हँसाउने हरर [फिल्म समीक्षा : सुनकेशरी]

फिल्म : सुनकेशरी | रेटिङ : १.५/५

- गोकर्ण गौतम

आधा शताब्दीयता दर्शकले फरक–फरक विधाका घरेलु फिल्मको स्वाद चाख्न पाएका छैनन् । कहिलेकाहीँ नवीन शैलीका फिल्म बनाउने प्रयास नहुने होइनन् । तर, ती पनि फिक्का प्राय: भइदिन्छन् । ढाकछोप गर्नु अलग कुरा, तीतो–सत्य यही हो ।

हामीकहाँ एकै ढाँचाका फिल्म बन्छन्– गीत, फाइट, रोमान्स र रोनाधोना मिसिएको । अर्पण थापा र ऋचा शर्माको सुनकेशरीले यो नियतिलाई ‘ब्रेक’ लगाउने अपेक्षा थियो । कारण, हरर फिल्म नेपालमा बिरलै बनेका छन् । तर, जनरामा मात्र ‘रिस्क’ लिएबर के गर्नु ? आधारभूत मान्यता नै आत्मसात् नगरेपछि ।

हरर फिल्मको मुख्य धर्म दर्शकमा डर पैदा गरिराख्नु हो । सुनकेशरीको मुख्य समस्या नै पात्र र कथामार्फत डरलाई जीवित राख्न नसक्नु हो । लेखक/निर्देशक अर्पणले हररसँगै कमेडीलाई प्राथमिकता दिएका छन् । दुई डुंगामा खुट्टा राख्दा के हुन्छ ? जगजाहेर छँदैछ ।

प्रेम वियोगमा तड्पिरहेकी सुनकेशरी (ऋचा) लाई ‘रिफ्रेस’ का लागि साथीले घरबाट टाढा पठाइदिन्छिन् । जहाँ उनी निर्माणाधीन होटलको पहिलो ग्राहक हुन्छिन् । तनावबाट पर भाग्न खोज्छिन्, त्यही बेला उनलाई भूतले तर्साउन थाल्छ । यस्तै पीडा पर्छ, सोही होटलका कर्मचारी यादव (रवीन्द्र झा)लाई पनि । केही दिनपछि त्यो होटलमा एक जोडी हनिमुन मनाउन आइपुग्छन् । ती को हुन् ? उनीहरूसँग सुनकेशरीको सम्बन्ध कस्तो हुन्छ ? साँच्चै त्यो घरमा भूत नै छ ? यस्तै सवालवरपर छ, फिल्म ।

अर्पणले निर्देशन गरेको तेस्रो फिल्म हो, सुनकेशरी । अघिल्ला दुई फिल्म मुखौटाआधा लभमा आफैँ खेलेका थिए । तीनै फिल्ममा फरक विषयवस्तु र शैलीलाई अवलम्बन गरिएको छ । यो आफैँमा सराहनीय पक्ष हो । तर, यसपटक निर्देशकीय र लेखन पाटोमा निखार देखिन्न । पात्रलाई स्थापित नगरी घटनामा पस्न हतारो गरिएको छ । यो भनेको जग बलियो नभई घर बनाउन हतारिनुजस्तो हो । पात्रप्रति प्रेम पैदा नभई उसको हाँसो र दु:खमा दर्शक कसरी समाहित हुने ? खड्कने पक्ष हो यो ।

जस्तो : अनुहार र व्यवहार हेर्दा ऋचा असाध्यै दु:खी लाग्छिन् । तर, त्यसको कारण प्रस्ट्याउन एक दृश्य खर्चिएको छैन । मात्र संवादबाट जानकारी गराइन्छ, विछोड भएको । त्यति निराश पात्र सुनसान होटलमा पीडा भुल्न र एक जोडी हनिमुन मनाउन आइपुग्नु पनि पत्यार लाग्दैन । कि त खास कुनै कारण हुनुपर्‍यो । कामदार यादवको चुल्बुले स्वभावले न उसलाई म्यानेजरले दु:ख दिँदा संवेदना पैदा हुन्छ, न त भूतले तर्साएजस्तो गर्दा । कथा अगाडि बढाउनकै लागि होटलमा पात्रहरूको भेला गराइएको भान हुन्छ ।

