विश्वकप २०१८ : विवादको घेरामा रुस

- पवन आचार्य

फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले ८ वर्षअघि रुसलाई सन् २०१८ को विश्वकपको आयोजक छान्दा विवाद भयो । त्यतिबेला विश्वकप आयोजनामा फुटबलको हस्ती राष्ट्र बेलायतले पनि चासो देखाएको थियो । त्यस्तै, पोर्चुगल, स्पेन, बेल्जियम र नेदरल्यान्ड्सले पनि विश्वकप आयोजनाका लागि निवेदन दिएका थिए । तर, ६५ लाख ९३ हजार ८ सय वर्गमाइलमा फैलिएको र ९ वटा टाइमजोन भएको विश्वकै सबैभन्दा ठूलो राष्ट्र रुसले आयोजकमा बाजी मार्‍यो ।

फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले विश्वकप आयोजकको नाम घोषणा गर्दै भनेका थिए, ‘हामी यसपटक नयाँ भूमिमा जाँदैछौँ । यसअघि रुस र पूर्वी युरोपमा कहिल्यै विश्वकप आयोजना भएका थिएनन् । ती क्षेत्रका वासिन्दाले लामो समयसम्म यसको प्रतीक्षा गरेका थिए । फुटबलको विकास र विस्तारका लागि यो कोशेढुंगा सावित हुनेछ ।’

रुसले पनि सोभियत संघको पतनपछि विश्व मानचित्रमा आफूलाई अझै शक्तिशाली भएको प्रमाणित गर्न विश्वकप आयोजना गर्ने मनसाय राखेको थियो । त्यसका लागि हुने पूर्वाधार निर्माणको लाभ रुस लिन चाहन्थ्यो । त्यसैले त्यतिबेला उसले १३ सहरका १६ वटा स्टेडियममा फुटबल आयोजना गर्ने महत्त्वाकांक्षी योजना राखेको थियो ।

राजनीतिक प्रभाव

रुसले विश्वकप आयोजना गर्न पाउने भएयता विभिन्न शक्ति–राष्ट्रहरूको कडा टिप्पणी आएको थियो । रुसमा आयोजना भएका खेलकुदका बृहत् प्रतियोगिता विवादमुक्त रहेनन् । त्यसको छाया यो विश्वकपमा पनि पर्ने आकलन धेरैले गरेका थिए । सन् १९७९ मा अफगानिस्तानमाथि आक्रमण गरेको विरोधमा अमेरिकासहित ६५ राष्ट्रले सन् १९८० मा मस्कोमा आयोजना भएको ग्रीष्मकालीन ओलम्पिक वहिष्कार गरेका थिए ।

इँटको जवाफ पत्थरले दिने मनसायले पूर्वी ब्लकका १४ राष्ट्र, तत्कालीन सोभियत संघ र पूर्वी जर्मनीले अमेरिकाको लस एन्जल्समा आयोजना भएको ओलम्पिक वहिष्कार गरेका थिए । सिरियामाथिको आक्रमणमा विभाजित दुई शक्तिशाली राष्ट्रबीचको शीतयुद्धले पनि यो संस्करणको विश्वकपलाई रोमाञ्चक तुल्याउने आकलन धेरैले गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘राष्ट्रपति पुटिनलाई फुटबल मन पर्दैन । उनले केही खेल हेर्ने समय निकाले मात्रै त्यो ठूलो हुनेछ ।’ तर, फुटबलको शक्ति र त्यसबाट विश्वलाई प्रभावित पार्न सक्ने क्षमताबाट पुटिन बेखबर छैनन् ।

जर्मन नेता माइकल फुच्सले मलेसियन एयरलाइन्सको विमान १७ को दुर्घटनाको सजाय स्वरूप रुसलाई विश्वकप आयोजकबाटै च्यूत गर्नुपर्नेसम्मको कडा चेतावनी दिए । तर, यति हुँदाहुँदै पनि फुटबलको महाकुम्भ यस्तो राष्ट्रमा आयोजना हुँदैछ, जो सधैँ विवादको घेराभित्र रहँदै आएको छ । परिवर्तित विश्व राजनीतिमा सदैव एउटा शक्तिको रूपमा उभिएको, शीतयुद्ध अन्त्यपछि आफूलाई शक्तिशाली देखाउन प्रयास गरिरहेको र विदेशी चुनावको नतिजालाई प्रभावित पारेको भन्दै आलोचना भइरहेको समय रुस विश्वकप आयोजक बनेको छ । तर, विश्वका अन्य मुलुकका लागि स्वागतको ढोका खोल्ने माध्यमका रूपमा रुस यो विश्वकपको प्रयोग गर्न चाहन्छ । सारा विश्वको ध्यान विश्वकप आयोजनामा हुने फाइदा रुसले अहिले लिइरहेको छ ।

विश्वकपको सफल आयोजना गरेर पुटिन आफ्ना आलोचकको मुख बन्द गरिदिन चाहन्छन् । पश्चिमा राष्ट्रहरूको आलोचनाबीच विश्वकपको सफल आयोजना गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने पुटिनलाई राम्ररी थाहा छ । चार वर्षमा लगातार ओरालो लागेको कामदारको न्यूनतम ज्याला र घट्दो आर्थिक वृद्धिदरबाट जनताको ध्यान मोड्न विश्वकप जत्तिको महत्त्वपूर्ण र मेगा इभेन्ट अरू कुनै हुने छैन ।

