस्थान मैतीदेवी आइपुगेका थिए । उनले हातमा नोटबुक र कलम तयार पारेर कविजीलाई सोधे– “कविवर ! ‘फर्सीको जरा’, ‘सारंगी’जस्ता कविता कसरी लेख्नुभयो ?”

छोटो मौनतापछि मधुर मुस्कानका साथ मोहन दाइले उत्तर दिनुभयो, “त्यही त भाइ, कसरी लेखेँ हुँला हगि ! म पनि आफैँलाई बेला–बेला यही प्रश्न सोध्ने गर्छु, कसरी लेखेँ हुँला ?” कविजीको यस्तो अनौठो उत्तर सुनेर ती विद्यार्थी अक्क न बक्क भए ।

उनी केही छिनपछि नबोली त्यहाँबाट बिदा भए । मोहन दाइले उनलाई गेट नकाटुन्जेल ‘आउँदै गर्नुस् है’ भनिरहनुभयो । ती विद्यार्थीले एमए गरे–गरेनन् ? थाहा छैन । मलाई भने मोहन दाइसितको त्यो प्रसंग अहिले पनि रोचक लाग्छ । टीएस इलियटलाई पनि ‘वेस्ट ल्यान्ड’ लेखेपछि यस्तै प्रश्न गरियो, गरिएन होला ? तर, जानिफकार भन्छन्– त्यसैले उनी आफँै आफ्ना कविताको समालोचक भए । गोपालप्रसाद रिमाल, भूपि वा बैरागी काइँलाको कुरा पनि यही हो । यद्यपि, काइँलाको कविताको सही विमर्श गरिदिने इन्द्रबहादुर राईजस्ता व्याख्याता थिए ।

०६२/०६३ को जनआन्दोलन सम्पन्न भएको डेढ दशक पुग्नै लाग्यो । राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र, अझ समावेशी लोकतन्त्रको अभ्यासमा छौँ हामी । अहिले ‘बिसे नगर्चीको बयान’ कविताको वैचारिक बिन्दु वा आधारभूमिमा नेपालको राजनीतिक व्यवस्था छ । उसो भए अब के यो कविताको सान्दर्भिकता सकिएको हो ? तत्कालीन अवस्थामा निरंकुश राजतन्त्रविरुद्धमा लेखिएको यो कविताबारे छलफल गर्दा आउने कमजोर प्रश्नमध्ये एउटा यो पनि हो । यसको उत्तर मैले दिइरहनु नपर्ला । किनभने, असल सिर्जनाको सान्दर्भिकता सधैँ रहिरहन्छ भन्ने सर्वविदितै छ । तर, आज यहाँ यही विषयमा फेरि किन चर्चा गरिँदैछ भने जनआन्दोलनका बेला यो कविता प्रथमपटक नेपाल साप्ताहिकको १९ असार ०६२ को अंकमा प्रकाशित भएको थियो ।

त्यतिखेर जनआन्दोलन उत्कर्षतिर थियो । राज्यद्वारा सञ्चार माध्यममाथि व्यापक दमन सुरु भएको थियो । रेडियो सगरमाथा, रेडियो कान्तिपुरजस्ता एफएममा ज्यादती बढिरहेको थियो । स्वतन्त्र रेडियो बचाऊ आन्दोलन पनि चर्किंदै थियो । यसका अगुवा थिए, अभियन्ता रघु मैनाली । उनैले वाक् स्वतन्त्रताका पक्षमा स्रष्टाका तर्फबाट ऐक्यबद्धता जाहेर गर्न कवितासहित आर्ट काउन्सिल, बबरमहलमा उपस्थित हुन अनुरोध गरे । मैले भोलि बिहान सुनाउन त्यही रात यो कविता लेखेँ ।

कविता झट्टै, अनायास वा तत्काल लेखिने विषय होइन । कविको चेतन–अवचेतनमा अघिदेखि त्यसको निर्माण वा विनिर्माणको प्रक्रिया गुज्रिरहेको हुन्छ । आशुकवि वा लोककविहरूले पनि कविता तत्काल निर्माण गर्ने होइनन्, उनीहरूभित्र अघि नै तिनका जीवन, संघर्ष वा अनुभवले कविता बुनिसकेका हुन्छन्, बुनिरहेका हुन्छन् । बाहिर प्रस्फुटन हुने मौका मात्रै मेला, हाटबजार, भेट वा संयोगहरू भइदिन्छन् । यसकारण मैले ‘बिसे नगर्चीको बयान’ कविता मेरो मस्तिष्कमा त्यतिबेलादेखि लेख्न थालेँ हुँला, जतिबेलादेखि मैले यो देश, देश होइन । अन्याय, असमानता र विभेदहरूको कालो दह हो । यसको मूल कारण यहाँको व्यवस्था हो भन्ने बुझेँ । तर, कविता त भाषाको कला पनि हो । सार्वजनिक हुन त फेरि शब्दले लेखिनैपर्छ । त्यसैले शब्दद्वारा व्यक्त हुन कविलाई भाषा चाहिन्छ । त्यो भाषा मलाई ०६२–६३ को जनआन्दोलनले दियो । त्यो जनआन्दोलनको भाषा भनेको यो देशका उत्पीडित, दलित, सीमान्तकृत वा सबाल्टर्नहरूले आफ्नो हक–अधिकार खोज्ने भाषा थियो । मैले त्यही महान् भाषा समाएँ र यो कविता परिवर्तन चाहनेहरूका लागि नारा नै बन्यो, साझा सपनाजस्तो बन्यो ।

प्रकाशित: जेष्ठ १५, २०७५

ट्याग: गणतन्त्र