त्यसो त, केन्द्रीय कथामा दर्शकलाई तर्साउँदै पर्दामा बाँधिराख्ने ल्याकत नभएको होइन । पहिलो दृश्य दमदार छ, खिचाइ, प्रकाश संयोजन, पृष्ठभूमि संगीत, पात्रको भावभंगिमा अनि दर्शकमा रहस्य पैदा हुन्छ । खत्रै केही त हुँदैछ जस्तो लाग्छ । तर, जब ‘रियल टाइम स्टोरी’सुरु हुन्छ, तब ल्याङल्याङ–ल्याङल्याङ । कथा मरिगए अगाडि बढ्दैन । त्यही बेला रोमान्टिक गीत आउँछ । उफ † हरर फिल्म हेरिरहेको भन्ने नै भुलिन्छ ।

मध्यान्तरपछि चाहिँ तर्साउला भन्ठायो । तर, तात्विक भिन्नता आउँदैन । हरर भनेको झ्याल–ढोका ड्याम्म लाग्नु, सामान यताउता सर्नु/झर्नु, चर्को कर्कश आवाज आउनु मात्र त पक्कै होइन । यति हुँदाहुँदै पनि पहिलो र अन्तिम दृश्यको सामञ्जस्य मिलाउने प्रयास प्रशंसनीय छ । क्लाइमेक्सअघिको दृश्यले चाहिँ साँच्चै डर पैदा गर्छ । यसलाई मिहिनेतपूर्वक खिचिएको छ ।

करिब एउटा घर र त्यसवरपर सकिएको छ, फिल्म । कथा अनुसार अन्य लोकसेन आवश्यक छैन पनि । पृष्ठभूमि संगीतलाई उम्दा भने पनि हुन्छ । बच्चाले गाउने ‘सुनकेशरी रानी...’ कथाको भाव अनुरूप छ । कुनै–कुनै दृश्य पर्दामा रिमरिम देखिन्छ । बाँकी छायाङ्कन र लाइटिङलाई धाप मार्न सकिन्छ ।

फिल्मको प्राविधिक टोलीमा प्राय: विदेशी छन् । चरित्र बलियो नभए पनि ऋचाको अभिनय–स्तर खस्किएको छैन । विधागत रूपमा हेर्दा रवीन्द्र झाको चरित्र फिल्मलाई कमजोर बनाउने अहम् तत्त्व हो । उनी र म्यानेजरमार्फत जबर्जस्त हँसाउने नियत राखिएको छ । तर, अभिनयमा रवीन्द्रले चित्त दुखाउने ठाउँ छाडेका छैनन् । उनलाई फगत हँसाउनकै लागि राखिएको हो भनेचाहिँ निर्देशक सफल भएको मान्नुपर्छ । लौरेन लोफ्ब्रेग र दुई बाल–कलाकारले पनि तारिफयोग्य काम गरेका छन् । कलाकारमध्ये सन्नी ढकाल सबभन्दा कमजोर लाग्छन् । अस्वाभाविक अभिनयले बिझाउँछ ।

तीन वटा फिल्म हेरेपछि लाग्छ, अर्पण निर्देशनभन्दा अभिनयमै उत्तम छन् । उनी मूलधारका हलिउड फिल्मको धङधङीबाट माथि उठ्ने कहिले ? आफूलाई अरूभन्दा अलग र अग्लो बनाउने ऋचाको प्रयास यस्ता फिल्मले फिक्का र अपजसिलो बनाइदिन्छ । हरर बनाउने चुनौती लिएकामा अर्पण–ऋचाप्रति लचिलो हुँदै सुनकेशरी हेरियो भने त निराश नभइएला । नत्र निराशाकै पल्ला भारी छ । कारण, न यसले यथेष्ट तर्साउँछ, न त मज्जाले हसाउँछ ।

 

प्रकाशित: जेष्ठ ११, २०७५