२२ पटक सगरमाथा चढेका कामीरिता शेर्पा भन्छन्, ‘हाटबजार गएजस्तो’

- मनबहादुर बस्नेत

हिमाल आरोहणमा कीर्तिमानी गाउँ सोलुखुम्बुको थामेमा जन्मिए/हुर्किए कामीरिता शेर्पा, ४८ । २ जेठ बिहान साढे ८ बजे २२औँ पटक सगरमाथाको चुचुरोमा पुगेको कीर्तिमान् राख्न सफल भए, कामीरिता । एक वर्षअघिसम्म २१ पटक सगरमाथा पुग्ने कीर्तिमान् उनीसहित आप्पा शेर्पा र फुर्वा टासी शेर्पाका नाममा थियो । आप्पा र फुर्वाले आरोहणबाट सन्न्यास लिइसकेकाले उनको कीर्तिमान् लामै समय रहने अनुमान छ  । कामीरितासँगको संवाद :

हिमाल आरोहण पेसामा लाग्छु भनेर कहिले सोच्नुभयो ?

गाउँका सबैजना ट्रेकिङतिर गएको बाल्यकालदेखि नै देखेको हुँ । पढ्न दुई घन्टा टाढाको खुम्जुङ जानुपथ्र्यो । घरको आर्थिक अवस्था त्यति बलियो थिएन । त्यसपछि मैले पढ्न छाडेर ट्रेकिङ गर्न थालेँ । सानातिना ‘पिक’ चढ्दै गएपछि यता लागियो ।

त्यसो भए तपाईंको हिमाल आरोहण रहर नभई बाध्यता हो ?

हो । पढाइ नभएपछि हिमाल चढ्नुबाहेक अरू के गर्नु र ?

अहिले तपाईं संसारभर चर्चित हुनुभएको छ । यो आनन्दकै पेसा रहेछ नि, होइन ?

आनन्द त के हुनु ? पेसा नै यही भएपछि रमाइलो मान्नुपर्छ । सबैले चिन्दा खुसी लाग्छ ।

तपाईं बाल्यकालमा त धर्मगुरु बन्न चाहनुहुँदो रहेछ । त्यो बाटो किन छाड्नुभयो ?

९/१० वर्षको हुँदा तिब्बती बौद्ध पाठपूजाविधि सिक्न गएको थिएँ, गाउँनजिकैको गुम्बामा । तीन वर्षजति सिकेँ । घरमा आर्थिक संकट बढ्दै गएपछि त्यसलाई निरन्तरता दिन सकिएन ।

हरेकचोटि चुचुरोमा पुग्दा फरक अनुभूति हुन्छ ?

मलाई केही फरक लाग्दैन । जतिचोटि हेरे पनि त्यही हिमाल हो । सगरमाथा चढ्नु हाटबजार गएजस्तै हो । बानी परिसकेपछि केही नयाँ लाग्दैन ।

हाम्रो कामै त्यही भएकाले व्यक्तिगत रूपमा खुसी/बेखुसी हुँदैनौँ । बडो दु:खले पुगेका हुन्छौँ । हिमाल चढ्न गएको टिम सफल भयो भने त्यतिबेलाचाहिँ हामी खुसी हुन्छौँ, चढाउन सकियो भनेर । नाम कमाउन जानेहरूले मात्रै हो टुप्पोमा पुगेर खुसी मनाउने ।

तैपनि, केही न केही फरक त हुन्छ होला नि ?

प्राविधिक रूपमा फरक भएको छ । पहिला आरोहणमा जाँदा गर्‍हौँ सामान बोक्नुपथ्र्यो । अहिले हलुका सामान आएका छन् । पहिले पर्वतारोहण सिक्न पाइँदैनथ्यो । अहिले थुपै्र सिकाउने ठाउँ छन् ।

पहिलोपटक चुचुरोमा पुग्दाको क्षण पनि सामान्य नै लागेको थियो ?

त्यतिबेला एकदमै थोरै मात्र शिखरमा पुग्न सफल हुन्थे । त्यसैले म पनि चढेँ भन्ने गर्वचाहिँ भयो ।

हिमाल आरोहणमा सिपालु भनेर संसारले चिन्दा खुसी लाग्दैन ?

खुसी लागिहाल्छ । तर, रेकर्ड राख्छु भन्ने मैले सोचेकै थिइनँ । फेरि मैले कोहीसँग प्रतिस्पर्धा गरेको पनि होइन । आफ्नो काम गर्दै जाँदा २२ पटक पुग्यो । विदेशी पाहुनालाई सफल आरोहण गराउनुपर्छ भन्ने मात्रै सोच्थेँ म ।

अब कतिचोटि सगरमाथा चढ्नुहुन्छ ?

अघि नै भनेँ– यतिपटक चढ्छु भन्ने योजनासाथ चढेको होइन । मेरो जीउले साथ दिएसम्म चढ्छु । रेकर्ड राख्नु मेरो लक्ष्य होइन ।

तर, सगरमाथा चढ्न कीर्तिमान्कै प्रतिस्पर्धा भएजस्तो लाग्दैन ?

हो । अहिले कसैको प्रायोजनमा चढ्ने र रेकर्ड राख्ने फेसन छ । भएभरको दु:ख हामी शेर्पाले गर्ने अनि नामचाहिँ अर्कैको चम्किने अवस्था आएको छ ।

भनेको आरोहणमा प्रतिस्पर्धाले विकृति ल्यायो ?

जम्मै काम हामी शेर्पाले गरिदिएका हुन्छौँ । कतिले त आफ्नो अक्सिजनसमेत बोक्दैनन् । तानेर, धकेलेर टुप्पोमा पुर्‍याइदिने हो । बिनाशेर्पा चढेर कसैले कीर्तिमान् राखोस् त ! अनि हामी पत्याउँछौँ । शेर्पाको बलमा चढ्ने । तर, हाम्रोचाहिँ भूमिकै नभएजस्तो भइरहेको छ । सरकारले पनि हामीलाई लामो समय आरोहण सहयोगीको मान्यता मात्रै दियो । आरोही मानेन । यसले हाम्रो चित्त दुखाएको छ ।

शेर्पालाई सरकारले कसरी सहयोग गर्न सक्छ ?

विदेशमा निश्चित भत्ताको व्यवस्था हुन्छ । भारतको दार्जिलिङमै आरोहीले भत्ता पाउँछन् । यस्तो सम्मान हामीकहाँ हुनुपर्छ । पैसा नपुगेर होइन, सम्मानका लागि । बरु थोरै देओस् न !

प्रकाशित: जेष्ठ १३, २०७५