विवादका मुद्दा

सन् १९७८ मा अर्जेन्टिनाले आयोजना गरेको विश्वकप पनि विवादमुक्त थिएन । जुन्टा शासकको निर्मम र पाशविक यातनाका कारण ४० वर्षअघिको विश्वकपबारे अहिलेसम्म चर्चा हुने गरेको छ । रुस पनि आन्तरिक कलह र विवादमा फसिसकेको छ । रंगभेद, होमोफोबिया, मानव अधिकार र यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार, घट्दो आर्थिक वृद्धिदर र अन्तर्राष्ट्रिय स्तरमै आलोचित क्षेत्रीय राजनीति केही विवादित मुद्दा हुन् ।

सन् २०१० मै विश्वकप आयोजक चुनिएको कतारले सन् २०२२ को विश्वकप आयोजना गर्दैछ, जुन विवादमुक्त छैन । पश्चिमा राष्ट्रहरूले कतारमा विश्वकप आयोजना हुन नसक्ने दलील अझै पेस गर्न छाडेका छैनन् । तर, रुस यो मौका गुमाउन चाहँदैन । राजनीतिक प्रभावले सन् २०१८ र २०२२ को विश्वकप आयोजक चुनिएको भनेर आरोप लगाउनेहरू पनि कम छैनन् ।

रुसले फुटबल राजनीतिमार्फत विश्व राजनीतिमा आफूलाई हावी पार्न खोजेको परिघटनाले पनि यसको पुष्टि गर्छ । फुटबल र राजनीति पछिल्लो समय एकअर्कामा नराम्ररी घुलमिल भइसकेका छन् । त्यसलाई सम्भवत: अर्को उचाइमा रुसले पुर्‍याउन खोज्दैछ । किनभने, विश्वकपजस्तो फुटबलको महाकुम्भ अरू छैन । र, रुसका लागि विश्वकपजस्तो अरू कुनै हुने छैन ।

आयोजक रुस र विश्वकपको विवाद यत्तिमै अन्त्य हुँदैन । खेलकुदमा रुस र डोपिङ एकअर्काका पर्यायवाचीजस्तै छन् । डोपिङमा पोजेटिभ पाइएपछि रुसका खेलाडीका ५१ वटा पदक खोसिएका छन् । सन् २०११ देखि १५ सम्ममा रुसका १ हजारभन्दा बढी खेलाडीको डोपिङमा पोजेटिभ पाइएको थियो । तीमध्ये अधिकांशलाई प्रशिक्षक र खेल संघले औषधि सेवन गर्न लगाएको पुष्टि भइसकेको छ ।

रुसले विश्वकप आयोजनाअघि झन्डै २० लाख भुस्याहा कुकुर र बिराला मार्ने अभियान चलाएको थियो । विश्वकप आयोजना हुने ११ सहरमा रुसी सरकारले कुकुर र बिराला मार्न सम्झौता गरेको थियो । यसका लागि १९ लाख २० हजार अमेरिकी डलर खर्च भइसकेको छ । कुकर, बिरालो र चराचुरुंगीसमेत निर्मम तरिकाले मारिएको र जिउँदै जलाउने काम भएको भन्दै पशु अधिकारवादी संघ–संस्थाले आलोचना गर्दै आएका छन् ।

पूर्वी युक्रेनमा रुसी सेनाको तैनाथी पनि विवादित अर्को मुद्दा बनेको छ । क्राइमियामा भएको रुसी हस्तक्षेपलाई पनि पश्चिमा राष्ट्रले रुसविरुद्ध आक्रमण गर्ने वहाना बनाएका छन् । तर, यीमध्ये सबैभन्दा संगीन आरोपचाहिँ विदेशी खेलाडीप्रति रुसी समर्थकको रंगभेदी व्यवहार हो ।

सन् २०१३ मा रुसी क्लब सीएसकेए मस्कोका समर्थकले आइभरीकोस्टका खेलाडी याया टुरेविरुद्ध स्टेडिममै लगाएको रंगभेदी नारा सबैभन्दा आलोचित बनेको थियो । त्यस घटनापछि दु:ख व्यक्त गर्दै टुरेले रुसलाई विश्वकप आयोजकबाट बर्खास्त गर्न मागसमेत गरेका थिए । जुलाई १३ सन् २०१४ मा ब्राजिलबाट विश्वकप आयोजक रुसलाई हस्तान्तरण गर्दा राष्ट्रपति पुटिनले भनेका थिए, ‘फिफा अध्यक्ष ब्लाटरले सामाजिक मुद्दामा सुधार गर्न बारम्बार सुझाव दिएका छन् । हामी आशा गर्छौं, विश्वकप आयोजना गर्ने समयसम्म हामी लागूऔषधको जालो तोड्नेछौँ, रंगभेदी व्यवहारमा परिवर्तन ल्याउनेछौँ र अहिले देखिएका अनेकन समस्या हल गर्नेछौँ ।’

त्यसो त, विश्वकप आयोजकका रूपमा बितेका चार वर्षमा रुसले ती सबै क्षेत्रमा उल्लेख्य सुधार गर्न सकेको छैन । दुई महिनाअघिसम्म विश्वकप आयोजना हुने केही स्टेडियम तयार भइनसकेको भन्दै फिफाले चिन्ता जनाएबाट रुस आयोजकका रूपमा असफल हुने त होइन भन्ने संशय प्रकट भएको थियो । जेहोस्, रुस विश्वकप २०१८ विविध हिसाबले अविस्मरणीय हुने पक्का छ । रुसले सफल वा असफल आयोजकको बिल्ला कुनचाहिँ भिर्ने हो, त्यो हेर्न केही साता कुर्नैपर्नेछ ।

प्रकाशित: जेष्ठ १४, २०७५