ट्रकोमामुक्त नेपाल

- नेपाल संवाददाता

विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्ति अनुसार नेपाल दक्षिण एसियाकै पहिलो ट्रकोमामुक्त राष्ट्र बनेको छ । ट्रकोमा दृष्टिहीनताको एक मुख्य कारण हो । “नेपालका जनता स्वास्थ्यप्रति सचेत हुँदै गएका छन् । उनीहरू जागरुक नभइदिएका भए यो सम्भव हुँदैनथ्यो,” विश्व स्वास्थ्य संगठनका लागि दक्षिण एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन् ।

सन् २००२ मा नेपाल सरकारले ट्रकोमा उन्मूलन गर्न राष्ट्रिय ट्रकोमा कार्यक्रम सुरुआत गरेको थियो । सन् २००५ सम्म यस रोगबाट पीडितको संख्या ४० प्रतिशत घटेको पाइयो ।

कार्यक्रमले विभिन्न निकायसँग समन्वय गर्दै गाउँ–गाउँमा ट्रकोमाबारे सचेतना जगाउने काम पनि गर्दै आएको छ । ट्रकोमा संक्रमण मुख्यत: बालबालिकामा हुने गरेको छ । यसको मुख्य कारण फोहोर पानी हो । यो रोग लागेका मानिसको नजिक पर्दा सर्ने जोखिम बढेर जान्छ ।

बिजनेस स्ट्यान्डर्डले लेखेको छ–‘संसारमा ४१ देशका करिब १९ करोड मानिस ट्रकोमाको जोखिममा छन् । त्यसमध्ये अधिकांश अफ्रिकी मुलुकका हुन् ।’

प्रकाशित: जेष्ठ १३, २०७५