‘मैले उत्कृष्ट पुस्तक लेखिसकेको छु’

- नेपाल संवाददाता

‘म बूढो मात्र होइन, निकै बूढो हुँदैछु । सम्भवत: मृत्युको नजिक पुग्नेछु । अहिले पनि हरेक दिन आफूलाई जिउँदै पाउँदा आश्चर्य लाग्छ ।’

लेखक फिलिप रोथले न्युयोर्क टाइम्सलाई यसो भनेको चार महिना मात्र बित्यो । नभन्दै अंग्रेजी साहित्यका यी महान् हस्तीले देहत्याग गरे, ८ जेठमा । मृत्युको कस्तो पूर्वाभास !

गृहनगर न्युयोर्कको म्यानहटनमा जीवनको ८५ वर्ष बिताए उनले । सन् १९५९ मा दुई नोभेला प्रकाशित भए, गुडबाई र कोलम्बस । यी पुस्तकले उनलाई फिक्सनका लागि नेसनल अवार्ड दिइयो । त्यसपछि उनले नेसनल बुक क्रिटिक्स सर्कल अवार्ड पाए । सन् १९९७ मा उपन्यास अमेरिकी प्यासट्रोलबाट प्रतिष्ठित पुलित्जर प्राइज नै जिते । उनी सर्वाधिक अवार्ड/पुरस्कार पाउने अमेरिकी लेखकमध्ये अग्रपंक्तिमा आउँछन् । तर, धेरै पटक चर्चा भए पनि उनले नोबेल पुरस्कार भने पाएनन् । उनी अमेरिकी कला एकाडेमीको साहित्य विभागमा लामो समय काम गर्ने अन्तिम जीवित सदस्य पनि थिए ।

रोथले यहुदी र अमेरिकी पहिचानबारे खुलेर लेखे । यौन मनोविज्ञानको क्षेत्रमा पनि सशक्त कलम चलाए । खासगरी पुरुष यौनेच्छा प्रकट हुन्थ्यो । उनी फिक्सन लेख्थे । तर, व्यक्तिगत जीवन र भोगाइको समिपमा हुन्थे, ती लेखनी । कतिपय त अटोबायोग्राफीजस्तै । उनले लेख्ने पात्र कतै न कतै उनीसँग जोडिएका जस्ता लाग्थे ।

सन् २०१० सम्म अर्थात् लगातार ५० वर्ष उनी लेखन कर्ममा साधना गरिरहे । करिब ३० कृति प्रकाशनपछि भने अवकाश लिए । त्यतिबेला उनले भनेका थिए, ‘मैले उत्कृष्ट पुस्तक लेखिसकेको छु । अब लेखेँ भने कमजोर हुनेछ । हरेक प्रतिभाको आफ्नै सीमितता, क्षेत्र, शक्ति, प्रकृति र जीवन हुन्छ । कोही पनि सधैँ फलदायी हुन सक्दैन ।’ पछिल्लो समय उनी अध्ययनमा एकाग्र थिए ।

रोथको लेखन व्यवहार पनि गज्जबको थियो । उनी लेख्नुअगाडि सोच्थे र यताउता हिँडडुल गरेर सोच्थे । उनले लेखन र निजी जीवनलाई पृथक राखे । आफू बसेको घरमा लेख्दैनथे, लेख्नकै लागि घरभन्दा टाढा स्टुडियो बनाएका थिए । ताकि लेख्दा ध्यान भंग नहोस् । सायद यही कारण हुनुपर्छ, उनका पुस्तकमा अजीवको दूरदर्शिता पाइन्छ । उनको मृत्युपश्चात् बीबीसीले लेखेको छ, ‘युद्धपछिको हाम्रो संसारको महान् उपन्यासकार ।’

 

प्रकाशित: जेष्ठ ११, २०७५

ट्याग: सम्झना