क्यान्समा अञ्जलीको क्याटवाक

- नेपाल संवाददाता

भारतको प्रतिष्ठित ल्याक्मे फेसन विकमा छानिएपछि नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले ‘ग्लोबल फेम’ पाइन् । अन्तर्राष्ट्रिय मोडलिङमा एकपछि अर्को छलाङ मारिरहेकी अञ्जली क्यान्स फिल्म फेस्टिभलको ७१औँ संस्करणमा क्याटवाक गरेर स्वदेश फर्किएकी छन् । फ्रान्सको क्यान्स सहरमा सम्पन्न फेस्टिभलमा उनी नेपाली डिजाइनर मिसु श्रेष्ठको डिजाइनमा सजिएकी थिइन् । नेपाली डिजाइन र नेपाली मोडलले क्यान्समा औपचारिक रुपमा सहभागिता जनाएको सम्भवत: यो पहिलो घटना हो । 

मिसुको डिजाइनमा २० मोडल र्‍याम्पमा उत्रिएका थिए । तीमध्ये अञ्जली एक्लो नेपाली थिइन् । उनी खुसी पोख्छिन्, “क्यान्सजस्तो चर्चित फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित छु । मैले त्यहाँ अरु ट्रान्सजेन्डर मोडल भेटिनँ ।” क्यान्सको मोडलिङ यात्रा कोशेढुंगा सावित हुने आशा छ, उनको । उनी केही दिनको काठमाडौँ बसाइपछि मुम्बई फर्कनेछन् । भन्छिन्, “नेपालमा फेसनको ठूलो बजार 

छैन । मुम्बईको फेसन सो र फोटोसुटमा व्यस्त हुन्छु । कमाइ पनि उतै छ ।” 

 

प्रकाशित: जेष्ठ १४, २०७५